गण्डकीका मुख्यमन्त्री पाण्डेको निवासमा फेरि आगजनी


काठमाडौँ।

गण्डकी प्रेदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बस्ने सरकारी निवासमा पुन: आगजनी भएको छ । गए राति करिब साढे २ बजेको समयमा अज्ञात व्यक्तिहरूले पहिले नै आगजनीमा परेको निवासमा फेरि आगो लगाएका हुन् ।

उक्त भवन यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको थियो। त्यसपछिको अवस्था मूल्याङ्कन गर्न प्रदेश सरकारले एक प्राविधिक समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार भवन मर्मतपछि प्रयोग गर्न सकिने ठहर भएको थियो, र सरकार त्यसको मर्मतको तयारीमा थियो। तर मर्मत सुरु हुनुअघि नै भवनमा पुनः आगजनी भएको हो।

पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो । सोही कोठामा जल्न बाँकी भएका सामानहरू राखिएको थियो ।

त्यही आन्दोलन सम्बद्ध समूहले नै जलाएको हो कि भन्ने आशंका गरिएको छ। आगजनीपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

जेनजी प्रदर्शनको आगजनीमा परेका गण्डकी प्रदेशमा १२ वटा कार्यालय प्रयोग गर्नै नमिल्ने गरी ध्वस्त बनेका छन् । ४८ भवनमा क्षति पुगेको छ । सरकारले उक्त आन्दोलनका कारण प्रदेशका संरचनामा मात्रै दुई अर्बको क्षति पुगेको निष्कर्ष निकालेको छ ।