काठमाडौं
गत भदौ महिनादेखि पर्सा र बारामा हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिएको थियो । अहिलेसम्म १ हजार ६८५ भन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोही क्षेत्रलाई लक्षित गरी पर्सा र बारा जिल्लामा फैलिएको हैजाको महामारी नियन्त्रणका लागि नेपालले आपत्कालीन रूपमा १० लाख १८ हजार १ सय डोज ओरल कोलेरा भ्याक्सिन (ओसीभी) प्राप्त गरेको छ । यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) ले उपलब्ध गराएको हो ।
खोप हस्तान्तरण कार्यक्रम विहिबार काठमाडौंस्थित टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा आयोजना गरिएको थियो । कार्यक्रममा डब्लुएचओका तर्फबाट डा. बलविन्दर सिंह चावला, युनिसेफका तर्फबाट डा. बुद्धि सेतिवान, तथा विभागका अधिकारीहरूको उपस्थितिमा आईसीजीले खोप स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीलाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा बोल्दै महानिर्देशक डा. बाराकोटीले आईसीजीले महत्त्वपूर्ण समयमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै आभार व्यक्त गरे । उनले खोप अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै “यसले महामारी नियन्त्रणमा निर्णायक भूमिका खेल्नेछ,” भने ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप पर्सा जिल्लाका सबै स्थानीय तहमा, साथै बारा जिल्लाका ६ वटा स्थानीय तहमा एक वर्ष उमेरका बालबालिकादेखि माथिका सबै व्यक्तिलाई दिइनेछ । यो आपत्कालीन खोप अभियानले महामारीको जोखिममा रहेका जनतालाई प्रत्यक्ष सुरक्षात्मक लाभ पुर्याउने अपेक्षा गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक टंक प्रसाद वाराकोटीले बताए । उनले यो खोप नयाँ नभएर सन् १९९० मा नेपालका काठमाडौँ, नवलपरासी लगायतका जिल्लामा लगाई सकिएको र पुरानै खोप भएको र डब्लुएचओले प्रमाणीत गरेको खोप हो भने ।
गत भाद्र महिनामा फैलिएको हैजा संक्रमितमध्ये अधिकांश १५ देखि २४ वर्ष उमेर समूहका बालबालिका र युवा रहेका छन् । यद्यपि पछिल्ला केही दिनयता नयाँ संक्रमितको संख्या घट्ने क्रममा रहेको भए पनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।
स्वास्थ्य सेवा विभागका अनुसार हैजाबिरुद्धको आपत्कालीन खोप अभियान पर्सामा अशोजदेखि कात्तिक महिना भित्र खोप अभियान शुरु हुने गरी तयारी अन्तिम चरणमा पुगेको छ । विभागको खोप शाखाका प्राविधिक टोलीहरू अहिले नै हैजा प्रभावित जिल्लाहरूमा पुगेर खोप केन्द्र छनोट, जनचेतना अभियान र तालिम तयारी कार्यमा जुटिसकेको छ । पर्सा जिल्लामा १ सय १७ स्वास्थ्य केन्द्रका साथै १८३४ स्वास्थ्य संस्था, स्थानिय टोल तथा घरदैलो अभियानमा ३८७७ टोली ओरल खोप अभियानमा खटिने छन् । त्यसैगरी बाराका ६ वटा स्थानिय तहमा ६७ स्वास्थ्य केन्द्र र बाहिर ११०६ स्थानमा २१६६ टोली खोप अभियानका लागि खटिने जानकारी गराइयो ।
महानिर्देशक बाराकोटीले एक मात्र लगाईने यो खोप ८२ प्रतिशत प्रतिरोध क्षमता विकास भएको पहिला नै प्रमाणित भैसकेको र यो खोपले जोखिम धेरै घटाउँने बताए । उनले डब्लुएचओका साथै खोप सिफारिस समितिको सल्लाहमै खोप अभियान शुरु गर्न लागिएको हो । सोही अवसरमा डा. विवेक कुमार लाल कर्णले यो खोप अभियान संचालन गर्दा एक जनालाई दिईने खोपका लागि २६० रुपैयाका दरले खर्च हुने र यो ओरल खोप एक व्यक्तिका लागि एउटा हुने हुनाले खेर नजाने पनि बताए । उनले खोप लगाउन किन ढिलाई भयो भन्ने प्रश्नको उत्तरमा यो खोप प्रतिकार्य महामारी फैलिएपछि मात्र विश्व स्वासथ्य संगठनसँग स्वीकृति लिएर लगाउँनुपर्ने हुनाले समय लागेको बताए । उनले समस्या सरसफाई र खानेपानीको भएकाले बहुपछिय योगदानबाट मात्र यो अभियान सफल हुने उनले बताए ।
उनले हैजाको अचुक उपाय खोप हैन खोप लगाएपनि सरसफाई र शुद्ध पिउने पानीमा नै जोड दिनुपर्छ । हामीले यो खोपका लागि आवश्यक तयारी गर्न दशैमा पनि काम गरेका छौं भने ।
डब्लुएचओका नेपाल प्रतिनिधि डा. बलविन्दर सिंह चावलाले ७ सेप्टेम्बरमा खोपको प्रस्ताव जेनेभा पठाएर २५ सेप्टेम्बर १७ दिनमा नेपालमा खोप ल्याई सकेका छौं । यो निकै छिटो खोप प्राप्त भएको हो । यो खोप विश्व स्वास्थ्य संगठन, युनिसेफ र गाभिको आर्थिक सहयोगमा नेपाल ल्याईएको हो । यसलाई प्रयोगमा ल्याउन ढिलो गर्नुहुन्न भने ।
खोप लगाएको १ सातामा प्रतिरक्षा क्षमताको विकास हुने र खोपपछि कसै कसैलाई सामान्य वाक वाकी लाग्ने, पखाला लाग्ने, ज्वरो आउने, आलस्य हुने, मुखमा घाउ आउने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छ । यसका लागि स्वास्थ्यकर्मीले तुरुन्तै आवश्यक उपचार गर्नेछन् । औषधिको स्वाद तितो हुने हुनाले सँगै पानीको पनि व्यवस्था गरिएको जानकारी गराइयो ।
स्वास्थ्य अधिकारीहरूले स्थानीय तह, स्वयंसेवक र सामुदायिक स्वास्थ्य कार्यकर्ताको सहकार्यमा यो अभियानलाई सफल बनाउने विश्वास व्यक्त गरेका छन् । हैजा नियन्त्रणका लागि खोपसँगै स्वच्छ पानी, सरसफाइ र जनस्वास्थ्य सचेतनालाई समेत सशक्त रूपमा अघि बढाइने र यो अभियानमा संचारकर्मी तथा संचार माध्यमको महत्त्वपूर्ण भूमिका रहने बताइयो ।














प्रतिक्रिया