रसुवा । संघीय राजधानी काठमाडौंबाट सवारीसाधनद्वारा करिब ५ घण्टामा रसुवाको सदरमुकाम धुन्चे पुगिन्छ । धुन्चेबाट डेढ दिन आधा ठाडो उकालो चढेर गोसाइँकुण्ड पुगिन्छ । सदरमुकाम धुन्चे हुँदै स्याफ्रुबेसी सवारीसाधनको यात्रापछि दुई दिनको उकालो हिँडेपछि लाङटाङ क्याङजिङ पुगिन्छ ।
दशैँ–तिहारको बिदा मनाउन र आफ्नो काम गर्दा दिक्क लाग्दा प्रकृतिसँग रमाउन पनि आन्तरिक पर्यटकहरू यहाँ आउने गर्छन् । स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरूसमेत लाङटाङ पुग्ने गर्छन् । समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित बौद्ध र हिन्दूहरूले मान्दै आएको धार्मिक पर्यटकीय स्थल गोसाइँकुण्ड घुम्न र त्यसवरपरका रमणीय वातावरणसँग रमाउन आउनेहरु धेरै हुन्छन् । धर्म गर्न र मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास लिएर आउनेहरु पनि उत्तिकै हुन्छन् । गोसाइँकुण्डवरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्डलगायतका अन्य तालहरू पनि छन् । चैत्र–वैशाखतिर यहाँ विभिन्न प्रजातिका लालीगुराँस फुल्दा पूरा क्षेत्र नै आकर्षक देखिन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने गोसाइँकुण्ड रामसार सूचीमा सूचीकृत रहेको छ । विगत १० वर्षयता मानिसहरूको १२ महिना नै गोसाइँकुण्डमा आवतजावत भइरहन्छ । विशेषरूपमा जनैपूणिर्मा र गंगादशहरा मेलामा यहाँ मेला लाग्छ । यात्रामा अमरसिंह थापासँग सम्बन्धित ऐतिहासिक स्थल, चोलाङपाटीनजिकै देखिने दुर्लभ रेडपाण्डा, लालीगुराँस, कस्तुरी मृग तथा अन्य जीवजन्तु पनि पर्यटकको मुख्य आकर्षण बन्ने गरेका छन् । फर्कंदा धुन्चे र वरपरबाट कालो मुसुरो, गतलाङको सिमी, लालीगुराँसको जुस, तामाङ टोपी, पटुका, झोला आदि कोसेलीको रूपमा लैजान सकिन्छ ।
लाङटाङको कुरा गर्दा, काठमाडौंबाट १ सय ३० मिटरको दूरी पार गरेपछि स्याफ्रुबेसी पुगिन्छ । स्याफ्रुबेसी आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र नै हो लाङटाङ क्याङजिङ पुग्नका लागि । त्यसैले मानिसहरू जति नै दुःख–कष्ट भए तापनि स्याफ्रुबेसीबाट दुई दिनको उकालो बाटो हुँदै डोमेन, पहिरो, बम्बु, रिमिचे, लामा होटल, घोडा तबेला, थाङस्याब, गुम्बाडाँडा हुँदै लाङटाङ क्याङजिङ पुग्न सकिन्छ । यी दुई स्थानमा जाँदा नेपालीले १ सय रुपियाँ, सार्क मुलुककाले १५ सय रुपियाँ र अन्य मुलुककाले ३ हजार रुपियाँ निकुञ्जमा शुल्क तिर्नुपर्छ ।
क्याङजिङमा पुग्दा पुरानो क्याङ्जिङ गुम्बा, लाङटाङ ग्लेसियर र वरपरका एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । त्यहाँबाट क्याङजिङ री, चेरकोरीलगायत थुप्रै पिक चढ्न सकिन्छ । भूकम्पपछि लाङटाङ क्षेत्र सुधार भई सुरक्षित र आकर्षक बनेको छ ।











प्रतिक्रिया