काठमाडौँ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले वर्तमान कन्द्रीय समिति भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने गरि राखेको प्रस्तावमा दुई नेताले असहमति राखेका छन् ।
काठमाडौंको कमलादीमा बिहीबार सुरू सातौँ केन्द्रीय समितिमा बैठकमा अध्यक्ष दाहालले राखेको प्रस्तावलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले असहमति राखेका हुन् ।
आजको बैठकमा यी तीनै नेताले प्रस्ताव पेश गरेका छन् । प्रचण्डले राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राख्दै अहिलेको केन्द्रीय समिति विघटन गरेर विशेष महाधिवेशनमा जान आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन् ।
त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले बताएका छन् । तर, उनको यो प्रस्तावमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले असहमति जनाएका छन् । उनले पहिले कार्यकारी पद छाड्नुपर्ने अडान आफ्नो प्रस्तावमा राखेका छन् । ‘पहिले कार्यकारी पद छाड्नू’, उनले प्रस्तावमा भनेका छन्, ‘फागुन २१ गतेको मध्यावधि निर्वाचनपछि पार्टीको अधिवेशन गरौँ ।’
उनले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको पनि बताएका छन् । ‘यही मंसिरमा विशेष महाधिवेशन सम्भव छैन, मध्यावधि निर्वाचनपछि महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनु पर्छ ।’
यता उपमहासचिव शर्माले अहिले देखिएको जेन-जी विद्रोह पार्टीले जनयुद्धको बाटो भुलेको परिणाम भएको बताएका छन् । उनले सबै पदाधिकारीले राजीनामा दिएर प्रचण्डकै नेतृत्वमा निर्देशक समिति बनाउनुपर्ने अडान राखेका छन् ।
‘सबै पदाधिकारीले राजीनामा गरौँ’, शर्माले आफ्नो प्रस्तावमा भनेका छन्, ‘प्रचण्ड नेतृत्वमा निर्देशक समिति यही बैठकबाट बनाऊँ वा त्यसको ग्यारेण्टी गरौँ ।’
उपमहासचिव शर्माले आगामी महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको ग्यारेन्टी गरिनुपर्ने अडान पनि आफ्नो प्रस्तावमार्फत् लिएका छन् ।
उनले अहिलेको जेन-जी पुस्ताको विद्रोह माओवादीले जनयुद्धको बलिदान भुलेर बाटो बिराएको परिणाम भनेका छन् ।











प्रतिक्रिया