–रुद्रायणीदेवीको मूर्ति यसपालि पनि मन्दिर बाहिरै
–आउँदो जात्रामा मात्रै आफ्नो घरमा
खोकना, ललितपुर ।
दशैं नमनाउने ललितपुरको खोकनावासीले यो वर्ष पनि रुद्रायणीदेवीको मूर्ति मन्दिरभित्र देख्न नपाउने भएका छन् । २०७२ सालको भूकम्पबाट ध्वस्त रुद्रायणीको मन्दिर पुनर्निर्माण जारी छ । करिब ८० प्रतिशत पुनर्निर्माण सकिएकाले यो वर्ष रुद्रायणीलाई आफ्नो घरमा देख्न पाइँदैन ।
यो वर्ष पनि बाहिरै मूर्ति ल्याएर पूजा गर्ने व्यवस्था गरेको ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले बताउनुभयो । उहाँले हालसम्म मन्दिरसँगै घर बनाएर राखेको र अर्को वर्ष मन्दिरभित्रै पूजा गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय उपभोक्ता समितिबाट मन्दिर पुनर्निर्माण थालिएको हो । लामो समयको रस्साकस्सीपछि २०७८ बाट पुनर्निर्माण गरिएको हो ।
करिब ६ करोड लागतमा मन्दिर पुनर्निर्माण सकिने तथा त्यसपछि मात्रै मन्दिरभित्र रुद्रायणीलाई पुनःस्थापित गर्ने वडाध्यक्ष महर्जनले बताउनुभयो ।
दशैंको घटस्थापनाको पर्सिपल्ट आश्विन शुक्ल तृतीयामा रुद्रायणी स्कुलअघि राँगाको बली दिएर जात्रा सुरु भएको छ । सिकालीजात्राको सुरुवात रुद्रायणी मन्दिरस्थित देवता मण्डलले खोकनामा तःगुठी, सालाःगुठी र जउँ गुठीसँग सञ्चालन गरेका हुन् । तृतीयादेखि सुरु हुने जात्रा षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ र अरू वाद्यवाधकसहित ४६ जनाले खोकना परिक्रमा गर्छन् ।
हरेक दिन नुहाउने र एकछाकमात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरी पूजा सामग्री संकलन गर्ने गर्छन् । त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा पूजा गर्ने चलन छ । सानो खोकनामा सिकालीको मन्दिर छ ।
पहिलो दिन सिकाली थानमा पूजा गर्ने, दोस्रो दिन देवगणको तयारी नाच सुरु र मुखौटो प्रदर्शन, तेस्रो दिन तीनवटा प्रमुख गुठीले राँगो बलि दिने, बलिको रगत देवीलाई अर्पण गरी युद्धनाच गर्ने प्रचलन छ ।
चौथो दिन देवगणलाई गाउँ परिक्रमा गराउने, गुठीबीच सामूहिक भोज गर्ने र देवगणलाई बिदा दिएर जात्रा विसर्जन गर्ने प्रचलन छ । यति लामो जात्रा व्यवस्थापन गर्न वडा कार्यालयले केही आर्थिक सहयोग गरेको अध्यक्ष महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब अक्षय कोष बनाउने तयारीमा छौं, कोषबाट संकलित ब्याजबाट जात्रा गर्ने विषयमा छलफल गरेका छौं ।’
हिजो बिहीबार छोयला भुः खाएर सुरु गरिएको थियो । मूल जात्राको जनाउ अघिल्लो दिन छोयला भुः गरिन्छ । सोही आधारमा आज शुक्रवार मूल पूजा गरिनेछ । ११ गते मुख्य जात्रा मनाउँदै छन् ।
खोकनाबासीले दशैँलाई टीकाजमरा लगाएर मनाउँदैनन् । सिकाली जात्रा गरी मनाउँछन् देवीदेवताको पूजापाठ र सामूहिक भोज खाएर मनाइने जात्रा नवमीसम्म नृत्य गरेर मनाइन्छ । मुलुकको शान्तिको कामना गर्दै जात्रा मनाउने परम्परा रहेको स्थानीय रामचन्द्र महर्जनले बताउनुभयो ।
स्कन्द पुराणको माघ महात्म्यमा उलेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेपछि जात्रा मनाइएको हो । आश्विन शुक्ल प्रतिपदाको दिन कुमार केटाहरूले हरेक दिन नुहाउने र एक छाकमात्रै खाना खाएर दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री संकलन गर्ने परम्परा छ । हरेक दिन नुहाएर उखुको लौरो टेक्दै गाउँ परिक्रमा गरेर पूजा सक्नुपर्ने परम्परा छ । दुई दिनसम्म संकलन गरेको पूजा सामग्रीले आश्विन शुक्ल तृतीयाका दिन सिकालीको मूर्तिमा राँगाको रगत चढाइने परम्परा छ । खोकनाको संरक्षकका रूपमा रुद्रायणी र सिकालीलाई मानिन्छ ।
किरात कालदेखि चलेको किंवदन्ती रहेको सिकाली जात्रालाई सिद्धिकाली जात्रा पनि भनिन्छ । खोकनाबासीले सिकालीजात्रालाई रुद्रायणी पर्वको रूपमा समेत मनाइने प्रचलन छ । यो जात्राले नेपालको परम्पराको पहिचान गराएको छ । समुदाय र गुठीको भूमिका प्रस्ट पारेको छ ।











प्रतिक्रिया