काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा पुगेको क्षतिको स्थलगत निरीक्षण गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले क्षतिग्रस्त संरचनाको अवलोकन गरेको हो ।
निरीक्षणपछि अध्यक्ष ढकालले निजी लगानी सुरक्षित गर्न सक्ने वातावरण निर्माण पहिलो आवश्यकता भएको बताउँदै लगानीकर्तामा विश्वास जगाउन राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
‘निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद छ । यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पार्छन्, त्यसैले शान्ति र सुरक्षाको वातावरण कायम राख्न सरकार, नागरिक समाज र सरोकारवालाले भूमिका खेल्नुपर्छ ।’ उहाँको भनाइ छ ।
उहाँका अनुसार निजी क्षेत्र देशको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा ठूलो योगदानकर्ता हो ।
तर पछिल्ला घटनाले व्यवसायिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै उनले दोषीमाथि कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे । साथै, भविष्यमा यस्ता घटना दोहोरिन नहुने चेतावनी पनि दिनुभयो । महासंघले व्यवसायीको सुरक्षा र स्थिर व्यवसायिक वातावरण निर्माणमा आफूहरू सधैं निजी क्षेत्रको साथमा रहने प्रतिवद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया