
रसुवा ।
रसुवाको दक्षिणी भेगअन्तर्गत धैबुङ गाविसको वडा नम्बर ५ स्थित धैबुङ कालिका (उत्तर कालिका) को दर्शन गर्दा मागेका कुरा पूरा हुने जनविश्वास रही आएको छ । बडा दशैँको नवरात्रभरि कुखुरा, हाँस, बोका, राँगो बलि दिएर पूजा गर्नेको लाइन हुन्छ । मागेको पुग्ने भएर नै यस धैबुङ कालिकालाई सबैले मान्ने गर्दछन् । विषेशरूपमा नवरात्रभरि भजन, कीर्तन गर्दछन् र विषेश पूजा हुन्छ । संसारभरका शक्तिपीठहरू जत्तिकै धैबुङ कालिका पनि एक हो ।
एउटै पहाडको एउटै पाटोमा शिरमा गोसाइँकुण्डको र खुट्टा उत्तरगया धामका बीचमा कालिका मन्दिर रहेको छ । गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिका माईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई आफूले जे माग्यो त्यही पु¥याउने, दुःख–कष्ट नाश हुने किंवदन्ती रहेको छ ।
काठमाडौंबाट ९५ किलोमिटरको यात्रा पार गरेपछि वेत्रावतीबाट उठ्दै गएको पहाडको काखमा अवस्थित समथर भूभाग कालिका बजारदेखि उत्तर–पश्चिमको ५ मिनेटको पैदल यात्रापछि मन्दिर पुगिन्छ । यसै मन्दिरको नामबाट कालिका गाउँपालिका, कालिका क्याम्पस, स्कुल, कालिका बजार, कालिका अस्पताल, कालिका पोस्ट आदिको नामकरणसमेत भएको छ । धैबुङ गाविस नामकरण हुनु पनि छुट्टै इतिहास रहेको छ । किंवदन्तीअनुसार धैबुङकोट कोटघर रहेको थियो । यहाँ कोटघर बास बसी गोसाइँकुण्ड जाने भक्तजनलाई दही–धुमले स्वागत गर्ने हुनाले गाविसको नाम नै दही–धुमबाट रूपान्तरण भई धैबुङ रहेको भन्ने धार्मिक मान्यता रहेको छ ।
वि.सं. १८११ मा नेपाल–तिब्बतबीच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे । विजय उत्सव मनाउँदै मन्दिरमा यात्रतत्र गाई काटेर भोज गरे । उनीहरूको कुकृत्यले देवी क्रुद्ध भई चट्याङसहित असिना–पानी पारेर तिब्बती सेनाको ठूलो सैनिक क्षति गराइदिइन् । यसका कारण तिब्बती सेना त्रिशूलीमा होमिन पुगे ।
धार्मिक दृष्टिले उत्तर कालिका चार कालिकामध्ये एक रहेकी छन् । गोसाइँकुण्ड र कालिका मन्दिरको सम्बन्ध विचित्रको छ । समुद्र मन्थन गर्दा कालकुट विषले दुःख दिएपछि महादेवले उक्त विष मुखमा राखेर धैबुङ कालिका (उत्तर कालिका) स्थापना गरी मेरो दर्शन गर्न आउने भक्तजनले कालिकाको दर्शन गर्नू भन्नुभएको मानिन्छ । प्रसिद्ध कालिका माई मन्दिर कुन समयमा कसरी स्थापना भयो भन्ने प्रमाण भने छैन । मन्दिरमा रहेको शिलालेखअनुसार अन्दाज भने लगाउन सकिन्छ । वि.सं. १८११ मा नेपाल–तिब्बतबीच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे । विजय उत्सव मनाउँदै मन्दिरमा यात्रतत्र गाई काटेर भोज गरे । उनीहरूको कुकृत्यले देवी क्रुद्ध भई चट्याङसहित असिना–पानी पारेर तिब्बती सेनाको ठूलो सैनिक क्षति गराइदिइन् । यो कुरा माथि नै उल्लेख गरिसकेको छ ।
यसरी नेपाली सेनाले हारको पिरमा कालिका माईसँग प्रर्थना गर्दा कालीले नुवाकोटको दुधे लामा डाँडाको वन, दुप्चेको माथिल्लो वनका ढुंगा–बुट्यानमा कपडा बेरेर मानव रूप बनाई नेपाली सेनालाई नयाँ बुद्धि प्रदान गरेकी थिइन् ।
यसरी नेपाली सेनाले हारको पिरमा कालिका माईसँग प्रर्थना गर्दा कालीले नुवाकोटको दुधे लामा डाँडाको वन, दुप्चेको माथिल्लो वनका ढुंगा–बुट्यानमा कपडा बेरेर मानव रूप बनाई नेपाली सेनालाई नयाँ बुद्धि प्रदान गरेकी थिइन् ।
तिब्बती सेनाले मन्दिरमा भएको क्षति र उता ठूलो फौज देखेर यत्रतत्र गोलाबारुद गरे । तर जति गरे पनि नेपाली सेनाको संख्या नघटेकाले तिब्बती सेनामा हाहाकार मच्चियो । युद्धको सामान सकिएपछि तिब्बती सेना वेत्रावतीमा पुगेर त्रिशूली नदीमा हाम फाल्दा स्वाहा भए ।
तत्पश्चात् वेत्रावती सन्धि भएको इतिहासमा उल्लेख छ । युद्धको अवशेषका रूपमा मन्दिर आसपासमा गढीहरू रहेका छन् । सुनखानी गढी, कमारेगढी, युद्ध सामग्री भण्डार, ढुड्डे गुफाहरू रहेका छन् । पहाडको टुप्पोमा नजर घुमाउने हो भने चाँदीझैँ टल्कने हिमालको दृश्य देखिन्छ । चारैतिर वनजंगल रहेका छन् । प्राकृतिक छटा र मन्दिर दर्शन गर्नाले छुट्टै आनन्द मिल्छ । यस क्षेत्रबाट सलल बगेको त्रिशूली सातधारे लेकको दृश्य, ककनी, रानीपौवा, बूढानीलकण्ठको शिर, शिवपुरी, हिमालदेखि नागबेली पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।
२०७२ सालको भूकम्प जानुअघिसम्म मन्दिर व्यवस्थित थिएन तर अहिले धेरै व्यवस्थित बनाइएको छ । गाउँलेहरूको सक्रियतामा मन्दिरसम्म पुग्नका लागि पासाङल्हामु राजमार्गबाट करिब १ किलोमिटरको उकालो चढ्न रोलिङसहितको ढलानवालको सिँढी बनाइएको छ । मन्दिर पनि व्यवस्थित बनाइएको छ । त्यहाँ औंसी, पूर्णिमा, हरिबोधिनी एकादशीलगायत दशैंको नौरथाभरि पूजापाठ गर्ने गरिन्छ । तिब्बती सेनालाई देवीको शक्तिबाट विजय प्राप्त गरेको भएर नेपाली सेनाबाट पनि कालिका मन्दिरमा विशेष पूजापाठ हुने गर्दछ ।
भगवान् शिवले कालकुट विष सेवन गरी भौंतारिँदै कालिकाको दर्शनपश्चात् उकालो लागेपछि नीलाद्री पर्वत गोसाइँकुण्डमा त्रिशूलले भित्तामा खोपेर पानी निकाली एउटा कुण्ड बनेपछि शिव त्यही कुण्डमा विराजमान हुनुभयो । त्यस कारण गोसाइँकुण्ड जाँदा कालिकाको दर्शन गरी फर्केर आउँदा गोसाइँकुण्डको जल कालिकालाई चढाउने चलन रहेको छ ।
ओझेलमा कालिका मन्दिर :
एउटा ऐतिहासिक महत्व बोकेको कालिका मन्दिरको महिमा कमैलाई थाहा छ । कालिका देवीको स्थानीय सरकार तथा सम्बन्धित निकायले प्रचार–प्रसारमा ध्यान दिएको छैन । पाथिभरा, कालिञ्चोक, पलाञ्चोक भगवतीजस्तै कालिका देवीको पनि प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटकीय हिसाबले प्रमुख गन्तव्य हुन सक्छ ।
धैबुङकोटको महत्व र धुम–दहीको महिमा धेरैलाई थाहा छैन । यसको प्रचारप्रसार गरी संसारको शक्तिपीठ जत्तिकै धैबुङ कालिकाको महत्वबारे जानकारी गराउनुपर्छ । धैबुङ कालिकाको ऐतिहासिक महत्व अहिलेका पुस्ताहरूलाई थाहा नहुन सक्छ, थाहा पाएकाहरूले संसारभर नै प्रचारप्रसार गरी जानकारी गराउन र बुझाउन जरुरी देखिन्छ ।











प्रतिक्रिया