ऐतिहासिक खेलमा नेपाली क्रिकेटको ऐतिहासिक जित

पहिलोपटक आईसीसीको पूर्ण सदस्यमाथि नेपाली टोली विजयी

2.26k
Shares

काठमाडौं ।

टी–२० विश्वकप खेलेको झण्डै एक दशकपछि नेपाली पुरुष क्रिकेट टोलीले पहिलो पटक आईसीसीको पूर्ण सदस्य टोलीलाई हराएर इतिहास रच्न सफल भएको छ । शनिवार दुबईमा भएको वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली टोलीले ऐतिहासिक जित निकालेको हो ।

नेपालले आईसीसीको पूर्ण सदस्य टोलीसँग पहिलोपटक दुईपक्षीय शृंखला खेलेको हो । यस हिसाबमा यो नेपाली क्रिकेटको लागि ऐतिहासिक खेल पनि हो । नेपालले यसअघिसम्म अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का कुनै पनि पूर्ण सदस्य टोलीलाई हराउन सकेको पनि थिएन ।

नेपालले गत टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराउने स्थितिमा पुगिसकेको थियो । तर, त्यसबेला अलिकति तालमेल नमिल्दा नेपालले इतिहास रच्न विफल भएको थियो । त्यो खेलमा नेपाल केवल १ रनले हारेको थियो ।यस्तै, नेपालले आईसीसीका अरू पूर्ण सदस्य टोलीहरू बंगलादेश, जिम्बावे, भारत र पाकिस्तानसँग पनि खेल्यो तर, जित भने हात पार्न सकेन ।

वेस्ट इन्डिजविरुद्ध भने नेपालले जित हासिल गर्दै ढिलै भए पनि इतिहास रचेको छ । वेस्ट इन्डिज दुईपटकको टी–२० विश्वकपको विजेता टोलीसमेत हो । यस अर्थमा यो जित नेपालको लागि ठूलै उपलब्धिको रूपमा रहेको छ ।
यो जितलाई नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले जेन–जी आन्दोलनमा सहिद भएका तथा घाइते भएका भाइ

बहिनीहरूप्रति समर्पित गर्नुभएको छ । यस सफलतामा सामाजिक सञ्जालमार्फत् क्रिकेटसँगै अन्य खेलका पदाधिकारी र खेलाडीहरूले क्रिकेट टोलीलाई बधाई दिनु भएको छ । यसले सावित गर्छ कि क्रिकेटको सफलता नेपालको सम्पूर्ण खेलको सफलता हो भन्ने सन्देश प्रवाह भएको छ ।

आईसीसीका पूर्ण सदस्यमा १२ टोली

आईसीसीका पूर्ण सदस्य हुनको लागि टेस्ट, टी–२० र एकदिवसीय क्रिकेट तीनै फरम्याट खेल्ने पाउने अधिकार रहेको हुन्छ । अहिलेसम्म अस्टे«लिया, भारत, पाकिस्तान, इग्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र आयरल्यान्ड गरी १२ टोलीहरू आईसीसीका पूर्ण सदस्यमा रहेका छन् । यी टोलीहरू विश्वकप वा प्रमुख प्रतियोगिताहरूमा स्वतः छनोट हुने प्रावधान रहेको छ । नेपाल आईसीसीको एसोसिएट टोली भएको हुनाले विश्वकप वा प्रमुख प्रतियोगिता खेल्न छनोट चरणहरू खेल्नुपर्ने हुन्छ ।

नेपाललाई १–० को अग्रता

यो जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । शृंखलाअन्तर्गत दोस्रो खेल आज सोमबार हुनेछ । यूएईको सारजहाँ क्रिकेट मैदानमा नेपालले त्यति ठूलो स्कोर पनि गरेका थिएन । मात्र १ सय ४८ रन बनाएको थियो ।
यो रन पार गर्न दुई पटकको टी–२० विश्व च्याम्पियन वेस्ट इन्डिजको लागि कुनै ठूलो कुरो पनि होइन । तर, नेपाली बलरले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्न सफल भयो । २० ओभरसम्म ब्याटिङ गरे पनि वेस्ट इन्डिजले १ सय २९ रन मात्रै बनाउन सकेको थियो ।

नवीन बिदैसीले २२ रन बनाउनु नै वेस्ट इन्डिजका लागि सर्वाधिक योगदान सावित भएको थियो । नेपाली बलरमा कुशल भुर्तेलले दुई विकेट लिनुभयो । यस्तै, दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र कप्तान रोहित पौडेलले समान एक विकेट लिनुभयो ।

यसअघि नेपालको ब्याटिङमा खासै राम्रो भएको थिएन । नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षति बेहोर्दै १ सय ४८ रन बनाएको थियो । नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेल्नुभयो । रोहितले सर्वाधिक ३८ रनको योगदान दिनुभएको थियो ।

तर, अन्य ब्याटरमा कुशल मल्लचाहिँ चम्किनुभयो । उहाँले ३० रन बनाउनुभएको थियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक चार विकेट लिनुभयो । यस्तै, नवीन बिदैसीले ३ विकेट र कप्तान अकिल होसेनले एक विकेट लिनुभएको थियो ।