१)के राज्य सञ्चालन प्रणाली मात्र संविधानसम्मत चाहिने कि नागरिक हकको प्रचलन पनि संविधानसम्मत हुनुपर्ने हो ? यी दुवै कुरा संविधानका अन्तरवस्तु होइनन् र ?
२)के भदौ २३ गते जेनजीहरूको विरोध प्रदर्शनमा गोली चलाएर युवाहरूको हत्या गर्ने कार्य संविधानसम्मत थियो ?
३)के भदौ २४ गते धनजन र राष्ट्रिय सम्पदाको क्षति हुँदा टुलुटुलु हेरेर बस्ने सरकारी रवैया संविधान सम्मत थियो ?
४)के प्रधानमन्त्रीले राजीनामा दिएपछि संविधानबमोजिम राष्ट्रपतिले अर्को सरकार गठन गर्न दललाई आह्वान नगर्नु संविधानसम्मत थियो ?
५)के राष्ट्रपतिले जेनजी समूहलाई वार्तामा बोलाउने कार्य संविधानसम्मत थियो ?
६)के कफ्र्यूको समयसारिणी गृह प्रशासनको सट्टा नेपाली सेनाबाट तोकिनु संविधानसम्मत हो ?
७)के प्रधानमन्त्रीले राजीनामा पेस गरेपछि संविधानको धारा ७६ बमोजिम नयाँ सरकार बनाउने दाबी कुनै दल र सांसदले पेस गर्न नसक्नु संविधान सक्रियताको लक्षण हो ?
८)के हिजोकै बहुमतअनुसार संविधानबमोजिम फेरि केपी ओलीकै वा देउवाकै नेतृत्वमा बन्ने सरकार मुलुकले खोजेको हो ? किनकि उनी अहिले पनि आफ्नो दलको संसदीय नेता छँदै छन् । दुई दलको दह्रो बहुमत पनि छँदै छ ।
९)के राष्ट्रपतिबाट संविधानको धारा ७६ बमोजिम अर्को सरकार बनाउन आह्वान नगरेर जेनजीलाई वार्तामा बोलाउने विज्ञप्तिको कुनै राजनीतिक दल, नागरिक समाज, नेपाल बार एसोसिएसन र वक्तव्यको खेती गरिहिँड्ने नागरिक समाजका अगुवा भनाउँदाहरूबाट विरोध भएको थियो ?
१०)जति बेला जेनजी समूहको विरोध र घुसपेठियाहरूको हिंसात्मक गतिविधिले स्थिति नियन्त्रणबाहिर जाँदा मुलुकमारा र तरमाराहरूको मुटु थर्केका बेला सत्ताको बागडोर फालेर ती मुलुकमारा र तरमाराहरू सबै एक शब्द नबोली कामेर कुना पसेका र सेनासँग सुरक्षाको भिख मागेर बसेका हुन् कि होइनन् ?
११)नेपाली सेनाले स्थिति सम्हालेर अन्तरिम सरकारको गठन प्रक्रिया अगाडि बढाउँदा त्यसमा आपत्ति गर्ने र संसद्बाटै संविधानभित्र बसेर नयाँ सरकार बनाउनुपर्ने भनी गरिएका वक्तव्यबाजी छेपारे नीतिअन्तर्गत पर्छ पर्दैन ?
१२)संविधान उल्लंघनको शुरूवात कसबाट भयो ? सरकार, राष्ट्रपति, नेपाली सेना वा जेनजी समूहबाट ?
१३)परिस्थिति अनुकूल हुँदा एउटा व्याख्या अनि प्रतिकूल हुँदा अर्को व्याख्या गर्ने मुलुकमारा र तरमाराहरूको विगतदेखिको परम्परा जनताले नबुझेको हो र ?
१४)समय अनुकूल भएपछि संविधानभित्रैबाट निकास खोज्ने व्याख्या विगतकै भ्रष्ट मुलुकमारा र तरमाराहरूलाई नै सत्तामा विराजमान गराउने स्वार्थबाट अघि सारिएको छद्मभेषी तर्क हो भन्ने बुझ्न गाह्रो छ र ?
१५)संविधानभित्रबाट सरकार बनाउने तर्क हिजोका भ्रष्ट, मुलुकमारा र तरमारा वर्गबाट भएका अपराधलाई उन्मुक्ति दिने प्रयास हो भन्ने बुझ्न सकिँदैन र ?
१६)यी सबै घटना र तथ्यहरूले वर्तमान संविधानका धेरै व्यवस्थाहरू निष्क्रिय भएका होइनन् ?
१७)जनताका चाहनालाई सम्बोधन गर्न नसक्ने संविधानका व्यवस्था परिवर्तन गर्न राज्य व्यवस्था तयार हुनुपर्दैन ?
१८)के यथास्थितिको संविधान र परिवर्तनसहितको संविधानको मागलाई अगाडि सारेर फेरि द्वन्द्व मच्चाएर थिलथिलो भएको देशलाई असफल राष्ट्रतिर धकेल्नु उपयुक्त कि राजनीतिक समझदारीबाट निकास खोज्नु उपयुक्त हो ?
(लेखक वरिष्ठ अधविक्ता हुनुहुन्छ ।)











प्रतिक्रिया