कठिन बाल्यकाल नै जीवन परिवर्तनको पाठशाला

1.88k
Shares

‘यदि मेरो बाल्यकाल कठिन र अभावपूर्ण नभइदिएको भए अहिलेको दृढता, परिश्रम र सफलता प्राप्त हुने थिएन’, २१ वर्षीय गणेश यादवले कठोरताभावमा सफलताको कारण खोल्दै मधुर र उज्यालो मुहारका साथ बोलेका वाक्य अति गहकिला र घत लाग्दा अनि मार्मिक थिए । बाँकेको जानकी पालिका वडा नं. १ का मिजासिला गणेश आफ्नै मेहनत र परिश्रममा विश्वास गर्नुहुन्छ ।

अभाव र गरिबीमै जीवनको शुरुवात भएको बताउने गणेश भन्नुहुन्छ, ‘खेल्ने, खाने र रमाउने शिशु अवस्थामा नै घरमा भएको अभावसँगै जुध्नुप¥यो । त्यति बेला गाउँमा बिजुली र खाने पानीको व्यवस्था थिएन । मट्टीतेलबाट टुकी बत्ती बालेर बस्ने गथ्र्यौं । टुकी बाल्नका लागि चाहिने मट्टीतेल किन्नका लागि मेरो पिताले गर्नुभएको मेहनत मेरो मनसपटलमा अझै ताजा रहेको छ ।’
टुकीको उज्यालोमा पिताले गर्नुभएको संघर्ष सम्झँदै गणेश भन्नुहुन्छ, ‘मैले नयाँ जोश र जाँगरका साथ नथाकेर काम गर्नुपर्छ । परिवर्तनका नीम्ति आवश्यक साधन र स्रोत दुवै हुन अति आवश्यक हुन्छ । त्यसैले मैले दिनको २४ घण्टामा १६ घण्टाभन्दा पनि बढी काम गर्छु । किनकि मलाई म र मेरो परिवार अनि राष्ट्रको चिन्ता छ । कसरी यो गरिबी र अभावलाई अन्त्य गर्ने भनी चिन्तन गर्दै कर्म गर्छु ।’

पुराना दिनहरु सम्झँदै गणेश अगाडि भन्नुहुन्छ, ‘साथीहरुले नयाँ किताब, कपडा, खेलौना पाएर दंग पर्दै देखाउँथे । त्यति बेला म भने टुलुटुलु हेरेर बस्थेँ ।’ उहाँको पढ्ने धोको थियो । जीवनमा पढेर ठूलो बन्ने इच्छा हुँदाहुँदै निरन्तर विद्यालय जान र पढ्न पनि उहाँलाई कठिन मोड आयो । कापी, कलम, ड्रेस र विद्यालयको शिक्षा शुल्क तिर्न पिताको दिन–रातको मेहनतले पनि नसक्दा धेरै पढ्ने रहर अधुरै रहेको उहाँ बताउनुहुन्छ । तथापि परमात्माले जे दिनुभएको छ, त्यसैमा रमाएर अगाडि बढेको उहाँको कथन छ ।

गणेश आाफ्नो पीडादायक वाक्य यसरी ओकल्नुहुन्छ, ‘चाडपर्व आयो कि साथीहरुले राम्रा कपडा, मीठो–मसिनो खाना खाएर खुशी हुँदै गर्दा मेरो पिताको मलिन अनुहारलाई हेरेर निदाउँथे । मैले आफैँलाई सम्झाउँथे । पढ्न जाने बेलामा कहिले बाख्रा, भैँसी चराउन जाने त कहिले खेतबारीमा काम गर्न जान्थेँ ।’

उमेरले सानै भए पनि जिम्मेवारी र कठिनाइले गणेश यादवलाई समयअगावै परिपक्व बनाइदियो । अनेक कठिनाइका बाबजुद पनि धैर्यधारण गर्दै उहाँले संघर्षमै दिनहरु व्यतीत गर्नुप¥यो । कष्टकर बाल्यकालले कष्ट सहने, पीडालाई सहर्ष स्वीकार गर्ने र जीवनमा निरन्तर संघर्ष गर्दै अघि बढ्ने प्रेरणा दिएको उहाँ बताउनुहुन्छ । १२ कक्षा पास गरी भेरी टेक्निकल स्कुल नेपालगन्जबाट १८ महिने विद्युत्सम्बन्धी प्रशिक्षण लिनुभएका गणेश हाल घरको बिजुली वायरिङ, सोलार पावर, इन्भर्टर, सिसिटिभी क्यामेरा जडान र अन्य बिजुलीसम्बन्धी काम गरेर राम्रो आम्दानी गरेको बताउनुहुन्छ ।

उहाँका अनुसार अहिलेको आर्थिक अवस्था पहिलाको भन्दा धेरै राम्रो भएको छ । तथापि अझै पनि समयअनुसार असीमित आवश्यकताको पूर्ति सीमित स्रोत–साधनबाट गर्दा पर्याप्त नभएको उहाँ प्रस्ट्याउनुहुन्छ ।

स्वदेशमै बसेर दिनरात मेहनत गरी आफ्नै व्यापार व्यवसाय गर्ने र नेपाल सरकारको लोकसेवा आयोग पास गरेर कर्मचारी भई राष्ट्रको सेवा गर्ने ठूलो इच्छा भएको गणेश बताउनुहुन्छ । एक कल फोनकै भरमा तुरुन्तै घर–घरमा गई बिजुलीसम्बन्धी समस्या निराकरण गरिदिने गणेशले बिहान ६ बजे घरबाट काममा निस्कने र राति १० बजे मात्रै घर फर्कने गरेको बताउनुभयो । दैनिक आम्दानीका विषयमा चर्चा गर्दा एकिन गरेर यति नै भन्न नसकिने तथापि काम खटिएर गर्ने हो भने राम्रै आम्दानी हुन्छ भन्नुहुन्छ उहाँ ।

हिन्दू धर्ममा आस्था राख्ने गणेश भर्खरै सोलार जडानका नीम्ति दैलेख पुगेर आएको बताउनुहुन्छ । कामकै सिलसिलामा आफ्नै देशको कुनाकाप्चामा पुग्ने अवसर प्राप्त हुन्छ । त्यति बेला यात्रामा प्रकृतिसँग रमाउँदै देशको भूगोलको मनन–अध्ययन पनि गर्ने मौका पाउँदा खुशी लाग्ने कुरा उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले यो सीप नजानेको भए काम गर्ने अवसर पाउने थिइन ।

विनाकाम आफ्नो पैसा खर्च गरेर म पहाड घुम्न जान पनि सक्दैनथेँ । त्यसैले मलाई लाग्छ– सबैको पालो आउँछ, आत्तिनुहुँदैन ।’
गणेश भन्नुहुन्छ, ‘पूर्वयुगमा हामीबाट भएका गल्ती वा राम्रा कुराको भोग गरेर पाठ सिक्नुपर्छ । गल्ती भएको छ भने क्षमा मागेर अगाडि बढे अवश्य पनि शान्ति प्राप्त हुन्छ । नगरेको गल्तीको कसैले दोष दिन्छ भने उसैले भोग गर्छ । पूर्वयुगमा गरेको भूलले पाएको कष्टलाई पूरा गरेर नयाँ जीवनको शुरुवात गर्दा वर्तमान र भविष्य उज्ज्वल हुनेछ । वर्तमानको सत्कर्मले भविष्यको यात्रा तय हुने हुनाले वर्तमानमा सत्कर्म ग¥यौं भने भविष्य आफैँ सुखमय हुनेछ ।’परमात्मामा विश्वास गर्ने गणेश अगाडि भन्नुहुन्छ, ‘हामीलाई जन्म दिने माता–पितालाई जीवित भगवान्का रुपमा पुज्नुपर्छ । मैले पिताको संघर्ष र माताको ममताका साथमा रहेर बाल्यकाल बिताएँ । अब मैले मेरो साथमा माता–पितालाई सुखी र खुशी बनाउन धेरै मेहनत गर्नुपर्छ ।’

अविवाहित गणेशको परिवारमा माता–पिता, दाइ–भाउजू, भतिजी र एक दिदीसहितको सातजना हुनुहुन्छ । दाइ विदेश गए पनि आफू भने स्वदेशमै रगत–पसिना बगाएर मेहनतले परिवार पाल्ने इच्छा जाहेर गर्नुहुन्छ गणेश । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ गणेशको संघर्ष, अटल विश्वास र कठोर मेहनतलाई सबै युवाले हृदयङ्गम गरी सिक्नुपर्ने देखिन्छ । गणेश यादवका इच्छा, आकांक्षा र दृढतामा अझै थप ऊर्जा प्राप्त हुँदै जाओस् ।