मौलाकालिका शक्तिपीठ राष्ट्रको मध्यभाग, ऋषिहरुको तपोभूमि देवघाट क्षेत्र परिसर, पूर्व–पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ करिब ४ कि.मि. टाढा गैंडाकोट नगरपालिका वार्ड नं. १ मा अवस्थित छ । समुद्री सतहबाट ५६१ मिटर उचाइको पहाडी वनमा रहेको यो मन्दिर नेपालको प्रमुख तीर्थस्थलमध्ये एक मानिन्छ ।

पन्ध्रौँ शताब्दीको अन्त्यतिर (करिब ५०० वर्षपहिला) पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थवास गरेको र सैनिक टुकडीलाई शक्ति आराधनाका लागि मौलो गाडी शक्तिपीठका रुपमा पूजा–अर्चना गर्ने व्यवस्था गरेका थिए । उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गर्ने गरेका थिए भन्ने पाइन्छ । त्यसपछि गाउँलेहरुले आलोपालो गरी पूजा चलाएका थिए ।
त्यहाँ ठूलो सालको रुख थियो । वि.सं. १९९० को भूकम्पमा सो रुख ढलेको थियो । रुखसँगै जोडिएको मन्दिरमा भएका ऐतिहासिक संरचना सबै भताभुङ्ग भएका थिए । कालान्तरमा त्यस ठाउँका आदिवासीहरु अन्यत्र बसाइँ सर्न थालेकाले मन्दिर गएर पूजापाठ गर्ने चलन बिस्तारै कम हुँदै गएको थियो । वि.सं. २०३५ मा गैंडाकोट–१ निवासी स्वर्गीय काशीनाथ पौडेलले स्वप्नामा मौलाकालिकाको दर्शन पाएपछि तत्काल स्थानीय व्यक्ति हवल्दार कुमानसिंह गुरुङसमेतले उक्त स्थानमा स्थानीय बासिन्दाहरुको साथ–सहयोगले सानो मन्दिर निर्माण गरेर बडादशैं र चैतेदशैंमा पूजापाठ गरिँदै आएको थियो ।
मन्दिर निर्माण भएपछि पूजा सञ्चालन र पूजारीको व्यवस्था गरियो । वि.सं. २०३२ देखि ब्राह्मणद्वारा पूजा हुन थाल्यो । वि.सं. २०३८ सालको बडादशैंदेखि धार्मिक सेवा समितिले संस्थागतरूपमा पूजा आरम्भ गरेको हो । वि.सं. २०४३ वैशाखदेखि हप्ताको २ दिन मङ्गलबार र शनिबार पूजा हुन थालेको हो । यसै गरी वि.सं. २०४४ चैत ६ गतेदेखि एकजना आवासीय पूजारीद्वारा दैनिक पूजापाठ आरम्भ गरियो । वि.सं. २०६४ देखि भने तीनजना आवासीय पूजारीबाट वैदिक विधिअनुसार सात्विक दैनिक पूजा–अर्चना, होम र पाठ पारायण हुँदै आएको हो । विधानतः मन्दिर परिसरभित्र जीव बलि प्रथालाई पूर्णतः निषेध गरिएको छ ।
वि.सं. २०३२ मा बनेको टिनको छानो भएको मन्दिर वर्षाको कारणले भत्कियो र पुनः २०४२ सालमा एक ढोका र टिनले छाएको सानो मन्दिर निर्माण भएको थियो । धर्मानुरागी भक्तजनहरूको आगमन बढ्दै गएपछि मध्यक्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुर चितवनका प्रहरी उपरीक्षक ज्ञानेन्द्रविक्रम महतको प्रेरणा र साथ–सहयोग, धार्मिक सेवा समितिको सक्रियता, श्रद्धालु भक्तजन, संघसंस्था, विभिन्न सरोकारवालाहरुको सहयोगबाट वि.सं. २०५३ मा तीन ढोकासहितको तीनतले पक्की प्यागोडा शैलीमा वर्तमान मन्दिर निर्माण कार्य सम्पन भयो । सोही वर्षको चैत महिनामा मन्दिर निर्माणार्थ प्रेरक व्यक्तित्व ज्ञानेन्द्रविक्रम महतबाट मन्दिर उद्घाटन भयो ।
शक्तिस्वरूपा मौलाकाली भगवतीको पूजा–अर्चना, आराधना एवं उपासना गर्नाले मनले चिताएको मनोकाङ्क्षा पूरा हुने, आत्मसन्तुष्टि र आनन्द मिल्ने जनविश्वास रहेको पाइन्छ । मानिसलाई दुःख, विपत् र सङ्कट परेको अवस्थामा भगवतीको प्रार्थना गर्नाले सहनशक्ति प्राप्त हुने, दुःख–कष्टबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ ।
नेपाललगायत छिमेकी राष्ट्र भारत, भुटानका साथै अन्य मुलुकहरुबाट पनि शक्तिपूजक एवं उपासकहरु दिनानुदिन आउने क्रम बढिरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरु पनि मौलाकालिका भगवतीको दर्शन गर्न आउने क्रम जारी छ । मौलाकालिका मन्दिरको प्रवेशद्वार नजिक सिद्धिविनायक गणेश मन्दिर र राधाकृष्ण मन्दिरछ ।
यसै गरी देउराली भन्ज्याङ सिँढी मार्गमा देउराली देवीको खुला मन्दिर छ । मौलाकालिका मन्दिर प्राङ्गणमा हवनकुण्ड, भैरव देवीको मन्दिर, ओम् नम शिवाय मठ, शिवलिङ्ग मठ, तुलसी देवीको मठ र प्राङ्गणस्थित मूल प्रवेशद्वारमा गणेश र सरस्वतीका मूर्तिहरु राखिएका छन् ।
मन्दिरसम्म पुग्नका लागि सिँढीको निर्माण गरिएको छ, जसमा १ हजार ८ सय ८२ सिँढी रहेका छन् । पछिल्लो समय वृद्ध, अशक्तलाई ध्यानमा राखेर मन्दिरमा जान केबलकारको समेत व्यवस्था गरिएको छ । यसले गर्दा यहाँ पुग्नेहरुको संख्यामा बढोत्तरी भएको छ । यहाँको विकासका लागि गुरु योजना पनि बनाइएको छ । यी योजनाहरू पनि सबैको साथ–सहयोगले पूरा हुँदै जानेछन् भन्ने विश्वास छ ।
राष्ट्रको गौरव, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त शक्तिस्वरूपा मौलाकालिका भगवतीको मन्दिर हामी नेपालीको पहिचान हो । गैंडाकोटवासीको मात्र नभई सिङ्गो राज्यको शान हो । भावी पीढीलाई मन्दिरको अस्तित्व, महत्व, महिमा बताउनु आवश्यक हुन्छ । उक्त मन्दिरको संरक्षण र संवद्र्वन गर्नु हामी सबैको कर्तव्य हो ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको मन्दिर एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुनु आवश्यक छ । आध्यात्मिक शान्ति र सङ्कटमोचनको आस्था एवं विश्वासको धरोहर मौलाकालिका भगवतीले हामी सबैको मनोकामना पूरा गरून् । मौलाकालिका भगवतीको दर्शन गरी पुण्य कमाऔँ र आन्तरिक पर्यटनको विकासमा टेवा पु¥याऔं ।











प्रतिक्रिया