जिल्ला अस्पतालद्वारा खोप सेवा विस्तार

470
Shares

उदयपुर ।

जिल्ला अस्पताल उदयपुरले नियमित खोप सेवा विस्तार गरेको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै अस्पतालले अब हप्तामा दुई दिन बुधबार र शुक्रबार खोप सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै यसअघि केवल बुधबार मात्र सञ्चालन हुँदै आएको खोप सेवालाई अब दुई दिनसम्म विस्तार गरिएको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिरेन्द्र कुमार मण्डलका अनुसार खोप सेवा सञ्चालन हुने दिनहरूमा सार्वजनिक बिदा पर्न गएमा पनि खोप सेवा नियमित रूपमा सञ्चालन हुनेछ । यसबाट टाढाबाट आउने सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौर बहादुर बिकले खोप सेवा प्रदान गर्ने समय कम भएको गुनासो बढेपछि अस्पताल व्यवस्थापनले सेवा विस्तार गर्ने निर्णय गरेको बताउनुभयो ।

अस्पतालले खोप लिन आउने अभिभावकहरूलाई केही महत्वपूर्ण कुरामा ध्यान दिन आग्रह गरेको छ । अस्पतालले खोप कार्ड अनिवार्य रूपमा लिएर आउन र खोप दिनुअघि बच्चामा कुनै स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ । साथै बालबालिकालाई सफा र न्यानो कपडामा ल्याउन सूचनामा भनेको छ ।

यो सेवा विस्तारले जिल्लाका बालबालिकालाई समयमै खोप लगाउन र खोप सेवाको पहुँच बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।