हलिउडका दिग्गज निर्देशक, अभिनेता एवम् स्वतन्त्र सिनेमाका अग्रणी रवर्ट रेडफोर्डको ८९ वर्षको उमेरमा निधन भएको छ।
रवर्टको अमेरिकाको युटाह राज्यको सनडान्सस्थित घरमा निदाएको बेलामा निधन भएको उनको प्रचारक सिन्डी बर्गरले जनाएका छन्। ‘रेडफोर्ड सनडान्सको पहाडमा रहेको आफ्नै घरमा परिवार र प्रियजनको बीचमा शान्तिपूर्वक निधन भएको हो’ उनले सञ्चार माध्यमलाई जानकारी गराउँदै भएका छन्।
सन् १९३६ मा अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा मोनिकामा जन्मिएका उनी हलिउडमा गोल्डेन ब्वाइको रूपमा परिचित थिए। उनको सुनौलो कपाल, नीलो आँखा र आकर्षक रूपले उनलाई १९६०–७० को दशकको अमेरिकन आदर्श नायकको प्रतीक बनाएको थियो। रेडफोर्ड प्रायः रोम्यान्टिक हिरो, आदर्शवादी पत्रकार वा विद्रोहीजस्ता पात्रमा देखिन्थे, जसले दर्शकमा एक प्रकारको छवि निर्माण गर्यो।
करिब छ दशक लामो अभिनय र निर्देशन यात्रामा उनले द स्टिङ, अल द प्रेसिडेन्ट्स मेन, थ्री डेज अफ द कन्डोर, द वेवी वेयरजस्ता सन् ७० को दशकका चर्चित फिल्ममा अभिनय गरेका थिए। सन् १९८१ मा ओर्डिनरी पिपल निर्देशन गर्दै ओस्कार एकेडेमी अवार्ड जितेका रेडफोर्डले क्विज शो, द हर्स व्हिस्परर र ए रिभर रनस थ्रु इटजस्ता फिल्म पनि निर्देशन गरेका थिए।

उनको दीर्घकालीन योगदान भनेको सनडान्स इन्स्टिच्युट र सनडान्स फिल्म फेस्टिभलको स्थापना हो। यसले स्वतन्त्र सिनेमाका लागि मञ्च प्रदान गर्दै पल थोमस एन्डरसन, क्वेन्टिन टारन्टिनो, ड्यारन एरोनोस्कीजस्ता नयाँ पुस्ताका निर्देशकहरूलाई उदाउने अवसर दियो।
सिड्नी विश्वविद्यालयका एसोसिएट प्रोफेसर ब्रुस आइज्याक्सका अनुसार रेडफोर्ड क्लासिकल हलिउड युगका अन्तिम महान कलाकार मात्र नभई उद्योगका शान्त क्रान्तिकारी पनि हुन्। उनले बच क्यासिडी एन्ड द सनडान्स किडबाट नाम कमाएका थिए। द ओल्ड म्यान एन्ड द गन (२०१८) उनको अन्तिम फिल्म थियो।











प्रतिक्रिया