रसुवा । गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १, नागथलीभन्दा माथि तारुचेसँगै रहेको सरस्वती कुण्डमा गत भदौ २२ गते पूर्णिमाको दिन मेला लाग्यो । मेला लाग्नुको उद्देश्य पर्यटन प्रवद्र्धन र स्थानीय जनताको जीविकोपार्जनमा टेवा पुगोस् भन्ने रहेको छ ।
वडा अध्यक्ष उर्केन लामाका अनुसार इतिहासमा नै पहिलोपटक भएको यो मेलामा थुमनवासीहरू पुगेका थिए । सम्पूर्ण खर्च वडाले गरिदिएको हुनाले त्यहाँ मेलामा स्वयंसेवक तथा खाना, बास निःशुल्क गरिएको थियो । मेला भर्न भदौ २१ गते सरस्वती कुण्ड पुगी २२ गते बिहानदेखि लामा–झाँक्रीहरूले नाचगान गरेर आफू, परिवार, समाज, प्रकृतिलगायत सास भएका जनावर र राष्ट्रको हितका लागि प्रार्थना गरेका थिए ।
समुन्द्री सतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा रहेको सरस्वती कुण्डको आफ्नै महत्व र इतिहास रहेको छ । सत्ययुगमा पृथ्वीमा घुम्ने क्रममा महादेव, पार्वती, सरस्वती सँगै आएका थिए । त्यस बेला महादेव गोसाइँकुण्डमा विराजमान रहे भने पार्वतीचाहिँ पार्वतीकुण्डमा बास बसिन् । सरस्वती पनि आफूलाई बस्ने उपयुक्त ठाउँ कहाँ होला भनेर खोजी हिँड्दा नेपाल र तिब्बतको सिमानामा पर्ने यही कुण्डमा बास बसेको किंवदन्ती छ । त्यसैले यस कुण्डलाई सरस्वती कुण्ड भनिएको स्थानीयको भनाइ छ ।
धार्मिक हिसाबले यो ठाउँ महत्वपूर्ण मानिएको छ । मालागढीसमेत यही ठाउँमा रहेको छ । तामाङ सम्दा मार्गमा पर्ने उक्त ठाउँ उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । ओझेलमा परेको सरस्वती कुण्डलाई प्रचार गरी, नेपाल एवं विश्वभर परिचित गराएर पर्यटन प्रवद्र्धन गर्न नै पूर्णिमामा मेला चलाइएको वडा अध्यक्ष उर्केन लामा बताउनुहुन्छ । अब हरेक वर्ष यस पूर्णिमामा मेला लाग्ने उहाँको भनाइ छ ।











प्रतिक्रिया