उडान नियमित नहुँदा मर्का

470
Shares

मुगु ।

विमान सेवा अनियमित हुँदा मुगुका स्थानीय एवम् पर्यटकहरूले ठूलो कठिनाइ भोग्नुपर्ने अवस्था छ ।
करिब चार महिनादेखि नेपाल एयरलाइन्सको ताल्चा–नेपालगञ्ज मार्गमा नियमित उडान बन्द छ भने निजी एयरलाइन्स (समिट, तारा, सित) मौसमको कारण फाटफुट रूपमा मात्र उडान सञ्चालन गर्दै आएका छन् ।

स्थानीयहरूका अनुसार, सडक यातायात सहज नहुँदा मुख्यतः विमान सेवामा भर पर्नु पर्ने बाध्यता छ। तर नियमित उडान नहुँदा कार्यालयमा कार्यरत कर्मचारी, बाहिर पढ्न जाने विद्यार्थी र आकस्मिक बिरामीहरू मर्कामा परेका छन्। शिक्षक जान्सा मल्लले भने, “काठमाडौं जानको लागि चार दिनदेखि रारा विमान स्थलमा आउजाउ गर्दै आएको छु, तर जहाजले उडान भरेका छैनन्।”

स्थानीय बासिन्दाहरूले आकस्मिक स्वास्थ्य उपचारका लागि नेपालगञ्ज वा काठमाडौं जानुपर्ने अवस्थामा जीवन जोखिममा पर्ने अवस्था आएको बताएका छन्।नेपाल नागरिक उड्यन प्राधिकरण रारा स्टेसन प्रमुख रामेल बरियाका अनुसार, निजी एयरलाइन्सहरूले दैनिक उडान गर्ने इच्छा भए पनि मौसम परिवर्तनका कारण नियमित उडान हुन सकेको छैन।

नेपाल एयरलाइन्स रारा ताल्चा स्टेसन इञ्चार्ज नवीन कुमार बिष्टले भने, “यात्रु मागलाई ध्यानमा राख्दै आगामी सोमबारदेखि उडान सुचारु गर्ने तयारी भइरहेको छ । प्रारम्भमा पाँच वटा टिकट अनलाइन उपलब्ध गराइएको छ, पछि थप १० टिकट अनलाइन गरिनेछ।” यात्रुहरूले चाडपर्वलाई ध्यानमा राख्दै तत्काल नियमित उडान सञ्चालनको माग गरेका छन् ।