बैंकहरुको नाफा करिब ९ प्रतिशले घट्यो


काठमाडौं

चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरूको खुद नाफा करिब ९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित तथ्यांक अनुसार वाणिज्य बैंकहरूले सो अवधिमा ८ अर्ब ३८ करोड ३० लाख रुपियाँ नाफा कमाएका छन् । गत वर्षको भन्दा ८.६४ प्रतिशतले कम हो । गत वर्षको साउनमा ९ अर्ब १७ करोड ६२ लाख रुपियाँ नाफा भएको थियो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकमध्ये ११ वटाको नाफा घट्दा ९ वटाको नाफा भने बढेको छ । सबैभन्दा बढी नाफा घट्नेमा कृषि विकास बैंक रहेको छ । गत वर्ष ७१ करोड २१ लाख रुपियाँ कमाएको उक्त बैंकले यस वर्ष साउनमा ३७ लाख ५० हजार रुपियाँ मात्र नाफा कमाएको छ । जुन ९९.४७ प्रतिशतले घटेको हो । त्यसैगरी, एनएमबी बैंकको नाफा ५२.३२ प्रतिशत, प्रभु बैंकको ४३.८१ प्रतिशत, हिमालयन बैंकको ३०.४६ प्रतिशत, सिटिजन्स बैंकको २०.४० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १२.८० प्रतिशत, ग्लोबल आईएमई बैंकको १२.०९ प्रतिशत, नबिल बैंकको १०.८३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८.९६ प्रतिशत, कुमारी बैंकको २.२० प्रतिशत र प्राइम कमर्सियल बैंकको ०.१२ प्रतिशतले घटेको छ ।

त्यस्तै नेपाल बैंकले १४६.७६ प्रतिशत नाफा बढाउँदै सबैभन्दा अगाडि आएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ५४.८० प्रतिशतले, माछापुच्छ«े बैंकको ३०.९८ प्रतिशतले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९.९२ प्रतिशतले, सिद्धार्थ बैंकको १५.०४ प्रतिशतले, एभरेष्ट बैंकको १४.४१ प्रतिशतले, नेपाल एसबीआई बैंकको ९.८१ प्रतिशतले, एनआईसी एसिया बैंकको ९.२५ प्रतिशतले र सानिमा बैंकको १.९८ प्रतिशतले बढेको छ ।

नाफाको परिमाणका आधारमा भने ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा छ, जसले साउन महिनामा ७८ करोड ४५ लाख रुपियाँ कमाएको छ । त्यसपछि नबिल बैंक ७१ करोड ६४ लाख, नेपाल एसबीआई बैंक ६३ करोड ४२ लाख, राष्ट्रिय वाणिज्य बैंक ५५ करोड ८३ लाख र नेपाल बैंक (५५ करोड २७ लाख) क्रमशः शीर्ष पाँचमा परेका छन् । प्राइम कमर्सियल बैंकले पनि ५० करोड ५ लाख नाफा कमाएको छ ।

त्यस्तै, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंकले ४० देखि ५० करोड रुपियाँको बीच मानाफा कमाएका छन् । लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको नाफा ३० देखि ४० करोडबीच छ । सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र माछापुच्छ«े बैंकले २६ देखि २७ करोड रुपियाँ नाफा कमाएका छन् भने एनएमबी बैंकको नाफा १५ करोड ८९ लाखमा सीमित भएको छ । सबैभन्दा कम नाफा कमाउनेमा कृषि विकास बैंक परेको छ, जसले चालु आवको पहिलो महिना ३८ लाख रुपैयाँ मात्र नाफा कमाउन सकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन लुटपाट

हालै भएको आन्दोलनका क्रममा वित्तीय क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै क्षति नभए पनि राष्ट्रिय वाणिज्य बैंकलाई तुलनात्मक रुपमा ठूलो क्षति भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलका अनुसार आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा रहेको बैंकको शाखाबाट ५ करोड रुपियाँभन्दा बढी नगद र करिब १८ किलो सुन लुटपाट भएको छ ।

भदौ २४ गते उक्त शाखामा लुटापट, तोडफोड र आगजनी भएको थियो । बैंकले करिब साढे ३८ करोड बराबरको सुन र नगद गुमाएको छ । बैंकका अनुसार लुटिएको सुन धितोका रुपमा राखिएका गरगहना थिए । उक्त शाखाको लकर सुरक्षित भए पनि कार्यालयको अधिकांश भाग क्षतिग्रस्त भएको छ ।

राष्ट्र बैंकका गभर्नर पौडेलले मुलुकभरका बैंक तथा वित्तीय संस्थाका ६८ शाखा र एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटीएममा तोडफोड वा आगजनी भएको तथ्यांक सार्वजनिक गर्नुभएको छ । तीमध्ये २५ शाखा र ४३ एक्सटेन्सन काउन्टर छन् । उहाँले बैंकहरुलाई क्षतिको मूल्यांकन गरी बुझाउन निर्देशनसमेत दिनुभएको छ ।