लगातारको वर्षाको कारण अवरुद्ध सडक खुल्न नसक्दा हजारौं यात्रुको सडकमा बास भएको छ । नेपालमा सबैभन्दा बढी यात्रुले राजधानी छाड्ने पर्व दशैँ हो । करिब २० लाख बढीले राजधानी छाड्छन् । राजधानी छाडे पनि गन्तव्यमा पुग्न नसकेर यात्रुहरु बाटोमा अलपत्र परेका छन् । पछिल्लो अवस्था हेर्दा देशका अधिकांश मुख्य सडक अवरुद्ध छन् । गन्तव्यमा पुग्न नसकेका नागरिकको बिचल्ली भएको छ ।
न खाने ठाउँ, न त बस्ने बासस्थान । यसतर्फ सरकारको गम्भीर रुपले ध्यान नपुग्दा मुख्य राजमार्गको अवस्था दयनीय छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हाल नारायणगढ–मुग्लिङ सडक पूर्णरुपमा अवरोध भएको छ । सो खण्डको तुइनखोलामा सुख्खा पहिरो खस्दा बाटो पूर्ण अवरुद्ध भएको हो ।
उता यातायात जोखिमका कारण बीपी राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द गरिएको छ । नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति भएको कारण त्यता पनि यातायात ठप्प छ । संखुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग पनि अवरुद्ध छ । कोशी राजमार्गअन्तर्गतकै खाँदबारी–किमाथांका सडकखण्ड पूर्णरुपमा अवरोध छ । रोल्पा–घोराई–रुकुम शहीद मार्ग, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको विनयी त्रिवेणी मार्गसमेत अवरुद्ध भएको छ ।
धार्मिकभन्दा बढी सांस्कृतिक र सामाजिक रूपमा महत्व मानिएको दशैँमा देशभित्र र बाहिरबाट पनि मानिसहरू घर आउने गर्छन् । तर यसरी राजमार्ग अवरोधका कारण दशैँ मनाउन आ–आफ्नो गन्तव्यमा जानेहरुले सास्ती भोगिरहेका छन् ।
जेनजी आन्दोलनका नाममा भदौ २३–२४ गते भएको नरसंहार र विध्वंसका कारण त्यसै पनि दशैँ खल्लो छ । तर पनि आफ्ना मान्यजनको हातबाट टीका लगाउनकै गन्तव्यमा जानेहरुको भीड छ ।
काठमाडौं आउने–जाने मूल सडकहरू पटक–पटक अवरुद्ध भइरहेका कारण समस्या बढेको छ । जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएकै भोलिपल्ट भौतिक मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले अवरुद्ध भएका राजमार्ग तत्काल खोल्न सरोकारवाला सबै निकायलाई निर्देशन दिनुभएको थियो । तर प्रकृतिको अगाडि कसैको केही लाग्दैन । मन्त्रीको निर्देशनले छुमन्तर भनेजस्तो राजमार्ग खोल्न सम्भव देखिँदैन । प्राविधिक टोलीले रातदिन काम गर्दा पनि लगातारको सुख्खा पहिरोको कारण बाटो खोल्न सकेको छैन ।
यातायात व्यवसायीले निर्धारित समयमा गन्तव्यमा पुग्न सकिने वा नसकिने निधो गरेर मात्र अग्रिम टिकट काट्न यात्रुलाई सल्लाह दिने गरेका छन् । कुन सडक कति बेला अवरुद्ध हुने हो भन्ने अनुमान नै गर्न नसकिने भएको छ । त्यसैले यो वर्ष यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । यस परिस्थितिमा रोकिएका सडक खोल्न सरकारले नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिएर भए पनि काम गर्नु आवश्यक देखिन्छ । रोकिएका यात्रुलाई तत्काल खाने र बस्ने व्यवस्था मिलाउनुपर्छ । अत्यावश्यकबाहेक बाटोको अवस्था हेरेर अति ठूला सवारीसाधन चलाउन रोक लगाउनु उपयुक्त हुन्छ । त्यसो भए मात्र केही हदसम्म समस्या समाधान हुन्छ ।











प्रतिक्रिया