काठमाडौं।
नेपाल आउने विदेशी पर्यटकले खर्च गर्ने रकमको तुलनामा नेपालीले विदेश भ्रमणमा धेरै खर्च गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म नेपालले पर्यटनबाट ११ अर्ब ५८ करोड आम्दानी गरेको छ भने सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ४७ अर्ब ३१ करोड रुपियाँ खर्च गरेका छन् ।
राष्ट्र बैंकका अनुसार सो अवधिमा शिक्षाका लागि मात्रै ३२ अर्ब ७६ करोड रुपियाँ विदेशिएको छ । शिक्षातर्फको खर्च घटाएर हेर्दा नेपालीले विदेश घुमफिरका लागि मात्रै १४ अर्ब ५५ करोड बराबरको रकम विदेशमा खर्च गरेको देखिन्छ ।
भदौ मसान्तसम्मको भ्रमण आय अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले वृद्धि भएर११ अर्ब ५८ करोड पुगेको हो । गत वर्ष सोही अवधिमा विदेशी पर्यटकबाट १० अर्ब ५५ करोड आम्दानी भएको थियो। तर, सोही अवधिमा भ्रमण व्यय ९ दशमलव ६ प्रतिशतले बढ्दै ४७ अर्ब ३१ करोड पुगेको छ ।
अघिल्लो वर्ष शिक्षा र घुमफिरका प्रयोजनमा नेपालीले ४३ अर्ब १८ करोड विदेश लगेका थिए, जसमा शिक्षातर्फको खर्च २८ अर्ब २० करोड थियो । यस आधारमा, नेपालको पर्यटन क्षेत्रबाट आउने आम्दानीभन्दा नेपालीले विदेशमा गर्ने खर्च झन्डै चार गुणा बढी रहेको देखिएको छ । समीक्षा अवधिमा खुद सेवा आय ३१ अर्ब १६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।











प्रतिक्रिया