अभिमन्यूका पुत्र परीक्षित राजा भए । परीक्षितपछि उनका पुत्र जन्मेजय राजा भए । एकदिन जन्मेजय महर्षि वेदव्याससँग बसिरहेको समयमा बातचितको सन्दर्भमा अलिक रिसाउँदै जन्मेजयले महर्षि वेदव्यासलाई भने, ‘तपाईंजस्तो सक्षम र भगवान् श्रीकृष्ण, भीष्म पितामह, गुरु द्रोणाचार्य, कुलगुरु कृपाचार्य, धर्मराज युधिष्ठिरजस्ता हस्तीहरु उपस्थित भइरहेको हुँदाहुँदै महाभारत युद्ध गर्नुअघि किन रोकथाम गर्न सक्नुभएन, हेर्दाहेर्दै अपार जनधनको क्षति हुन गयो । यदि म भइदिएको भए त्यस समयमा मैले आफ्नो पुरुषार्थले यो विनाश हुनुअघि नै रोकिदिने थिएँ ।’
जन्मेजयका अहंकारले भरिएको यस्ता कुरा सुनेर महर्षि व्यास शान्त भए । अनि भने, ‘पुत्र, आफ्ना पूर्वजहरुको क्षमतामा शंका नगर्नु, यो त विधिले निश्चित गरी राखेको हो, जुन बदल्न सकिँदैन । यदि यस्तो हुन सक्ने भए श्रीकृष्णसँग यति सामथ्र्य थियो कि उनले त्यो युद्ध रोक्न सक्ने थिए ।’
व्यासको कुरा सुनेर पनि जन्मेजय आफ्नो कुरामा अडिग भइरहे । उनले भने, ‘मैले यो सिद्धान्तलाई मान्न सक्दिन । तपाईं त भविष्यवक्ता हुनुहुन्छ नि, मेरो जीवनमा हुने कुनै पनि घटनालाई बताइदिनोस् । म त्यसलाई रोकेर प्रमाणित गरिदिनेछु कि विधिको विधान निश्चित हुँदैन ।’
महर्षि व्यासले भने, ‘पुत्र, यदि तिमीले यही चाहेको हो भने लौ सुन– केही वर्षपछि तिमी कालो घोडामा बसेर सिकार गर्न जानेछौ अनि दक्षिण दिशाको समुद्रको किनारमा पुग्नेछौ । त्यहाँ तिमीले एउटी राम्री युवती भेट्नेछौ अनि उनलाई तिमीले आफ्नो दरबारमा ल्याएर उनैसँग विवाह गर्नेछौ । मैले तिमीलाई रोक्ने छु, यसो नगर भनेर । तर तिमीले त्यो सबै गर्छौ अनि ती युवतीले भनेबमोजिम तिमीले एउटा यज्ञ गर्नेछौ । मैले तिमीलाई आदेश दिन्छु कि यो यज्ञ एउटा बूढो ब्राह्मणद्वारा गर तर तिमीले एउटा युवा ब्राह्मणद्वारा यज्ञ गराउनेछौ ।’
जन्मेजयले हाँसेर महर्षि व्यासको कुरा काट्दै भन्छन्, ‘मैले आजैबाट कालो घोडा चढ्दिन अनि यो सबै घटना हुनेछैन ।’ जन्मेजयका यस्ता कुरा सुनेर महर्षि व्यासले भने, ‘यो सबै हुन्छ अनि त्यसपछि के हुन्छ सबै सुन– ती रानीले भनेबमोजिम तिमीले ती युवा ब्राह्मणलाई प्राणदण्ड दिनेछौ, जसको परिणामस्वरुप तिमीलाई ब्रह्महत्याको पाप लाग्नेछ अनि तिमीलाई कुष्ठरोग हुनेछ । त्यही तिम्रो मृत्युको कारण हुनेछ । यो घटनाक्रमलाई रोक्न सक्छौ भने रोक ।’
वेदव्यासका यस्ता कुरा सुनेर जन्मेजयले सिकारमा जानै छोडिदिए । तर जब हुने वेला आयो जन्मेजयलाई सिकार जाने तीव्र इच्छा भयो । उनले सोचे कि कालो घोडा चढ्दिन । संयोगले त्यो दिन तबेलामा कालो घोडा मात्र रहेछ । कालो घोडा भए पनि म दक्षिण दिशामा जान्न भन्दै त्यही कालो घोडा चढेर जन्मेजय सिकारमा गए । तर घोडा अनियन्त्रित भएर दक्षिण दिशातर्फ नै गयो अनि समुद्रको किनारमा पुग्यो । त्यहाँ उनले एउटी सुन्दरी देखे । अनि उनीसँग मोहित हुन पुगे । जन्मेजयले सोचे– यिनलाई दरबारमा लान्छु तर बिहेचाहिँ गर्दिन । दरबारमा ल्याइसकेपछि उनको प्रेममा परेर उनैसँग विवाह गर्न पुगे । अनि उनै रानीले भनेजस्तै जन्मेजयले यज्ञ पनि गरे । त्यस यज्ञमा युवा ब्राह्मण नै राखे ।
कुनै कुरामा ती युवा ब्राह्मण रानीलाई देखेर हाँस्न थाले । रानी रिसाएर ती युवालाई प्राणदण्ड दिन राजासँग विन्ती गरिन् । रानीले भनेबमोजिम राजा जन्मेजयले ती युवा ब्राह्मणलाई प्राणदण्डको सजाय दिए । यसले गर्दा जन्मेजयलाई ब्रह्महत्याको पाप लाग्यो । परिणामस्वरुप राजा जन्मेजयलाई कुष्ठरोग भयो ।
यति भइसकेपछि हस्याङफस्याङ गर्दै जन्मेजय वेदव्यासको आश्रममा गए । उनले आफ्नो प्राण बचाउन वेदव्याससँग प्रार्थना गरे । जम्मेजयको अनुरोधलाई स्वीकार गर्दै वेदव्यासले भने, ‘एउटा अन्तिम अवसर छ तिम्रो प्राण बचाउने । त्यो उपाय म बताउँछु । सर्वप्रथम म तिमीलाई महाभारतमा भएको घटना सुनाउँछु, जुन तिमीले श्रद्धा र विश्वासका साथ सुन्नु, जसले गर्दा तिम्रो कुष्ठरोग निको हुनेछ । यदि एउटा पनि प्रसंगमा तिमीले अविश्वास ग¥यौ भने मैले महाभारतको प्रसंग रोक्नेछु । त्यसपछि मैले पनि तिम्रो जीवन बचाउन सक्नेछैन । स्मरण रहोस्, अब तिमीसँग यही अन्तिम अवसर छ ।’
अब भने राजा जन्मेजयलाई वेदव्यासको कुरामा पूरा विश्वास भइसक्यो । जसले गर्दा उनले पूरा श्रद्धा र विश्वास गरेर कथा सुन्न थाले । वेदव्यासले कथा भन्न शुरु गरे । उनले भीमको बलको प्रसंग सुनाए । जसमा भीमले हात्तीको सुँढमा समाएर घुमाउँदै अन्तरिक्षमा फ्याँकिदिए । त्यो हात्ती आजसम्म पनि अन्तरिक्षमा घुमिरहेकै छ । यो कुरा सुन्नेबित्तिकै जन्मेजयले आफूलाई रोक्न सकेनन् अनि भनिहाले, ‘यो कसरी सम्भव हुन्छ ? म यो मान्न सक्दिन ।’
वेदव्यासले महाभारतको प्रसंग रोके अनि भने, ‘मैले तिमीलाई कतिपटक सम्झाइसकेको छु कि अविश्वास नगर्नु भनेर तर तिमीले आफ्नो स्वभावलाई नियन्त्रण गर्न सकेनौ । किनभने जे हुनुपर्ने हो त्यो त भइहाल्छ नि, जुन निश्चित नै छ ।’
फेरि वेदव्यासले आफ्नो मन्त्रशक्तिले आह्वान गरे अनि त्यो हात्ती पृथ्वीको आकषर्ण शक्तिमा आएर तल भुइँमा घोप्टो प¥यो । व्यासले भने, ‘यो मेरो कुराको प्रमाण हो ।’
जति मात्रामा राजा जन्मेजयले श्रद्धा र विश्वासका साथ महाभारत कथा सुनेका थिए त्यति नै मात्रामा उनको कुष्ठरोग निको भयो तर अतिकति बाँकी रही नै रह्यो । त्यही कुष्ठरोग नै उनको मृत्युको कारण बन्यो ।











प्रतिक्रिया