विश्वकप छनोटः नेपालद्वारा कतारसामु १४८ रनको चुनौती


काठमाडौं।

ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई जितका लागि एक सय ४८ रनको चुनौती दिएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४७ रनको योगफल बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन/तीन विकेट लिए भने मुहम्मद असिमले एक विकेट लिए ।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गराएको थियो । त्यसपछि सुपर सिक्सको पहिलो खेलमा आइतबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

नेपालले आज कतारलाई पराजित गरेमा अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछ ।