संघीय लोकतान्त्रिक गणतन्त्रको ७५३ स्थानीय तहमध्ये नागार्जुन नगरपालिकामा नेवाः देय् दबू नागार्जुन नगर समितिबाट नेवाः सभ्यता संरक्षणको प्रयासले तीव्रता पाएको छ । वि.सं. २०८१ पुस १५ गते नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्मानीत विशेष अदालतमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेपश्चात् उहाँ स्वतः निलम्बनमा रहनुभएको छ । हाल उपप्रमुख सुशिला अधिकारीले नै कार्यवाहक नगरप्रमुखको रुपमा कार्य सम्पादन गर्दै आउनुभएको छ । यहाँ विशेष अदालतबाट मुद्दा किनारा भए तापनि सर्वोच्च अदालतबाट अन्तिम फैसला नभएको र निलम्बित नगरप्रमुखले समेत राजीनामा नदिँदा वैधानिकरुपमा पद रिक्त हुन नसकेको, जसका कारण नगरप्रमुख पदको उप–निर्वाचनसमेत अनिश्चित रहेको देखिन्छ ।
नेवाः देय् दबू, नागार्जुन नगर समिति नेवाःहरुको संस्कृति संरक्षणमा समर्पित स्वतन्त्र एवं साझा राष्ट्रिय संगठनको अभिन्न अंग हो । वि.सं. २०७७ चैत्र १३ गते गठन भएको यस समितिले नेपाल भाषा, संस्कृति संरक्षणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस समितिले नागार्जुन नगरपालिकाका तत्कालीन उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख सुशिला अधिकारीलाई मिति २०८१÷०३÷०५ मा ‘प्रदेश सरकारी काम काजको भाषा ऐन २०८०’ कार्यान्वयनको लागि ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त अवसरमा नेवाः देय् दबूका येँ समिति र स्वनिगः विशेष प्रदेश समितिका पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
मिति २०८१÷१०÷१९ मा नागार्जुन नगरपालिका वडा नं. ६ थापा पार्टी प्यालेसमा भएको नेवाः देय् दबूको दोस्रो ऐतिहासिक नगर अधिवेशनको क्रममा प्रमुख अतिथिको रुपमा कार्यवाहक नगरप्रमुख सुशिला कार्कीसमक्ष नेपाल संवत् र नेपाल भाषा÷रञ्जना लिपिसहितको लेटर हेड प्रचलनमा ल्याउन ध्यानाकर्षण गराइएको थियो । उक्त अवसरमा उहाँले नेपाल संवत् तत्काल प्रयोग गरिने र लेटर हेडमा नेपाल भाषा प्रयोगसम्बन्धमा नगर कार्यपालिकाबाट निर्णय गराउने प्रतिबद्धता जनाउँदै आफू नेवाः संस्कृतिबाट प्रभावित रहेको र यसको उत्थानका लागि सहकार्य गर्न इच्छुक रहेको हुँदा नगरबाट सम्पादन गर्न सकिने योजना पेस गर्न आग्रह गर्नुभएको थियो ।
मिति २०८२÷०४÷१५ मा संस्कृति संरक्षणसम्बन्धी योजना तथा कार्यक्रम वार्षिक बजेटमा राख्न आग्रह गर्दासमेत अनौपचारिकरुपमा नेपाल संवत् प्रयोग र लेटर हेड÷होडिङ बोर्ड आग्रह गर्दा सकारात्मक जवाफ आएको थियो ।
मिति २०८२÷०५÷०८ मा नागार्जुन नगरपालिकाले नेपाल संवत् प्रयोग नगरेको, प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन नगरेको, नगरपालिकाको लेटर हेड तथा होडिङ बोर्डमा नेपाल भाषा÷रञ्जना लिपि प्रयोग नगरेको र नयाँ लोगो समावेशी एवं स्थानीय जीवन्त संस्कृतिहरुलाई समावेश नगरेको हुँदा संशोधनका लागि ध्यानाकर्षण पत्र नागार्जुन नगरपालिकाका कार्यवाहक नगरप्रमुख सुशिला अधिकारीलाई बुझाइएको थियो । उक्त कार्यक्रममा नेवाः देय् दबूका सदस्यहरु, स्थानीय गुथि पदाधिकारीहरु, येँ जिल्ला समितिका पदाधिकारीहरु र अन्य सरोकारवालहरुको उपस्थिति रहेको थियो । यसरी बारम्बार सजग एवं सचेत गराउने क्रममा नागार्जुन नगरपालिका कार्यालयमा कार्यवाहक नगरप्रमुख सुशिला अधिकारीलाई नेपाल सरकार मन्त्रिपरिषद् बैठक नं. ४०÷२८० मिति २०८०÷०७÷२७ को मन्त्रिपरिषद् बैठकबाट ‘नेपाल संवत् ११४४ देखि विक्रम संवत उल्लेख गरिने हरेक सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने’ निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराइएको थियो । उहाँले नगरपालिकाबाट जारी हुने पत्रमा नेपाल संवत् उल्लेख गर्ने मौखिक प्रतिबद्धता जनाउनुभएको थियो तर नगरपालिकाद्वारा विभिन्न मितिहरुमा जारी भएको सार्वजनिक सूचनाहरुमा नेपाल संवत् उल्लेख गरिएको छैन ।
यहाँ विचारणीय कुरा के छ भन्दा बारम्बार जनप्रतिनिधिको रुपमा उच्च सम्मानका साथ हामीले पटक–पटक औपचारिक÷अनौपचारिक भेटघाटमा यी कुराहरु कार्यान्वयनमा जोड दिएका छौं । जनप्रतिनिधिहरुलाई नेपालको संविधान २०७२ को अनुसूची ८ मा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकाससम्बन्धी अधिकार स्थानीय सरकारलाई दिएको छ । यसको अनुभूति नागार्जुन नगरपालिकाका जनप्रतिनिधिहरुबाट कहिले गर्न सकिन्छ÷सकिँदैन, त्यसमा विचार विमर्श गर्दै गरौँला । जनभावना कदर गर्दै नागार्जुन नगरपालिकाको प्रतीक चिह्न (लोगो) समावेशी, ऐतिहासिक धरोहर अट्ने एवं संस्कृति झल्कने गरी संशोधन गर्नु नै पर्नेछ । नेपाल संवत्, नेपाल भाषा, नेवाः संस्कृति नेपालका अमूल्य सम्पदा हुन् । यिनको संरक्षण गर्नु राज्य र तपाईं–हामी सबैको कर्तव्य हो ।
नेपाल मण्डलअन्तर्गत रहेका काठमाडौं महानगरपालिका (येँ), ललितपुर महानगरपालिका (यल), भक्तपुर नगरपालिका (ख्वप), कीर्तिपुर नगरपालिका (किपु) जस्ता प्राचीन एवं ऐतिहासिक स्थान नामहरु प्रयोग गरिनु उपयुक्त हो । नेपालको संविधान २०७२ प्रस्तावनाको मूल भावना एवं धारा ३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी उल्लेख भए तापनि नागार्जुन नगरपालिकाले संविधानको मूल मर्म विपरीत सरोकारवाला निकायहरुसँग राय सुझाव एवं छलफलसमेत नगरी आफूखुशी नगरपालिकाको लोगो सर्वजनिक गरिएको छ । होल्च्व (हल्चोक) बाट नै इन्द्रजात्राको लागि चण्डी, कुमारी र होल्च्व आकाश भैरव लैजाने परम्परा हालसम्म कायम रहेको छ । नागार्जुन नगरपालिकाले आफ्नो यस्तो शताब्दीयौंदेखि चलिआएको जीवन्त परम्परालाई दर्शाउने नेवाः सभ्यता र नागार्जुनको इतिहास एवं जीवन्त संस्कृति झल्कने गरी आफ्नो प्रतीक चिह्नमा कम्तीमा होल्च्व आकाश भैरव, लाखे र दलुचा (मन्दिर÷घरको झ्यालअगाडि झुन्ड्याइने परम्परागत नेवाः दियो) मध्ये कुनै एक चिह्न समावेश गरी नेपाली भाषा र नेपाल भाषा दुवै समावेश गरी जारी हुने नगरपालिकाको संशोधित प्रतीक चिह्न मात्र सर्व स्वीकार्य समावेशी हुनेमा आशावादी छौं ।
नागार्जुन नगरपालिका ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणमा ज्यादै महत्वपूर्ण स्थानहरु जस्तै– आदेश्वर, इचङ्गुनारायण, होल्च्वो आकाश भैरव, दहच्वो इन्द्र दह, हरसिद्धि माता आदि रहेका छन् । नागार्जुन पर्वतको शिखर भाग जामाच्व हो जहाँ विपश्वी बुद्धले तपस्या गर्दागर्दै तलाउरुपी नेपाल उपत्यकामा कमलको बीउ रोप्नुभएको सोही बीउबाट स्वयम्भू महाचैत्य (ज्योतिर्मय भगवान्) प्रकट हुनुभएको कुरा स्वयम्भू महापुराणमा उल्लेख छ । विपश्वी बुद्धले तपस्या गरेको यस पवित्र स्थानलाई बौद्धमार्गीहरुले ‘जात मात्रो च्व’ भनियो र कालन्तरमा ‘जामाच्व’ भनियो । जामाच्वलाई खस भाषामा अपभ्रंश गरी ‘जामाचो’ शब्द प्रयोग हुँदै आएको छ । यहाँ च्व भन्नाले नेपाल भाषामा पर्वतको शिखर भाग÷टुप्पो भन्ने बुझिन्छ । जामाच्वमा बुद्ध स्तूप, नाग देवता र नागार्जुन महादेवको मूर्ति छ । उपत्यकाका प्रसिद्ध महत्वपूर्ण पर्वतहरु फूच्व, मणिच्व, धिनाच्व, सिबुच्वमध्ये जामाच्व धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण स्थलमा पर्छ । आचार्य नागार्जुन (बौद्ध दर्शनका गुरु) यहाँ आउनुभई तपस्या गर्नुभयो र यो पवित्र स्थानको नाम नागार्जुन रहन गयो भनी बौद्धमार्गीहरुका बीच किंवदन्ती प्रचलनमा रहेको छ । हिन्दू र बौद्ध दुवै धर्मको लागि पवित्र भूमि एवं आस्थाको केन्द्र हो यो । नेपाल उपत्यकामा रहेको जामाच्व, धिनाच्व, फूच्व र सिबुच्व पर्वतहरुलाई प्राकृतिक सुरक्षा कवच मानिएको छ । स्थानीय आदिवासी नेवाः समुदायको माग र नेपाल मण्डलको बौद्ध एवं हिन्दू सम्प्रदायको आपनत्व (आफ्नोपना) कायम गराउने र इतिहास एवं भाषा तथा संस्कृति संरक्षण गराउन खस (नेपाली) भाषामा ‘नागार्जुन नगरपालिका’ र नेपाल भाषामा ‘जामाच्व नगरपालिका’ उल्लेख गरी लेटर प्याड तथा होडिङ बोर्डमा प्रयोग गर्दा सर्वस्वीकार्य हुने देखिन्छ ।
नेपालको संविधान २०७२ को धारा ३ मा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी उल्लेख भएको छ । त्यसै गरी धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्र भाषा हुन् । साथै, अनुसूची ८ मा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकाससम्बन्धी अधिकार स्थानीय सरकारलाई दिएको छ । यसरी राष्ट्रको मूल कानुन संविधानमा उल्लिखित व्यवस्थाको मूल मर्म जनभावनाबमोजिम नगरपालिकाको लोगो संशोधन, बागमती प्रदेशसभाद्वारा जारी ‘प्रदेश सरकारी काम काजको भाषा ऐन २०८०’ कार्यान्वयन, ‘नेपाल संवत् उल्लेख गर्ने’ सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नागार्जुन नगरपालिकाको लेटर हेड र होर्डिङ बोर्डमा नेपाल भाषा÷रञ्जना लिपि प्रयोग गर्ने सम्बन्धमा नेवाः देय् दबू नागार्जुन नगर समिति निरन्तर सक्रिय रहिरहनेछ । स्थानीय तहका जनप्रतिनिधि, नगरप्रमुख र नगर प्रशासनलाई आफ्नो पदीय जिम्मेवारीलाई समयमा नै मनन गरी जनभावना एवं सरोकारवालाको रायबमोजिम कार्य सम्पादन गर्न आग्रह गर्न चाहन्छु ।
अन्त्यमा, नेवाः देय् दबूका सदस्यहरु, गुथिहरु, समाजसेवी एवं सरोकारवाला सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा नेवाः सभ्यता संरक्षणमा अझ एकताबद्ध र सशक्त हुन आग्रह गर्दछु । लोकतान्त्रिक मूल्य ‘जनताद्वारा जनताको लागि शासन’ बमोजिम मागको यथोचित सम्बोधन हुनेमा आशावादी हुँदै बारम्बार वार्ता÷संवादलाई निरन्तरता दिँदै आएको छु । यो खुल्ला पत्र÷विचारमार्फत नगरपालिकालाई सहज वातावरणमा नै नेवाः समुदायको मागहरु पूरा नभएमा आन्दोलनबाहेक सबै विकल्पहरु बन्द हुने देखिन्छ । यसरी आन्दोलनबाहेक अन्य विकल्प बन्द भएको अवस्थामा हुन सक्ने सम्भावित क्षतिको जिम्मेवारीसमेत नगरपालिका नै हुनेछ ।
(लेखक पुतुवार नेवाः देय् दबू नागार्जुन नगर समितिका अध्यक्ष हुनुहुन्छ ।)











प्रतिक्रिया