जलेको पैसामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान


काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीमा नगद जलेको वा जलेको अवस्थामा भेटिएको घटनाप्रति अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भन्दै सरकारले विद्युतीय कारोबारलाई प्राथमिकतामा राखेको र ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु नपर्ने उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार सेवा, वस्तु खरिद–विक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्न सकिने भएकाले सम्भव भएसम्म सबै कारोबार विद्युतीय भुक्तानीमार्फत गर्न आग्रह गरिएको छ ।

सूचनामा प्रचलित कानुनअनुसार आय आर्जनको स्रोत खुलेको रकम जुनसुकै परिमाणमा सुरक्षित राख्न र उपयोग गर्न सकिने स्पष्ट पारिएको छ । तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विद्यमान कानुनी व्यवस्था पनि स्मरण गराएको छ। तीमध्ये १० लाख रुपियाँ वा सोभन्दा बढी मूल्यको कारोबार बैंकिङ माध्यममार्फत गर्नुपर्ने । नेपाल प्रवेश गर्दा अमेरिकी डलर ५ हजार (वा सो बराबर अन्य विदेशी मुद्रा) भन्दा बढी भए भन्सारमा घोषणा गर्नुपर्ने ।

नेपाली नागरिकले वैध स्रोतबाट आर्जित अधिकतम अमेरिकी डलर १ हजार ५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा नगदमा राख्न पाउने मन्त्रालयले जनाएको छ । उल्लिखित कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको मन्त्रालयले जनाएको छ ।

यसैबीच अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपालका लागि यूरोपेली युनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डका राजदूतहरूसँग भेटघाट गर्दै नेपालको विकास यात्रामा विगत लामो समयदेखि साथ दिँदै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विशेषगरी सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायत क्षेत्रमा युरोपेली युनियनको उल्लेख्य योगदान रहेको बताउनुभयो। त्यस्तै, जर्मनी, फ्रान्स र फिनल्याण्डले स्वास्थ्य, पर्यटन, ऊर्जा र राजस्व क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्नुभयो ।