यतिखेर हाम्रो घर–आँगनमा दशैँको रौनक छ । कमाउन शहर पसेकाहरु, विदेश गएकाहरु आ–आफ्ना घर फर्कने क्रम चलिरहेको छ । खासमा भन्दा दशैँ त बाल्यावस्थाकै बढी रमाइलो हुने रहेछ । बाल्यकालमा हुने दशैँको रमाइलोमा अहिलेको भन्दा अर्गानिक भएको स्मरण हुन्छ ।
गाउँघरमा पिङ खेल्ने, मन्दिरमा पूजाआजा गर्ने, सराएँ नाच हेर्ने, घर, टोल, छिमेक मिलेर खसी काट्ने, केराघारीमा रहेका केराका काइँयाहरु डोको वा बोरामा असुराको पात राखेर पकाउने, जमरा राख्ने, घरमा रङ्गरोगन गर्ने लगायतका दशैँसँग जोडिएका कुराहरुले रोमाञ्चित गराउँथे । यसै गरी बडा दशमीको दिन घरमा टीकाटालो गरिसकेपछि आफन्तजन तथा गाउँटोलमा आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाउँदै, आशीर्वाद लिँदै हिँडेको रमाइलोपन मानसपटलमा अमिट भएर बसेको छ । अहिले भन्न मन लाग्छ– आहा ! ऊ बेलाको दशैँको रमाइलो ।
त्यसो त दशैँ अहिले पनि रमाइलो लाग्छ । कुन उमेर समूहका मानिसहरुलाई दशैँ नरमाइलो लाग्ला र ? दशैँको महिमा उमेर वा सामाजिक परिवर्तनले घट्दैन । घटाउनुहुँदैन । घटेको पनि छैन । बरु सामाजिकरुपमा यसको महत्व अझै बढेको पाइन्छ । दशंै पारिवारिकरुपमा मेलमिलापको महत्वपूर्ण पर्व हो ।
अहिले घर–घरबाट छोराछोरीहरु देश–विदेशका विभिन्न ठाउँहरुमा छरिएर बसेको अवस्था छ । लामो समयदेखि विछोड भएका परिवारका सदस्यहरु देश–परदेशबाट घरमा फर्काउने पर्व हो दशैँ । पछिल्लो दशकमा दशैँको अवसरमा घरमा फर्कने नेपालीहरुको भीड अझै बढेको देखिन्छ । कम से कम वर्षदिनमा भए पनि दशैँले पारिवारिक भेटघाट गराएको छ । पहिले भारतबाट लाहुरेहरु दशैँमा घर फर्कंदा गाउँघरमा चर्चा हुने गर्दथ्यो ।
अहिले नेपालीहरु भारतलगायत विश्वका धेरै देशहरुमा रोजगारीका लागि गएका छन् । उनीहरु चाँडो घर आउन नपाए तापनि दशैँको पर्खाइमा घर आउने दिन गनेर बसेका हुन्छन् ।दशैँको सांस्कृतिक महत्व पनि त्यत्तिकै महत्वपूर्ण छ । आश्वीन शुक्ल पक्षमा मनाइने दशैँ प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । यसमा पनि सबैभन्दा बढी महत्वपूर्ण सप्तमी, अष्टमी, नवमी र दशमीका दिनहरुलाई मानिन्छ ।
प्रतिपदामा हरेक घरमा दुर्गा भवानीको पूजाआजा गरी जमरा राख्ने चलन छ । नौं दिनसम्म नवदुर्गा भवानीको पूजा गरी दशमीका दिन टीका, प्रसाद ग्रहण गरेर यो पर्व मनाइन्छ । यस कोणबाट हेर्दा दशैँका सांस्कृतिक विधिहरु पनि अर्गानिकरुपमा नै अभ्यासमा रहेका छन् । पुस्तान्तरण भएका छन् ।समाज परिवर्तनशील छ । परिवर्तनलाई रोक्न सकिँदैन । तथापि समाजमा स्थिापित कतिपय सामाजिक, धार्मिक, सांस्कृतिक, पारिवारिक तथा मौलिक अभ्यासहरु आधुनिकताले छोप्नुहुँदैन । अन्यायमाथि न्यायको, दानवतामाथि देवताको, अमानवतामाथि मानवताको, अधर्ममाथि धर्मको, विभाजनमाथि एकताको, शत्रुमाथि मित्रताको र निराशामाथि आशाको प्रतीकको रुपमा बडा दशमीको महत्व छ । असत्यमाथि सत्यको विजयको खुशीयालीमा बडा दशमीको विषय जोडिएकोले दशैँको महत्व सधैँ रहिरहनेछ ।
बडा दशमीको पौराणिक किंवदन्तीअनुसार देवताहरुको समयमा शुम्भ, निशुम्भ, रक्तबीज र महिषासुरजस्ता असुरहरुले देव–मानवलाई दुःख दिए । यो दुःखबाट मुक्ति पाउनको लागि देवताहरुले दुर्गा भवानीको पूजा–आराधाना गरे । देवताहरुको पूजा आराधनाबाट प्रसन्न भई दुर्गा भवानी प्रकट भइन् र असुरहरुको वध गरी देवताहरुलाई रक्षा गरिन् भन्ने छ । असत्य तथा अत्याचारबाट दुर्गा भवानीले देवताहरुलाई रक्षा गरेको पौराणिक मान्यता छ । अहिले पनि समाजमा अन्याय, विभेद तथा अत्याचार व्याप्त छ । यस सन्दर्भमा दुर्गा भवानीको पूजा–आराधना गरेर समाजका विकृतिहरुको अन्त्य गर्ने आशीर्वाद प्राप्त गर्नुपर्दछ ।
दशमीको आर्थिक पक्ष पनि त्यत्तिकै महत्वपूर्ण छ । ‘दशैँ आयो खाउँला पिउँला’ भन्ने लोकोक्तिले पनि दशैँलाई नेपाली समाजले मीठो–मसिनो खाने, राम्रो लगाउने पर्वका रुपमा लिने गरेको पुष्टि हुन्छ । त्यसो त अहिले खानपिन गर्न, नयाँ लुगा लगाउनको लागि दशमी नै कुरिरहनुपर्ने अवस्था छैन ।
हुनेखानेको लागि आर्थिकरुपमा बाह्रै महिना दशैँजस्तै छ । हुँदा खाने वर्गले अझै पनि अभावमा जीवन जिउनुपरेको छ । नेपाली समाजमा ऋण खोजेर दशैँ मनाउनेहरुको संख्या ठूलो छ । समाजमा अझै पनि १८ प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । यो वर्गको लागि दशैँ दशाको रुपमा आउने गर्दछ । ‘आयो दशैँ ढोल बजाई गयो दशैँ ऋण बोकाई’ भन्ने लोकोक्तिको अर्थ पनि गरिब वर्गलाई दशैँले ऋण बोकाउँछ भन्ने हो । दशैँलाई ऋण खोजेर भन्दा पनि मितव्ययीरुपमा मनाउनुपर्दछ ।
वर्षदिनमा आउने बडा दशमीमा राम्रो लगाउने, मीठो खाने रहर हुनु स्वाभाविक हो । परन्तु दशैँमा लगाएको ऋणले वर्षभरि तिर्न पर्ने अवस्था सिर्जना गर्नुहुँदैन । देखासिकी, तडकभडक गर्ने, अरुलाई देखाउनको लागि अनावश्यक खर्च गर्ने बानी विवेकसम्मत कार्य होइन । दशैँलाई आफ्नो गच्छेअनुसार मनाउनुपर्दछ । दशैँलाई पारिवारिक, मिलन, सामाजिक सद्भाव र दुर्गा भवानी आशिर्वाद ग्रहण गर्ने उद्देश्यका साथ शुद्ध मनले मनाउनुपर्दछ ।
आधुनिक समाजको निर्माण प्रक्रियासँगै बडा दशमीको कतिपय मौलिक तथा सांस्कृतिक अभ्यासहरुमा परिवर्तन आएको देखिन्छ । दशैँ भड्किलो, खर्चिलो तथा महँगो बन्दै गएको छ । दशमीको उत्सवमा मादकपदार्थ सेवन गर्ने, ऋण खोजेर भए पनि अनावश्यक खर्च गर्ने कार्यहरु बढिरहेको अवस्था छ । समाजले यसो गर्नुहुँदैन, घाँटी हेरेर हाड निल्नुपर्दछ भन्ने लोकोक्तिले आफ्नो क्षमताअनुसार खर्च गर्नुपर्दछ भन्ने सन्देश दिन्छ । दशमीको नाममा सामाजिक विकृतिहरु पनि बढेर गएको छ । दशैँको मौका छोपेर पैसा कमाउने अभ्यास पनि समाजमा छ । दशैँको अवसरलाई आयआर्जनको माध्यम बनाउने व्यापारी, साहु, महाजनहरुले कालो बजारी, तस्करी गर्ने गरेको जनगुनासो आउने गरेको छ ।
दशैँ पर्वको अर्को धार्मिक पक्षसँग पशुबलि पनि जोडिएको छ । त्यसो त पशुपक्षीहरुको वध गर्ने कुरालाई राम्रो मानिदैन । तथापि परम्परादेखि देशका हिन्दू शक्तिपीठहरुमा हजारौंको संख्यामा पशुपक्षीहरुलाई बलि दिने चलन चली आएको छ । पछिल्लो समयमा पशुबलिको अन्त्य गर्नुपर्ने कुरा पशु अधिकारकर्मीलगायत साकाहारी अभियन्ताहरुले अभियानको रुपमा उठाउने गरेका छन् ।
तथापि दशैँलाई मासुको पर्व पनि भन्ने गरिन्छ । प्रायजसो घरमा खसी वध गरी मासु खाने चलन बढ्दोरुपमा छ । पशु वध नगर्ने संस्कृतिको विकास गर्दै जानु पशुपक्षीहरुप्रति न्याय गर्नु हो भन्नेमा सबैको एकमत हुन सक्नु राम्रो कुरा हो ।दशैँ असत्य एवं कुकृत्यमाथि सत्य र सत्कर्मको विजयका रुपमा मनाउने पर्व हो । दुर्गा भवानीको आशीर्वादले समाजमा रहेको भड्किलोपन, आडम्बर, लोभ, लालच, ईष्र्या, भ्रष्टाचार, अहंता, दुर्भावना, हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक चिन्तनहरुको बलि दिन सकांै ।
दुर्गा माताले हरेक व्यक्तिलाई सादा जीवन उच्च विचार, अहिंसात्मक भावना तथा मानवीय व्यवहार गर्न सक्ने क्षमता प्रदान गरुन् । हामी सबैले विजया दशमीलाई असत्यको बाटो त्यागी सत्यको मार्गमा लाग्ने पे्ररणाको रुपमा लिन सक्नुपर्दछ ।
अन्त्यमा देवताको युगमा देवताहरुले र त्रेतायुगमा भगवान् रामचन्द्रले शक्तिरुपिणी दुर्गा भवानीको पूजा, आराधना गरी उनको कृपाले असत्यमाथि सत्यको विजय प्राप्त गरेजस्तै नवदुर्गा भावानीको पूजा–आराधना गरी व्यक्ति तथा समाजमा रहेका विकृति तथा दुष्कर्महरुको अन्त्य गर्न आशीर्वाद मिलोस् । विजया दशमीको अर्गानिक पक्षलाई आधुनिकताले नबिगारोस् । समाजमा बढ्दै गएको लोभानी, पापानी कर्मको अन्त्य हुन सकोस् । हामी सबैलाई दुर्गा भवानीले सत्मार्गमा हिँड्न सक्ने क्षमता र सद्बुद्घि प्रदान गरुन् । जय दुर्गा भवानी !











प्रतिक्रिया