मीनबहादुरको नजलेको भावना, कर्तव्य र हिम्मत

1.6k
Shares

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले भन्यो, ‘भाटभटेनीका भवनहरु जल्न सक्छन्, पसलहरु भत्किन सक्छन्, तर मेरो परिवारजस्तै मान्ने कर्मचारीहरुको जागिर कहिल्यै निभ्न दिन्न ।’

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले जेनजी आन्दोलनको क्रममा आफ्ना केही सुपर मार्केटका भवनहरु जलाइएपछि रोजगारविहीन बनेका कर्मचारीहरुलाई जागिर तथा सेवा–सुविधा गुमाउनुपर्दैन भन्दै ढाडस दिएको प्रसंगलाई एआईले यसरी व्याख्या गरिदिएको छ ।

जेनजी आन्दोलनको क्रममा पीडित बनेका मीनबहादुर गुरुङको बारेमा जेनजी पुस्ताको उच्चतम उपयोगी प्रविधि एआईको यो व्याख्याले भावनालाई पुस्ताले स्खलित गर्न सक्दैन भन्ने बुझाउँछ ।

यो मिठास एआईको शब्दमा मात्र छैन, हृदयका धनी मीनबहादुर गुरुङको व्यवहारमा समेत देखिएको छ । हैन भने भाटभटेनी चेनका धेरै भवनहरु धुवाँका मुस्लोमा विलिन भइरहँदा कर्मचारीको चिन्ता कसले गथ्र्यो होला र !भावनाले हृदयलाई जित्न सक्ने धनका मात्र हैन मनका धनी मीनबहादुर गुरुङले धुवाँले घुर्मैलो बनेका खण्डहर भाटभटेनी भवनको दैलोमा उभिएर भनेका थिए– कर्मचारी कसैको पनि जागिर छुट्दैन, बरु ऋण निकाल्न तयार छौँ, तर सबैलाई दशैँ खर्च दिनेछौँ ।

खण्डहर भवनको डिलमा बसेर कर्मचारीहरुसँग भावना साट्दै गर्दा मीनबहादुर गुरुङका आँखा रसाएका थिए । खुट्टा लर्खराएका थिए । निरपराध भोग्नुपरेको चोटले शरीर छिया–छिया बनेको थियो । उनले सेतो रुमालले आँखा पुछे । उनलाई चिन्ता र निराशाले छोपेजस्तो भयो । तर उनलाई ती सयौँ कर्मचारीको आँतले आड दिएको थियो, भरोसा दिएको थियो । त्यसैले उनी निर्धक्क भनिरहेका थिए– ‘हामी उठ्नेछौँ, कसैले जागिर गुमाउनुपर्दैन, सबैले दशैँ खर्च पाउनेछन् । मेरा कर्मचारी मेरा बच्चा हुन् । उनीहरुले दशैँ मनाउनुपर्छ । उनीहरुलाई दशैँ बोनस र तलब दिन्छु ।’

उनको यो भावनात्मक अभिव्यक्तिले सार्थकता पाएको विश्वास मैले गरेको छु । मेरो विश्वास छ, भाटभटेनीमा कार्यरत हरेक कर्मचारीले बोनससहितको दशँै खर्च थापेर घर–परिवारसम्मको यात्रा तय गरिसकेका छन् । भलै केही घण्टाको उच्छ्रृङ्खल उपद्रोले आफ्नो भविष्य आगोको राप र धुवाँको मुस्लोमा विलिन हुँदै गरेको दृश्यका तरङ्गले उनीहरुको दशैँको रौनक सन्तापको सिरानीमा विश्राम गर्नेछ ।

यो भावना लेखिरहँदा मेरो मनमा श्रद्धाको अनौठो ज्वारभाटा उठिरहेको छ, जहाँ व्यवसायी मीनबहादुर गुरुङको दृढ सङ्कल्पित अनुहारले मलाई खुशी बनाएको छ । मैले व्यक्तिगतरुपमा उनलाई भेटेको छैन । फेरि पनि मलाई लाग्छ, मीनबहादुर गुरुङ नेपालीहरुको लागि गौरवका प्रतीक हुन् ।

किनभने, हरेक आन्दोलनमा भाटभटेनी जल्छ, तोडफोड हुन्छ तर मीनबहादुर गुरुङको हिम्मत कम हुँदैन । एउटा सफल व्यवसायी र असल समाजसेवीलाई यति धेरै खेद्नुको कारण के हो ? तोडफोड र आगजनीमा संलग्नले नै जानुन् । मैले यति बुझेको छु– मीनबहादुरले कर्मचारीको खुशी खोजेका छन्, उनीहरुको दशैँ खोजेका छन् र देशको समृद्धि खोजेका छन् ।
उनी हिम्मत गर्छन्– म पहिलो र दोस्रो विश्वयुद्ध लडेका वीरहरुको सन्तान हुँ । मलाई हार्ने वा कर्तव्यबाट भाग्ने छुट छैन । मन भारी छ तर हिम्मत हारेको छैन ।

खोटाङको एउटा दुर्गम गाउँमा जन्मिएका मीनबहादुरले २६ वर्षअघि नेपाल बैङ्कको जागिर छोडेर शुरु गरेको सानो व्यवसायले यो उचाइ लिन्छ भन्ने सोचेकै थिएनन् । व्यवसायमा केही नयाँ गर्ने हुटहुटीले भाटभटेनी सुपरमार्केट खोल्ने प्रेरणा पाएका मीनबहादुर गुरुङ अहिले सयौँ कर्मचारीको अभिभावक बनेका छन् ।

जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते उनको देशभरि रहेका भाटभटेनीका २८ वटा शाखामध्ये २१ वटा शाखामा तोडफोड भयो, जसमा १२ वटा शाखा पूर्णरुपमा नष्ट भएका छन् । उनको अनुमानमा यो सबैबाट १० अर्बभन्दा बढीको नोक्सानी भएको छ । तैपनि उनी दुई–तीन महिनाभित्र सबै शाखाहरुलाई पूर्णरुपमा सञ्चालन गर्न सक्छु भनेर हिम्मत गरिरहेका छन् ।

भाटभटेनीको जलेको खरानीलाई साक्षी राखेर मीनबहादुर गुरुङले भनेका छन्, ‘मसँग मेरो कर्मचारीको भविष्य जोडिएको छ, मेरो कर्मचारीसँग उनीहरुको बालबच्चाको भविष्य जोडिएको छ । मलाई विश्वास गरेर ऋण पत्याउने बैङ्कहरुप्रतिको मेरो जिम्मेवारी छ, त्यसैले म हिम्मत हार्दिन । म गोर्खालीको छोरो हुँ ।’

आन्दोलनमा भाटभटेनी जल्यो, मीनबहादुरको मन जल्यो, उत्साह, उमङ्ग र खुशीका पलहरु जले । फेरि पनि मीनबहादुरको भावना जलेन, कर्तव्य जलेन, इच्छाशक्ति र हिम्मत जलेन । जल्दै गरेका भवनको दैलो चिहाउँदै उनले नयाँ शुरुवातको उद्घोष गरेका छन् ।

के सरकारले सुनेको छ त ? अब कर्तव्य पालनाको पालो सरकारको हो । हरेक आन्दोलनमा व्यवसाय जलिरहने हो भने लगानीको वातावरण कसरी बन्न सक्छ र ? अनि आर्थिक लगानीको वातावरण राम्रो भएन भने मुलुकमा समृद्धि कसरी सम्भव हुन्छ ? काल पल्केको धेरै भइसकेको छ । आन्दोलनपछिका हरेक सरकारले तत्कालीन केही राहतका घोषणा गरे पनि दीर्घकालीन उपाय खोजेको देखिँदैन ।

यो जेनजी आन्दोलनको जगमा बनेको सरकार हो । यसले आन्दोलन हिंसात्मक हुनुको कारण पनि खोज्नुपर्छ, गोलीको वर्षा कसरी भयो ? त्यसको तथ्य पनि खोतल्नुपर्छ । र, सार्वजनिक सम्पत्ति, व्यावसायिक भवन तथा व्यक्तिगत भवनमा आगो झोस्ने उद्दण्ड मानसिकताका अर्धपागलहरुको खोजी गरी कानुनी दायरामा ल्याउने आफ्नो कतव्र्य पनि पूरा गर्नुपर्छ । आन्दोलनमा यस्तै हो भनेर चुपचाप झन्डा हल्लाउँदै दौडने छुट यो सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई छैन ।

नेपाल सुन्दर छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुले सम्पन्न छ । तर आर्थिकरुपमा सम्पन्न छैन । आर्थिक सम्पन्नताको लागि लगानीको वातावरण राम्रो हुनुपर्छ । सुशासन, शान्ति सु–व्यवस्था र सरकार–नागरिकबीच आत्मीयता हुनुपर्छ । यो सबै कामको लागि मीनबहादुर गुरुङको जस्तै इच्छाशक्ति र प्रतिबद्धता सरकारसँग हुनुपर्छ ।

यो सरकारलाई जेनजी आन्दोलनका शहीदका सपनाहरुले अँचेटिरहेको छ, घाइतेका आर्तनाद र आक्रोशले झस्काइरहेको छ अनि घर तथा व्यवसायसँग भविष्य जलेको पीडाले धकेलिरहेको छ । चुपचाप चुनावमा मात्र केन्द्रित हुन यो सरकारलाई छुट छैन । अनि छुट छैन, व्यक्ति केन्द्रित राजनीति गर्न पुराना र नयाँ दलहरुलाई पनि ।

जेनजी उमेर समूह मात्र होइन, यो सामाजिक न्याय, वातावरण, लैङ्गिक समानता र विविधताको विषयमा बढी नै सचेत समूह पनि हो । त्यसैले जेनजी पुस्ताको एआईले मीनबहादुर गुरुङको बारेमा जसरी व्याख्या गरेको छ, त्यो व्याख्या वर्तमान सरकार र पुराना तथा नयाँ दलहरुको बारेमा पनि हुनुपर्छ भन्ने आम अपेक्षा हो । दुर्भाग्यवश एआईले वर्तमान सरकार र दलहरुको विषयमा अप्रिय व्याख्या गर्ने अवस्था नबनोस् ।