काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरण समक्ष १३ बुँदे माग पेस गरेको छ। प्रमुख मागमा हालसम्म कनेक्सन एग्रिमेन्ट र पावर पर्चेज एग्रिमेन्ट (पीपीए) का लागि आवेदन दिएका करिब १३ हजार मेगावाटका आयोजना तुरुन्तै खुलाउनुपर्ने माग गरिएको छ ।
नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवाललाई भेट्न पुगेको इप्पान अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले उक्त मागहरू राखेको हो ।
इप्पानले नदी प्रवाहमा आधारित आयोजना लगायत १५ हजार मेगावाट बराबरका अध्ययनरत आयोजनाको पीपीए सुनिश्चित गर्ने, प्राकृतिक प्रकोप, जग्गा प्राप्तिमा ढिलाइ वा अन्य कारणले ढिलाइ भएका आयोजनाको म्याद ३ वर्ष थप गर्ने, जलवायु परिवर्तनका कारण उत्पादनमा आएको कमीलाई मध्यनजर गर्दै हाइड्रोलोजी पेनाल्टी १० मेगावाटभन्दा ठूला आयोजनामा पनि नलगाउने, प्रसारण लाइन अभावका कारण विद्युत प्रवाह नहुने अवस्थामा ब्याज पूँजीकरण गरी कर्जा पुनःसंरचना गर्ने, २०८२÷८३ देखि २०८४÷८५ सम्म उत्पादन नगरे पनि पीपीए ‘टेक एण्ड पे’ मा परिणत हुने व्यवस्था हटाउने जस्ता माग अघि सारेको छ ।
त्यस्तै साना तथा पुराना आयोजनालाई साविककै दरमा पीपीए दिने र बाँकी पोष्टेड रेट रकम निकासा गर्ने, इनर्जी टेबल परिमार्जन गर्न पाउने व्यवस्था गर्ने र १० प्रतिशतभन्दा बढी विद्युत उत्पादन भएमा नयाँ पीपीएमार्फत खरिद गर्ने, प्रसारण लाइन छिटो निर्माणका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने, प्रसारण क्षमतासम्बन्धी अवरोध हटाउनुपर्ने माग पनि इप्पानले राखेको छ ।











प्रतिक्रिया