कास्की ।
पर्यटन सिजनको सुरुवातसँगै पोखराको पर्यटन क्षेत्रमा अपेक्षित रौनक आउने आशा गरिएको थियो । तर, जेन–जी आन्दोलन सुरु भएपछि त्यहाँको पर्यटन व्यवसाय गम्भीर संकटमा परेको छ । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण पोखरा पर्यटन धुवाँको मुस्लोमा मडारियो ।
पर्यटन व्यवसायीका अनुसार सिजनमा कम्तीमा ७० प्रतिशत बुकिङ हुने अपेक्षा भए पनि हाल मात्र १० प्रतिशतकै हाराहारीमा बुकिङ भएको छ । पोखरालाई ‘भ्रमण वर्ष २०२५’ घोषणा गरिएको र त्यसअन्तर्गत पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमको तयारी भइरहेको बेला आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिले सम्पूर्ण योजनामा नकारात्मक असर पारेको हो ।
पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवं पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार सरकारले शान्ति सुरक्षा सुनिश्चित नगरेसम्म विदेशी पर्यटक भित्रिने सम्भावना न्यून छ । ‘पर्यटक आउँदा स्वागत गर्न व्यवसायी तयार छन्, तर वातावरण अनुकूल छैन,’ उहाँले भन्नुभयो । पर्यटन व्यवसायीहरूले विदेशी कूटनीतिक नियोगहरूले पनि आफ्ना नागरिकलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरिरहेको बताएका छन् । ‘शान्ति सुरक्षाको प्रत्याभूति दिनु सरकारको जिम्मेवारी हो, संघसंस्थाले मात्र भन्नु पर्याप्त हुँदैन,’ भट्टराईले स्पष्ट पार्नुभयो ।
आन्दोलनकै क्रममा पोखराकै प्रतिष्ठित होटल सरोबरसहित बरविपल रिसोर्ट, होटल गुडविल, बगैंचा रिसोर्ट एण्ड स्पामा आगजनी र तोडफोड भएको थियो । होटल सरोबरका प्रबन्ध निर्देशक प्रा.डा. भरत पहारीले हाल सरसफाइ सकिएको र भत्किएको संरचना पुनर्निर्माण सुरु भइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब ७० करोड खर्च गरेर केही महिनाभित्रै होटल पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले होटल क्षेत्रमा मात्रै ३ अर्ब रुपियाँभन्दा बढी भौतिक क्षति भएको प्रारम्भिक आकलन प्रस्तुत गर्नुभयो । उहाँले पर्यटन उद्योगले नेपाललाई रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र समग्र आर्थिक समृद्धिमा ठूलो योगदान दिँदै आएको उल्लेख गर्दै वर्तमान अवस्थाबाट पुनःउत्थान अपरिहार्य भएको बताउनुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले सात खर्बभन्दा बढी लगानी भइसकेको पोखराको पर्यटन उद्योग अहिले सुनसान बनेको दाबी गर्नुभयो । उहाँले पर्यटन सिजनको आरम्भमै बुकिङ रद्द हुन थालेकाले व्यवसाय गम्भीर संकटमा परेको उल्लेख गर्दै तत्काल सरकारी पहल आवश्यक भएको बताउनुभयो । व्यवसायीहरूका अनुसार, आन्तरिक पर्यटकसमेत पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सहज रूपमा पोखरा पुग्न सकिरहेका छैनन् । यसले पनि पर्यटनको संकट थप गहिरो बनाएको छ ।











प्रतिक्रिया