बदलिदो अवस्था
विश्व व्यवस्था बदलाबमा छ । शक्ति सन्तुलन बदलिएको छ । नवउदारवादी लुटमा आधारित व्यवस्था पतनको सङ्घारमा पुगेको छ । जसको बाछिटा र छटपटी विश्वव्यापी देखिएका छन् । यसको राजनीतिक प्रणाली भनेको लोकतन्त्र हो । यसका दुई मोडल रहेका छन् । सदनबाट कार्यकारी निर्वाचित गर्ने र जनताबाट प्रत्यक्ष कार्यकारी निर्वाचित गर्ने । यी दुबै मोडलहरूले सामाजिक न्यायको पक्षमा काम गर्न भने सकेनन ।
जसका कारण यो व्यवस्थामा अन्तरविरोधहरू सिर्जना भइरहेका छन् । यी नवउदारवादीहरू जसले धनदौलत नियन्त्रण गरेका छन् तिनीहरूले संसारभरी युद्ध निर्यात गरिरहेका छन् । युद्ध गरिरहेका छन् । थप युद्धको आयोजना गर्ने प्रपञ्च गरिरहेका छन् । युद्ध विना उनीहरूको शान सौकत बाँच्ने अवस्थामा पनि छैन । त्यसकारण साम्राज्यवादीहरू आफ्नो लुटको धन्दालाई निरन्तरता दिइरहन अनेकौं षड्यन्त्रका तानाबाना बुनिरहेका छन् ।
ती षड्यन्त्रका तानाबानाको मतियार कहिले लोकतन्त्रवादी त कहिले सामाजिक न्यायको पक्षधर कम्युनिष्टहरू हुनुले पनि समाजमा चलिरहेको मुक्ति आन्दोलनमा ठूलाठूला भ्रमहरू दिएर शोषण विभेद र उत्पीडनमा आधारित व्यवस्था चलिरहेको छ । यसमा पनि आज पुराना प्यादाहरूले जनताको मुक्ति आन्दोलनलाई भ्रमित गराई शोषण उत्पीडनलाई निरन्तरता दिदै गरेकोमा पनि पुराना प्यादाहरूबाट आफ्ना कार्यहरू पुरा हुन नसकेकाले नयाँ प्यादाहरू निर्माणको अभियानमा नवउदारवादीहरू लागिपरेका छन् ।
बदलिदो परिवेश
पहिलो विश्वयुद्धले सामन्तवादलाई छिमोल्ने कार्यमा योगदान गरेको देख्न सकिन्छ भने दोश्रो विश्वयुद्धले औपनिवेशिक शोषण उत्पीडनबाट विश्वलाई स्वतन्त्रता दिएको थियो । अहिले विश्व नवऔपनिवेशिक शोषण उत्पीडनको पीडाबाट गुज्रीरहेको छ । नवउदारवादी नीति यसको रक्त सञ्चार हो । जो विभिन्न एनजीओ, आएनजीओ, दातृ निकायहरूका माध्यामद्वारा संसारभरी जडान गरिएको छ ।
यसको मुख्य काम भनेको ती देशहरूमा हुने सामाजिक न्यायको आन्दोलनहरूलाई भ्रम दिन त्यहाँका जनपक्षीय, वामपन्थी तथा प्रगतिशील शक्तिहरूलाई समेत आफ्नो प्रभावमा पारी आन्दोलन सम्झौतामा तुहाउने वा दिशा विहिन गराउने कार्यमा नवउदारवादी नीतिले सफलता हासिल गर्दै आइरहेको थियो ।
अब यसमा पनि सङ्कट देखा प¥यो । अब यसलाई नयाँ ढङ्गबाट नयाँ कलेवरमा आफ्ना ‘छद्म’हरू तयार गर्ने क्रममा आज देश विदेशमा यसका प्रभाव र लक्षणहरू देखा परिरहेका छन् । यसको मुल नारा नै सुशासन रहेको छ । पुरानो शासन पनि उनीहरूकै थियो । जो कुशासन थियो । आज सुशासनको नाममा पनि उनीहरू नै शासन गर्ने स्तरमा छन् । उनीहरूको सुशासन भनेको आफ्नो कठपुतली सरकारको गठन गर्नु हो र सामाजिक न्यायको आन्दोलनलाई कानुनी न्यायको आन्दोलनमा बदल्नु हो । कानुनी न्याय भनेको जसले कानुन बनाउछ उसैको हितमा आधारित हुन्छ ।
बदलिदो नेपाल
नेपाल र भारत जस्ता देशको सनसङ्घर्षको चरित्र चित्रण गर्ने हो भने भारतमा व्रिटिस उपनिवेश विरूद्ध सामाजिक न्यायको पक्षमा विकास भइरहेको चेतनालाई निश्तेज गर्न र कानुनी सङ्घर्षमा पतन गराउन उनीहरूकै निर्देशनमा उनीहरूकै मानिसको नेतृत्वमा भारतीय राष्ट्रिय काँग्रेस गठन गरेर उनीहरूकै हितमा काम गराइरहेको आजसम्म पनि देख्न सकिन्छ । त्यो सम्बन्धबाट त्यहाँको राजनीति आजसम्म पनि माथि उठ्न सकिरहेको छैन ।
जहानियाँ राणा शासन विरूद्ध नेपालमा पनि त्यसैको प्रभाव प¥यो । गणतन्त्र र जनाधिकारका लागि गठन भएको नेपाली काँग्रेस दिल्ली सम्झौता गरेर पतन भयो भने जनवादी गणतन्त्र स्थापनाका लागि गठन भएको नेपाल कम्युनिष्ट पार्टी पनि जसका विरूद्ध सङ्घर्ष गर्नु पर्ने भनिएको थियो उनीहरूसंगै समन्वय र सम्झौताको नीति लिन पुगी कम्युनिष्ट सङ्घर्षबाट विमुख हुने दिशामा क्रियाशील हुन पुग्यो । यसरी नेपालको जनसङ्घर्षको आन्दोलनमा उनीहरूको घुसपैठ भएको देख्न सकिन्छ ।
यसबारेमा विद्वानहरूको भिन्नभिन्न मतहरू रहेका छन् । जहाँ पनि विदेशीको घुसपैठ देख्नु गलत हुन्छ भन्ने गर्दछन् । यहाँ भन्नै पर्ने के कुरा रहेको छ भने हाम्रा जस्ता निम्म मध्यम वर्गीय, निम्न पूँजीपति अवसरवादी चरित्र रहेकाहरूको उपस्थिति बलियो रूपमा रहेका छन् । भारत नेपालमा यस्तो चरित्र बलशाली रूपमै देखिए । स्वार्थ समुहको उपस्थिति विना, टकराव विना सङ्घर्ष हुँदैनन् । फरक स्वार्थ कस्को र त्यो स्वार्थले कस्को सेवा गर्दछ भन्ने मात्र हो ।
बदलाब रोकिएको
नेपाली काँग्रेस पूँजीवादी गणतन्त्र स्थापनाका लागि खडा गरिएको पार्टी थियो । तर उ राजा, राणा र दिल्लीसंग सम्झौता गर्न पुग्यो । नेकपा सामन्तवाद, पूँजीवाद र साम्राज्यवादी प्रणाली र सम्बन्धको अन्त्य गरेर वास्तविक समाजवाद उन्मुख जनवादी गणतन्त्र स्थापना गर्न चाहन्थ्यो ।
तर त्यसले पनि २००८ सालको प्रथम सम्मेलन पनि समन्वय र सम्झौतावादी नीति लिएका कारण समाजमा युगौं देखि जकडिएर रहेका समस्याहरू समाधान र निकास भन्दा पनि झन थपिने दिशातर्फ अगाडि बढेको देख्न सकिन्छ । यस्तो टालेटुले समाधानले आन्दोलन वा विद्रोह सकिएको देख्नु समाज विकासको वैज्ञानिक नियमलाई पूर्णतः अनदेखा गर्नु हुन्थ्यो । जसका कारणले मिसमास गरेर डेन्टिङपेन्टिङ गरिएको यो संसदवादी व्यवस्था फेल भयो ।
यही फेल भएको व्यवस्था भित्र कार्यकारी प्रमुखको जामा पहिराइदिएर फेरी नयाँ भ्रमको भेरियन्ट अगाडि बढाउन खोजिएको छ । जो सामान्य सुधारको तहसम्म पनि हुने छैन । सबैलाई थाहा भइसक्यो यो शोषण र शासनका लागि नयाँ प्यादा र नयाँ जस्तो देखिने तरिका मात्र हो ।
नौजवान विद्रोह
जेन जेटको नाममा भएको २७ घण्टे ‘प्रोटेस्ट’ विद्रोहले संसदवादी व्यवस्थालाई फालिदिएको छ । नेपाली युवाहरूलाई राजनीतिबाट विमुख गराई शोषण र शासन कायम गराइरहन खोज्ने र अब नेपालमा राजनीतिक आन्दोलन, सङ्घर्ष, विद्रोह, क्रान्तिको चरण सकियो भन्ने, अब हुँदैन भन्ने संसदवादमा पतन भएका नेका, एमाले, माकेहरू यतिबेला सरकार र सदन दुबैबाट फ्याकिएका मात्र छैनन् जनताबाट तिरस्कृत र नेताहरू दुलामा लुक्नु पर्ने निरिहतामा आफ्नो अस्तित्व खोजिरहेका छन् । यसबाट जनमुखी वा जनहितकारी सरकार बन्न भने सक्दैन ।
पुरानो निर्वाचित तर निर्देशित सरकारको स्थानमा नयाँ निर्देशित छद्म सरकार बनेको छ । जनविद्रोहलाई छिरल्ने गरी भएको विद्रोह र सरकार फेरबदलले नयाँ र सशक्त जनसङ्घर्ष जनविद्रोह र जनक्रान्तिको यात्रामा रहेका छद्महरूको पनि मुकुण्डो उतारिदिएको छ । यसको निर्देशक को हो ? यहाँका छद्मभेषी को को हुन आज जनस्थरमा बुझ्ने गरी देखिएका छन । नेपालको इतिहासमा कुनै पनि सरकारले दलाई लामाको शुभकामना पाएको थिएन, जो यो सरकारले पाएको छ ।
सच्चिने कि सिद्धिने
नेपाली समाजको विकास क्रममा सामन्तवाद र पूँजीवादसंग सम्झौता गरेका शक्ति र पक्षहरूलाई नौजवानहरूको २७ घण्टे बलिदानीपूर्ण सङ्घर्षले पुरानो रूपमा उठ्नै नसक्ने गरेर पछारी दिएको छ । नयाँ रूपले लोकतन्त्रको नाममा उठ्न सक्ने अवस्था कमजोर छ तर यसैलाई नयाँ÷पुरानो टालो लगाएर उठ्ने बाहेक उनीहरूसंग अर्को विकल्प पनि छैन । यो लोकतन्त्रवादीहरूको विश्वव्यापी सङ्कट हो । त्यस कारण उनीहरूको अग्रयात्रा सच्चिदा पनि जनसेवी हुन सक्दैन ।
किन भने समाजले कानुनी राज खोजिरहेको छैन न्याय खोजिरहेका छन् । लोकतन्त्रले सामाजिक न्याय दिन सक्दैन । पूँजीवादी न्याय दिने हो । यो पूँजीवाद जहिले पनि नाफा प्रच्युर नाफामा मात्र बाँच्दछ । त्यस कारणले गर्दा यो लोकतान्त्रिक पूँजीवादी व्यवस्था पूर्णतः असफल भई सक्यो । यसलाई डेन्टिङ पेन्टिङ गरेर अगाडि बढ्न खोज्नु आफैंलाई धोका दिनु नै हुन्छ । तर पनि यिनीहरू सच्चिने मुडमा देखिएका छैनन् । जसले पूँजीवादी लोकतन्त्रलाई केही हदसम्म अगाडि बढाउन सकोस । सामन्तवादी र दलाल नोकरशाही पूँजीवादीहरूको यो शिविरमा नौजवानहरूको ‘प्रोटेस्ट’ विद्रोहले शक्तिशाली झापड दिएको छ ।
नयाँ अवसर
संसदीय अभ्यासबाट जनसेवाका कामहरू नहुने तथ्य फेरी पुष्टी भएको छ । लामालामा सङ्घर्ष, विद्रोह र युद्धबाट पनि पुनस्र्थापित संसदले न्यूनतम प्रगतिशील चरित्र कायम गर्न सकेन । जनवादी गणतन्त्र पक्षधरहरू यसैको सोरोफेरोमा रमाउनुले सिङ्गो आन्दोलन र पार्टीहरूनै विसर्जनमा पुगे । संसदवादको आहालमा डुबाइएको नेपालको कम्युनिष्ट आन्दोलनलाई त्यसबाट निकालेर सामाजिक न्यायको आन्दोलन विकास गर्ने एक युगिन अवसर आएको छ ।
विसर्जन हुनुमा कम्युनिष्ट आन्दोलन र पार्टीले सिद्धान्तको क्षेत्रमा, सङ्गठनको क्षेत्रमा, जनसेवाका कामको क्षेत्रमा, सांस्कृतिक रूपान्तरणको क्षेत्रमा, राष्ट्रिय स्वाधीनता कायम गर्नमा, वर्ग अन्तरविरोधको ठोस पहिचान गरी सङ्घर्ष कार्यदिशा कार्यक्रम निर्माणमा, नीति निर्माणमा आम सहभागिता र कार्यान्वयनमा नीतिको नेतृत्व स्थापित गर्नमा प्रतिबद्ध भई अगाडि बढ्न सक्दा मात्र जनवादी गणतन्त्र नेपाल स्थापनाको यात्रालाई सुगम र छिटो हुने अवस्थामा पुराउन सक्ने कम्युनिष्ट आन्दोलनमा नवीनतम् अवसर सिर्जना भएको छ ।
(लेखक, नेपाल कम्युनिष्ट पार्टीको संगठन विभाग प्रमुख हुनुहुन्छ । स. ।)











प्रतिक्रिया