काठमाडौं ।
नेपालमा भएको राजनीतिक परिवर्तनपश्चात सरकारको आर्थिक कार्यदिशा र प्राथमिकताबारे जानकारी गराउन दातृ निकायका प्रमुखहरूसँगको बैठक सम्पन्न भएको छ । बैठकमा विभिन्न देशका नेपालस्थित राजदूत, संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रमुख तथा प्रतिनिधि, द्विपक्षीय र बहुपक्षीय विकास साझेदारका प्रतिनिधिहरूको सहभागिता थियो ।
बैठकमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास साझेदारहरूले नेपालको आर्थिक तथा सामाजिक विकासमा पु¥याएको योगदानप्रति आभार व्यक्त गर्दै अन्तरिम सरकारले पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापनामा पूर्ण प्रतिबद्धता जनाएको बताउनुभयो। उहाँले आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको स्वीकार गर्दै अनुपयुक्त खर्च कटौती र मितव्ययीता अपनाएर पुनर्निर्माण र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिने जानकारी दिनुभयो ।
विकास साझेदारहरूको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसीआरका प्रतिनिधि, जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूत, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन तथा विश्व खाद्य कार्यक्रमका प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए ।
साझेदारहरूले नेपालको वर्तमान अवस्थाबारे आफूहरू जानकार रहेको जनाउँदै सरकारका नीति तथा कार्यक्रमप्रति सहमति प्रकट गरे । साथै, चालु आयोजनाहरूलाई निरन्तरता दिने र आवश्यक परे थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैं तयार रहने प्रतिबद्धता जनाए ।











प्रतिक्रिया