अब जनता जागिसकेका छन्, हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् : सुदन गुरुङ


काठमाडौँ। 

जेनजीको प्रतिनिधिका रूपमा सहजीकरण गर्दै आएका सुदन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने भन्‍दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन् मंगलबार ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूहरूको नाम प्रयोग  गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दाबी गरेका छन् । 

‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भड्काइँदैछ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ’, सामाजिक सञ्जालमा गुरुङले लेखेका छन् । ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ; त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ ।’

उनले राजनीतिक दलहरूलाई खबरदारी गर्दै भनेका छन्, ‘हामी चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन् हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् ।’