काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२÷८३ को भदौ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपियाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ५० हजारभन्दा बढी बीमा पोलिसी बिक्री गरेर यो रकम आर्जन गरेका हुन् ।
उक्त अवधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब ६८ करोड ३२ लाख रुपियाँ संकलन गरेको छ । त्यसपछि राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८ करोड, नेशनल लाइफले ३ अर्ब ९८ करोड, एलआइसी नेपालले ३ अर्ब ३८ करोड, हिमालयन लाइफले ३ अर्ब १७ करोड र सूर्यज्योति लाइफले २ अर्ब १ करोड रुपियाँभन्दा बढी संकलन गरेका छन्।
अन्य कम्पनीहरूमध्ये सिटिजन लाइफले १ अर्ब ५० करोड, एसियन लाइफले १ अर्ब ४८ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड, आइएमई लाइफले १ अर्ब ८ करोड, मेट लाइफले १ अर्ब ५ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड, प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपियाँ बीमा शुल्क संकलन गरेका छन् ।
प्राधिकरणका अनुसार भदौ मसान्तसम्म जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन गत वर्षको सोही अवधिको तुलनामा १७.१५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा यो रकम ३० अर्ब ८ करोड ८२ लाख रुपियाँ मात्र थियो। यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय सर्वाधिक २८३ प्रतिशतले बढेको छ।
आइएमई लाइफले ३१.८५ प्रतिशत, रिलायबल नेपाल लाइफले १८.६४ प्रतिशत, सिटिजन लाइफले १७.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ११.२१ प्रतिशत, नेशनल लाइफले ११.१० प्रतिशत, मेट लाइफले ९.८६ प्रतिशत, सूर्यज्योति लाइफले ९.१९ प्रतिशत, सानिमा रिलायन्स लाइफले ९.१९ प्रतिशत, नेपाल लाइफले ७.१५ प्रतिशत, एलआइसी नेपालले २.६२ प्रतिशत, हिमालयन लाइफले २.२३ प्रतिशत र एसियन लाइफले ०.८३ प्रतिशत व्यवसाय वृद्धि गरेका छन् ।
तर, सन नेपाल लाइफको व्यवसाय भने २२.१७ प्रतिशतले घटेको छ। १४ जीवन बीमा कम्पनीमध्ये यही कम्पनी मात्रै संकलनमा गिरावट आएको प्राधिकरणले जनाएको छ।
यसैबीच लघु बीमा व्यवसायमा पनि उल्लेख्य वृद्धि देखिएको छ। लिबर्टी माइक्रो लाइफले गत वर्षको तुलनामा ३४३ प्रतिशत वृद्धि गर्दै ४ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। त्यस्तै, गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफ दुवैले ५ करोड ६३ लाख रुपैयाँ संकलन गरेका छन्। वृद्धि दर हेर्दा भने क्रेस्टले उल्लेख्य प्रगति गरेको छ।











प्रतिक्रिया