हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडादशैँ घर–आँगनमा आइसकेको छ । यो चाडको धार्मिक पक्ष र महत्व आफ्नै ठाउँमा छ, त्योभन्दा ठूलो यसको सांस्कृतिक पक्ष पनि छ, जसले गर्दा दशैँ हिन्दूहरुको मात्र नभई गैरहिन्दूहरुको लागि पनि एउटा महत्वपूर्ण चाडको रुपमा मानिदै र स्थापित हुँदै आएको छ । खासगरी दशैँ आफन्तहरुसँग भेटघाट गर्ने, मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गर्ने एउटा महत्वपूर्ण अवसर पनि होे । त्यसबाहेक, दुःखजिलो गरेर भए पनि मीठो–मसिनो खाने चाडको रुपमा लामो समयदेखि स्थापित परम्परा पनि हो दशैँ ।
हिन्दू धर्मावलम्बीहरुको महान् पर्व दशैँ घर–घरमा भित्रिसकेको छ । दशैँमा प्रायः अरु समयभन्दा बढी माछामासु र खानाका परिकार खाने गरिन्छ । अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पना पनि गर्न सकिँदैन । दशैँमा साकाहारीबाहेक मासु नखाने कमै हुने गर्छन् । मासु खाँदा स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्छ ।
साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत हो तर मासुमा कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलितरूपमा सेवन गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ । चाडपर्वमा मासु खानै नहुने भन्ने होइन, रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने पनि होइन तर त्यसको मात्रा मिलाएर खानुपर्छ । मुटुको समस्या, मिर्गौला रोगी, कोलेस्टेरोल भएका व्यक्तिहरुले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ ।
कस्तो मासु कति खाने ?
मासुका पनि विभिन्न प्रकार हुन्छन् । कलिलो, कडा, हड्डी धेरै भएको, बोसो धेरै भएको विभिन्न किसिमको हुन्छ मासु । कलिलो खसी, बोका वा राँगाको मासु पचाउन अलि सजिलो हुन्छ भने कडा, रेसादार, रातो मासु पच्न धेरै समय लाग्छ । यसबाहेक रातो मासुभन्दा बरु कुखुराको मासु, माछा खानु राम्रो हुन्छ ।
चाडपर्वको समयमा जमघट र भोजनले रमाइलो माहोल बन्ने गर्छ । अझ मासुका परिकारले जमघटलाई अझ विशेष बनाइदिन्छ । तर हामीले हाम्रो स्वाथ्यको ख्याल पनि गर्नुपर्छ । हामीले खाने खाना हाम्रो शरीरले पचाउन सक्ने हुनुपर्छ । हाम्रो जीवनशैली फेरिएको छ । पहिले–पहिले दशैँ वा चाडपर्वमा मात्र माछामासु खाने गरिन्थ्यो । मासु खाएपछि पनि हामी कसरत हुने गरी काम गर्ने र बढीभन्दा बढी हिँड्थ्यौँ तर अहिले हामी हिँड्नै छाडेका छौँ । अहिले सवारीसाधनको सुविधा छ । त्यसकारण हामीले खाएको खाना पच्नै पाउँदैन र शरीरमै स्टोर भएर बस्छ, जसबाट मोटोपनाको समस्या देखिन्छ ।
खाना खाँदा सकेसम्म अड्कलेर खानुपर्छ । मानिसले दैनिक २ सय ग्राम मासु खाएमा दैनिक प्रोटिनको आवश्यकता पुरा हुन्छ । सामान्यतयाः एक केजी तौल छ भने एक ग्राम मासु दैनिक प्रोटिनका लागि पर्याप्त हुन्छ । यस हिसाबले ६० किलो तौल भएको मानिसले ६० ग्राम मासु खाँदा त्यस दिनका लागि प्रोटिनको मात्रा पुग्छ । सँगै प्रोटिनयुक्त अन्य खाना पनि खाने भएकाले अझ घटाउन पनि आवश्यक छ ।
मासु धेरै खाँदा के हुन्छ ?
एउटा काम नसक्दै अर्को काम थुपार्दा त्यसलाई सम्पन्न गर्न गाह्रो हुन्छ । त्यस्तै दशैँको बेला धेरै मासु खाँदा पेट र कलेजोमा त्यस्तै भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचन प्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन । जसका कारण अपच भएर झाडापखाला लाग्न पनि सक्छ ।
कलेजोको काम खानालाई पचाउने हो । अन्य खानेकुराभन्दा मासु पचाउन समय लाग्छ, किनकि यो प्रोटिनको मुख्य स्रोत हो । दशैँको बेलामा मासु अत्यधिक मात्रामा सेवन गर्दा कलेजोले मासुलाई पचाउन सकेको हुँदैन । त्यसमाथि रक्सीसँग मासु थप खाइरहेका हुन्छन् । यसले रक्सी र मासु दुवैलाई पचाउन कलेजोले जोडतोडका साथ काम गरेको हुन्छ ।
त्यस्तै सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुट्टै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।
यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या, कब्जियतलगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्य्राइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।
मासु पचाउन सजिलो कसरी बनाउने ?
तेल, मरमसला कम राखेर कुकरमा पकाएको मासु पचाउन सजिलो हुन्छ । तर दशैँमा मासु यसरी झोल बनाएर वा नरम बनाएरभन्दा पनि पोलेर, तारेर, फ्राइ गरेर धेरै खाने चलन छ । पोलेर, फ्राइ गरेर खाँदा मासु राम्रोसँग नपाकेको पनि हुन सक्छ । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्ने हुँदा चपाउन गाह्रो हुने हुन्छ । यसले गर्दा आमाशयमा ठूलो टुक्रा मासु भएपछि पचाउन ढिलो हुन्छ ।
मासुको टुक्रा स–साना बनाई सुपजस्तै गरी पकाएर खाएमा पचाउन सजिलो हुन्छ । मासु पकाएर भन्दा उसिनेर खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । किनकि उसिनेको मासुमा बोसो कम हुने र तेल, मसलासमेत कम हुने हुँदा शरीरलाई बेफाइदा गर्दैन । त्यस्तै मासुका साथै फाइबरयुक्त खानेकुरा पनि मिलाएर खाएमा अझ लाभदायक हुन्छ । बालबालिका र वृद्धवृद्धाको पाचन प्रक्रिया कमजोर हुने भएकाले उनीहरुले मासुजन्य परिकार कम सेवन गर्नु उपयुक्त हुन्छ । धेरै खाएमा नपचेर कब्जियत, पेट गडबडी हुने र मलद्वारमा समेत समस्या हुन सक्छ ।
कलेजोका बिरामी विशेष गरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तिने हो । चाडबाडको समयमा खानामा ध्यान नदिँदा कलेजो बिग्रिन सक्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ ।
प्रोटिनले शरीरलाई सुख्खा बनाउने भएकाले प्रशस्त पानी पिउनुपर्ने हुन्छ । मासु खाएपछि कागती–पानी पिउँदा मासुलाई पचाउन अझ सहज हुने गर्छ । रगतमा चिल्लोको मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुन्जेल दुःख पाउन सकिन्छ । दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ ।
नेपालका मासु पसलहरूमा भएका लापरबाहीको कारण मानिसहरूमा धेरैजसो ब्याक्टेरियाको संक्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने गरेको चिकित्सकहरू बताउँछन् । फोहोर वधशाला, मासुको तयारी र रखवारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरू सर्ने माध्यम बनेको पाइन्छ ।
यी र यस्तै कारणहरुले गर्दा विभिन्न किसिमका चाडहरु मनाउनेबित्तिकै मानिसहरूको अस्पताल भर्ना हुने संख्या निकै बढेको पाइन्छ । चाडबाडका समयमा धेरै ‘फुड प्वाइजन’का बिमारीहरू अस्पताल आउने गरेको वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पतालको तथ्यांकले देखाउँछ ।
सही ढंगले मासु र अन्य परिकार नपकाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अजीर्ण तथा अपच भई तत्कालै पेट फुल्नेलगायतका लक्षणहरू देखिन थाल्छ । यस्तो भएमा घरमै उपचार गर्नुका सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरुमा गएर जँचाइहाल्नुपर्छ ।
यस्ता विभिन्न प्रकारका रोगहरुबाट बच्न तपाईंहरुको व्यक्तिगत सरसफाइ, तपाईंहरुले सेवन गर्ने पकाएका वा काँचो खानेकुरा कसरी सुरक्षा गर्ने भन्ने ज्ञानको कमी हो । यसपालिको दशैँमा आफ्नो स्वास्थ्यको ध्यान कसरी राखी आफ्ना पाहुनाको स्वास्थ्यमा समेत कसरी प्रभाव पार्न नदिने हो भन्ने विषयमा केही साधारण कुरामा ध्यान दिन सकिएमा उपचार खर्चका ठूलो जोखिम कम गर्न सकिन्छ ।
दशैँका लागि खसीबोका किन्दादेखि नै हामीले केही आधारभूत कुरामा ध्यान दियौँ भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसीबोका किन्नुहुँदैन । खसीबोका बिमारी भएको बेला यस्ता लक्षण देखाउने गर्छन् । अहिले काठमाडौंमा भित्रिने खसीबोकाहरुलाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रंग दलिदिने गरिएको छ ।
सिङमा हरियो रंग पोतिएका खसीबोका स्वस्थ हुन् भने रातो रंग दलिएका खसीबोका अस्वस्थ हुन्छन् ।मासु एक पौष्टिक आहार हो । यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । यी तत्वहरू हाम्रो शरीरको लागि अति आवश्यक तत्वहरू हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर सही र सन्तुलित ढंगले उपभोग नगरेको खण्डमा मासुबाट प्राप्त हुने तत्वहरू त्यति सजिलैसँग प्राप्त गर्न सकिँदैन । यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढंगले मासु राख्न नजानेमा पनि त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने र सर्ने खतरा उत्तिकै रहन्छ ।
(लेखक डा. कार्की वरिष्ठ पशुचिकित्सक हुनुहुन्छ ।)











प्रतिक्रिया