मन्त्री घिसिङको अनुगमन : विद्युत् आपूर्ति सुधारमा जोड


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्दै देशभरको विद्युत् आपूर्ति, उत्पादन र वितरणको अवस्थाबारे जानकारी लिए। छिनछिनमा बत्ती जाने समस्यालाई उच्च प्राथमिकता दिँदै उनले तत्काल समाधान गर्न निर्देशन दिए।

विद्युत् सेवा भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन नीति तथा प्रविधिमा सुधार आवश्यक रहेको भन्दै घिसिङले मर्स्याङ्दी करिडोर र हेटौंडा–ढल्केबर प्रसारण लाइन निर्माणमा जोड दिन आग्रह गरे।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हाल दैनिक औसत एक हजार मेगावाट विद्युत् भारत र बङ्गलादेशमा निर्यात भइरहेको छ, जसबाट १५ अर्ब रुपैयाँ आम्दानी भइसकेको छ।