युवापुस्तालाई राजनीतिको खासै मतलब छैन भनेर एकथरी विद्वान् र विश्लेषकहरुले भनिरहेको समयमा युवापुस्ताले जेनजी विद्रोहमार्फत राजनीतिमा उथलपुथल ल्याइदिएको छ । दोस्रो जनआन्दोलनपछि अझै भनौं संविधान निर्माणपछि अपेक्षाकृत आर्थिक र सामाजिक परिर्वतन नहुनु, पुराना नेताहरु चरम भ्रष्ट एवं सत्तामा मात्र केन्द्रित हुनुले आम जनतामा निराशा छाएको थियो । यसैले जेनजी विद्रोहबाट अप्रत्याशितरुपमा यो अवस्था सृजना भयो । यस स्थितिमा भएको आन्दोलनका क्रममा थुप्रै भौतिक संरचनाहरु ध्वस्त हुन पुगे । अर्बौंको नोक्सान भयो । ७३ जना मानिसको ज्यान गयो । अब भने युवाहरुको रगत खेर जान नदिन पुनर्निर्माण कार्य अघि बढाउँदै जेनजी विद्रोहको भावनालाई राज्यमा प्रतिविम्बित गर्नुुपर्ने सरकारको मुख्य कार्यभार हो ।
संविधानसभाबाट संविधान जारी भएयताको दश वर्षमा सातवटा सरकार परिवर्तन भएका थिए । तिनमा कांग्रेस, एमाले र माओवादीका प्रमुख नेताहरु दोहो¥याएर, तेह¥याएर म्युजिकल चेयर खेलझैँ सत्ताको कुर्सीमा विराजमान भएका थिए । उनीहरू भ्रष्टाचार काण्डमा संलग्न रहेको आशंका गरिएको थियो । उनीहरूको सत्तामा एकाधिकार तथा बढ्दो अहंकार अनि परिवार र आसेपासेहरूको विलासी जीवन देखेर युवाहरू आक्रोशित बन्दै गएका थिए । लामो समयदेखि अल्पविकास, बेरोजगारी, परनिर्भरता, असमानताको दुश्चक्रमा मुलुक जकडिएर बसेको थियो । युवाहरू बर्सेनि ७÷८ लाखको दरले रोजगारी र शिक्षाका निम्ति विदेशिन बाध्य भइरहेका थिए । उनीहरूले पठाएको रेमिट्यान्स र जनताको नाउँमा आएको वैदेशिक ऋण तथा जनताले पेट काटेर तिरेको करमाथि सत्तासीन अनि तिनका आसेपासे, बिचौलियाहरूले मोजमस्ती गरिरहेको आम धारणा बन्दै गइरहेको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोह मुलुकको यही शासकीय बेथितिविरुद्धको उपज हो ।
प्रमुख राजनीतिक दलका नेताहरुमा अझै पश्चाताप छैन । बरु उनीहरु जेनजी आन्दोलनलाई बदनाम बनाउन उद्यत् छन् र आफ्नो कुकर्म, अक्षमता, भ्रष्टाचार लुकाउन जेनजी आन्दोलन विदेशीले गरेको हौवा फैलाइरहेका छन् । यसलाई विभिन्न शक्तिकेन्द्रहरुले चासोका रुपमा हेरे पनि यो नेपालका युवापुस्ताले गरेको विद्रोह हो । भ्रष्टाचार, शासकीय बेथिति, दलाल र बिचौलियाका कारण शासन–प्रशासनलाई असफल बनाउँदै लगेको जस्ता आन्तरिक कारणहरु नेपालमै विद्यमान थिए । आन्दोलनको दोस्रो दिन घुसपैठ भयो भन्दैमा यो नेपालीले गरेको आन्दोलन होइन भन्नु यथार्थसँग मेल खाँदैन । यो आन्दोलन वा विद्रोह भएको पनि दुई साता भइसकेको छ । त्यसैले युवा–भावनालाई पूरा गराउन व्यापक जनदबाब दिनुपर्ने खाँचो रहेको छ । जेनजी विद्रोहको निश्चित संगठन पनि छैन, त्यसले गर्दा अगाडिको बाटोको स्पष्ट तस्वीर आउन सकेको छैन ।
मुलुक यो वा त्यो बहानामा तोकिएको मितिमा निर्वाचन नहुने, जेनजी विद्रोहलाई असफल र बदनाम बनाउँदै लग्ने हो भने झन् यो भन्दा विकराल, द्वन्द्वको भुमरीमा फस्न सक्ने खतरा पनि रहेको छ । त्यसैले जेनजी विद्रोहको भावनालाई सूत्रबद्धरुपमा ल्याएर यसलाई अघि बढाउन पहल गर्नुपर्ने आजको मुख्य दायित्व हो । तर पुराना राजनीतिक दलहरु युवाहरुको विद्रोहविरुद्ध फेरि फर्किने खतरा बढ्दै गएको छ । जेनजीको भावना विरीत हुन नदिनका लागि निरन्तर दबाब भइराख्नुपर्छ । देशलाई कंगाल पारेर लुट्नेहरुका विरुद्ध राजनीतिक दलका युवावर्गहरुले समेत खबरदारी गर्दै जेनजी पुस्ताको भावनालाई कदर गर्नुपर्छ । यस अवस्थामा नागरिक समाज, विभिन्न तह र तप्काले सकारात्मक भूमिका निर्वाह गर्नुपर्दछ । सबै पक्ष गम्भीर भएर सम्यक विश्लेषण गरी अगाडि बढ्नुपर्ने खाँचो छ ।











प्रतिक्रिया