पूर्व प्रधानमन्त्री, गृहमन्त्रीलगायत पाँच उच्चपदस्थको राहदानी रोक्न सिफारिस

पाँचै जना अनुसन्धानको दायरामा


–उपत्यका छोड्न नपाउने
–जुनसुकै बेला बयानमा बोलाइने

काठमाडौं

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धमा छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न र उपत्यका बाहिर जान रोक लगाउन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले उहाँहरूमाथि छानबिन थाल्दै यस्तो निर्णय गरेको हो ।

आयोगको आइतबार बसेको बैठकले ओली, लेखकसहित तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतको रहदानी रोक्का गर्न तथा उहाँहरूमाथि उपत्यका छाड्न रोक लगाउने व्यवस्था मिलाउन सरकारसमक्ष सिफारिस गरेको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २३ र २४ भदौमा भएको हत्या, तोडफोड, आगजनी र विध्वंशमा संलग्न दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्ने माग उठिरहेको बेला जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीलगायत पाँच जनामाथि छानबिन प्रक्रिया अघि बढाउँदै उनीहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको हो ।

आयोगका अनुसार राहदानी रोक्काका लागि सिफारिस गरिएका सबै जना अनुसन्धानको दायरामा रहेका छन् । आयोगले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखकलगायत पाँचै जनालाई आयोगको स्वीकृतबेगर काठमाडांै उपत्यका नछोड्न भनिसकेको छ । आयोगले छानबिनका क्रममा उनीहरू कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतबेगर काठमाडांै उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको हो ।