तर पनि पूर्वराजा राजगद्दीमा फर्कन चाहेनन्

6.86k
Shares

वि.सं. ०८२ भदौ २३ र २४ गते नेपालको राजनीतिमा एउटा फरक पृष्ठभूमिको इतिहास कोरिएको दिन बनेको छ । कोत पर्व, भण्डारखाल पर्व, २००७ सालको राणाविरोधी आन्दोलन, २०१७ सालको कू र त्यसपछिको पञ्चायती व्यवस्था, २०४६÷०४७ को जनआन्दोलन, २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलन र २०७२ सालमा जारी भएको संघीय गणतान्त्रिक संविधानपछि राजसंस्थाले विधिवत्रुपमा मुलुकको शासन सत्ताबाट बिदा लिएको क्षणभन्दा फरक रह्यो भदौ २३ र २४ गतेको जेनजी आन्दोलन।

जेनजी पुस्ता र जेनजी आन्दोलनलाई धेरैले एउटा उमेर समूहको लहडको रुपमा मात्र बुझेको देखिन्छ । खासमा यो एउटा निश्चित उमेर समूहको लहड मात्र पक्कै हैन, यो त एउटा विचार पनि हो । दुष्टिकोण, सोच र सक्रियता पनि हो ।

जेनेरेसन जेड अर्थात् जेनजी सन् १९९७ देखि २०१५ को बीचमा जन्मिएका पुस्ता हुन् । यो हिसाबले जेनजी समूहमा १० देखि २८ वर्ष उमेर समूहका किशोर र युवाहरु पर्दछन् । यो नै पहिलो पुस्ता हो, जो सानैदेखि इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किए । जेनजी अभियान स्मार्ट–इन्टरनेट, रचनात्मकता, बोल्ड, रंगीन र सहभागितामूलक हुने गर्छ । जेनजी समूह सामाजिक न्याय, वातावरण, लैङ्गिक समानता र विविधताको विषयमा बढी नै सचेत रहने विश्वास गरिन्छ । त्यसैले पनि जेनजी पुस्ता उमेर समूहसँग मात्र सम्बन्धित छैन, यो विचार, दृष्टिकोण, सोच र सक्रियतासँग पनि सम्बन्धित छ ।

एउटा निश्चित उमेर समूह र विचारको गठजोडले अघि बढेको जेनजी आन्दोलनको कारण भदौ २३ र २४ गते र त्यसपछि धेरैले धेरै चिज गुमाए । कसैले आफ्ना बालबच्च गुमाए, कसैले अभिभावक गुमाए, कसैले पद–प्रतिष्ठान गुमाए, राष्ट्रले ऐतिहासिक धरोहरहरु गुमायो र मैले दुई रातको निद्रा गुमाएँ ।

यो कुरा धेरै कमलाई थाहा होला, भदौ २३ र २४ गते जेनजी आन्दोलनले उत्पन्न गरेको विषम परिस्थितिलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि केही समय मुलुक सरकारविहीन अवस्थामा पुग्यो । भलै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गरी उनैलाई काम चलाउ सरकारको प्रधानमन्त्री तोकेका थिए ।

यसबीचमा सत्ता प्रयोगको लागि धेरै ठाँउबाट, धेरै खालका प्रयत्नहरु भएको देखिन्छ । आन्दोलनरत जेनजी अगुवाहरुसँग प्रधान सेनापति अशोकराज सिग्देलले भदौ २५ गतेबाट नयाँ सरकार र प्रधानमन्त्रीको विषयमा छलफल शुरु गरेका थिए ।

दुर्गा प्रसाईं र धरानका मेयर हर्क साङपाङ प्रधानमन्त्री चलाउने दाबीका साथ सैनिक मुख्यालय पुगे । काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सेनासँग वार्ताको लागि तयार रहन जेनजी अगुवाहरुलाई अनुरोध गरे । प्रधानमन्त्री को ? भन्ने विषयमा एकमत हुन नसकेपछि नेपाली सेनाले माइकिङ गरेरै भदौ २६ गते बिहानसम्म साझा नाम सुझाउन जेनजी अगुवाहरुलाई उर्दी नै जारी ग¥यो ।

प्रधनमन्त्रीको साझा नाम आउन नसकिरहेको अवस्थामा जेनजी आन्दोलनको विषयमा सामाजिक सञ्जालहरुमा विभिन्न कोणबाट चर्चा, बहस र आशंका शुरु भएका थिए । आन्दोलनमा भारतको संलग्नता, काठमाडौँका मेयर बालेन शाह पश्चिमाहरुको चाहनाअनुसार अघि बढेको जस्ता हल्लाले परिस्थिति थप जटिल बन्दै गएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आन्दोलनमा घुसपैठ भएको आशंका गरिरहेको खबर मिडियाहरुले प्रचार गरिरहेका थिए ।
जेनजी आन्दोलनको क्रममा उत्पन्न विषम परिस्थितिपछि म भदौ २३ गते रातिदेखि नै राम्रोसँग निदाउन सकिरहेको थिइन । राति ११÷१२ बजेसम्म मेरा आँखा सामाजिक सञ्जालका वालहरु र विभिन्न अनलाइनका खबर हेर्न चनाखो भइरहेका थिए ।

प्रधानमन्त्री को भन्ने रस्साकस्सीका बीच भदौ २६ गते (बिहीबार) राति ९÷१० बजेतिर भने एउटा अर्को हल्ला फैलियो– राजा फर्काउने तयारी भइरहेको छ, नारायणहिटी दरबार सरसफाइ शुरु भयो । अब पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा ल्याएर राजा घोषणा गरिँदै छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पूर्वयुवराज पारस शाहले बिहीबार राति नै सामाजिक सञ्जाल फेसबुकमा ‘वार्तामा हुनुपर्ने अनिवार्य सर्तहरु’ भन्दै १२ बुँदाको एउटा नोट सार्वजनिक गरे । जसको अन्तिममा– ‘बरु यही संविधानमा राष्ट्रप्रमुखको रुपमा राजा वा बेबी किङ स्वीकार गरौँ तर वैदेशिक हस्तक्षेप स्वीकार नगरौँ है’ भन्दै राजाको पक्षमा जनमत बुझ्ने काम गरे ।

लगत्तै उनकी छोरी पूर्णिका शाहले ‘आज मध्यरातसम्म ठूलै निर्णय आउन सक्ला’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिन् । उनले बिहीबार राति नै एउटा ग्रुपमा राजा फर्कने भन्दै तयारी अवस्थामा रहन साथीहरुलाई सन्देश छोडेकी थिइन् । तर अहिले त्यो सन्देश ग्रुपबाट हटाइएको उनी निकटकाहरुले बताएका छन् ।

केही राजावादी नेता–कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा यो हल्लालाई बल मिल्ने गरी राजा ज्ञानेन्द्र शाह फर्कने आशयको स्टाटससमेत लेख्न भ्याए । भदौ २६ गते बिहीबार राति ९ः५० बजे मैले पनि रामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेँ– ‘नेताहरुलाई नजरबन्दमा राखेको कुरा आयो । रातिसम्ममा केही नतिजा निस्कन्छ कि के हो ?’

यसरी नयाँ प्रधानमन्त्री को ? भन्ने रस्साकस्सीकै बीचमा कहीँ–कतैबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरेर नारायणहिटी प्रवेश गराउने तयारी गरिएको कुरा पुष्टि हुने धेरै आधारहरु भेटिएका छन् । नेपाली सेनाले विदेशी हस्तक्षेपभन्दा राजा फर्काउनु ठीक हुने आशय व्यक्त गरेको र नारायणहिटीमा सरसफाइ गर्न बिहीबार राति सेनालाई खटाइएको चर्चा पनि चलेकै हो ।

तर पूर्वराजा ज्ञानेन्द्र शाहले कहीँ–कतैबाट आएको राजा बन्ने प्रस्तावलाई अस्वीकार गरेका थिए रे ! उनले नेपाली जनताले नभनी सुटुक्क राजा नबन्ने जवाफ फर्काएका थिए रे ! पूर्वराजा ज्ञानेन्द्र शाहको बारेमा म अरु धेरै कुरा लेख्न चाहन्न तर उनले २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलन तथा २०७२ सालको गणतान्त्रिक संविधानपछि राजगद्दी छोड्दा अपनाएको शान्तिको बाटो र अहिले पुनः राजगद्दी सम्हाल्न आएको प्रस्तावलाई अस्वीकार गर्दै सार्वभौम नेपाली जनतालाई भरोसा गरेको विषय प्रशंसनीय छ ।

अब थोरै राजनीतिक दलको कुरा गरौँ । जेनजी आन्दोलनपछि राजनीतिक दल पुनर्गठनको बहस चर्को ढङ्गले उठिरहेको छ । मुख्य दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षले राजीनामा गरेर नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्नुपर्ने दबाब बढ्दै गएको देखिन्छ ।

विशेष गरी पार्टीभित्रकै प्रतिपक्ष (विभिन्न कारणले मुख्य नेतृत्वसँग असन्तुष्ट रहेकाहरु) ले नेतृत्व परिवर्तनको मुद्दालाई मुख्यरुपमा उठाइरहेका छन् । यसमा केही ठूला मिडियाहरुले पनि साथ दिइरहेको देखिन्छ ।

तर के जेनजी आन्दोलनको उद्देश्य ठूला दलको नेतृत्व परिवर्तन मात्र हो त ? दलमा नेतृत्व परिवर्तनपछि भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम हुने र प्रत्यक्ष निर्वाचित कार्यकारीमार्फत सरकारको स्थायित्व सम्भव छ ? यसको लागि पार्टीले अवलम्बन गरेको नीति परिवर्तन गर्नुपर्दैन ?

जेनजी अभियन्ताहरुले आफ्नो आन्दोलनको मुख्य मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारी (प्रधानमन्त्री वा राष्ट्रपति) र सरकारको स्थायित्वलाई बनाएका हुन् । उनीहरुको मान्यता यी दुई कुरा सम्भव भएपछि सुशासन, दिगो शान्ति, भ्रष्टाचारको अन्त्यजस्ता कुरा सम्भव हुन्छ भन्ने नै हो । र, यो अहिलेको आवश्यकता पनि हो ।
तर मुलुकले यति ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्दासम्म पनि राजनीतिक दलहरुको ध्यान भने नेता परिवर्तनतर्फ मात्र केन्द्रित देखिन्छ । नीति परिवर्तनमार्फत जेनजी आन्दोलनका मागहरु सम्बोधन हुनुपर्छ भन्नेतर्फ कुनै पनि नेताको ध्यान पुगेको देखिएको छैन । बरु नेताहरु त आन्दोलनको रापमा आफ्नो स्वार्थको रोटी सेक्न मात्र उद्यत् देखिएका छन् ।

नेताहरुको यस्तो मानसिकताले अझै पनि मुलुकमा राजनीतिक परिवर्तन सम्भव देखिँदैन । दलका युवा नेताहरुले नीति परिवर्तनमा जोड दिँदै जनसर्मथन जुटाउन सके अहिले नेतृत्व गरिरहेका नेताहरु आफैँले आत्मालोचनासहित पद हस्तान्तरणको घोषणा गर्छन् भन्ने लाग्छ ।

अहिलेको परिस्थिति आउनमा दलका नेताहरुको कमी–कमजोरी पनि मुख्य हो भन्ने विषयमा दुविधा छैन । तर मुलुकमा राजनीतिक परिवर्तनको लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतको भूमिकालाई कम आँक्न सकिँदैन । त्यसैले यो विषम परिस्थितिमा दलका युवा नेताहरुले पनि आगोमा घिउ थप्ने हैन, नेतृत्वमा रहेका नेताहरुको आत्मसम्मान जोगाउँदै नीति परिवर्तनमार्फत नेतृत्व हस्तान्तरणको वातावरण बनाउने कुरामा जोड दिनुपर्छ ।

लगभग ४८ घण्टाको अवधिमा मुलुकमा आमूल परिवर्तन गर्न सकेको जेनजी आन्दोलनलाई दलका नेतृत्वकर्ता र युवा नेताहरुले नजिकबाट नियालेका छन् । ती नेताहरुले जनताको शक्ति आँकलन गरेका छन् । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राजनीतिक दलको समर्थनबेगर राजगद्दीमा फर्कन्न भनेर नागरिक शक्तिलाई आत्मसात् गरेजसरी नै राजनीतिक दल र त्यसका नेतृत्वकर्ताले पनि अधिकतम नैतिकता देखाउँदै नागरिक शक्तिलाई आत्मसात् गर्छन् भन्ने विश्वास गरौँ ।