बनेपा, काभ्रे
दशैंको आगमनसँगै बनेपा बजारमा चहलपहल अत्यधिक बढेको छ। काभ्रेको व्यापारिक केन्द्र बनेपामा अहिलेको भीडभाड काभ्रे मात्र नभई सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली हुँदै जनकपुरसम्मका यात्रु र व्यापारीहरूले भरिएको छ। दशैं मनाउन गाउँ फर्किनेको लहरसँगै बनेपामा यात्रु र सवारी साधनको बाक्लो आवागमन देखिएको छ।

काठमाडौंबाट हजारौंको संख्यामा यात्रुहरू सार्वजनिक तथा निजी सवारी साधनमार्फत पूर्वी जिल्लातर्फ गइरहेका छन्। बनेपा बजार ती सबैको आवतजावत र किनमेलको मुख्य केन्द्रको रूपमा देखिएको छ।

बजारमा खाद्यान्न, लुगा, जुत्ता–चप्पलदेखि लिएर सजावटका सामानहरू किन्नेहरूको भीड लागिरहेको छ। यस्तो भिडमा किन्ने र बेच्ने मात्र होइन, माग्ने र मौका छोपी पकेटमार गर्नेहरूको गतिविधि पनि उत्तिकै सक्रिय देखिन्छ।
बजारमा भीडको फाइदा उठाउँदै चोरी गर्नेहरूका गतिविधि नियन्त्रणमा कडाइ।

दशैं केवल पर्व मात्र नभई नेपाली समाजमा पारिवारिक भेटघाट, आस्थाको पुनर्जागरण र आपसी स्नेहको समय हो। कसैले घर फर्केर आमा–बुवाको हातबाट टीका थाप्न पर्खिरहेका छन् भने कसैले बजारमा परिवारको लागि नयाँ लुगा किन्न चाहिरहेका छन्।
यही माहोलमा पनि समाजका सबै वर्गले खुसीपूर्वक, सभ्य र मर्यादित तवरले पर्व मनाउने हो भने दशैं साँच्चै सवैका लागि दिगो खुसीको माध्यम बन्न सक्छ।











प्रतिक्रिया