‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ लोकार्पण


काठमाडौं।

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ नामक पुस्तक बुधबार लोकार्पण भयो । कामना न्युज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितद्वयले संयुक्तरुपमा उक्त पुस्तक काठमाडौंमा लोकार्पण गर्नुभयो ।

पत्रकार एवं लेखक रोहिणीप्रसाद घिमिरेद्वारा लिखित उक्त पुस्तक लोकार्पणका क्रममा प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठले कालिन्चोकजस्तो उत्कृष्ट गन्तव्यस्थलको बारेमा पुस्तक प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै अन्य गन्तव्यस्थलका बारेमा पनि यसरी नै पुस्तक लेख्न उपस्थित महानुभावलाई सुझाव दिनुभयो ।

यस्तै नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले यो पुस्तक पढेर जानकारी हासिल गरेपछि कालिन्चोक गएमा सहज हुने बताउनुभयो ।

पछिल्ला समयमा दोलखाको कालिन्चोक धेरैको रोजाइको गन्तव्यस्थल बनेको छ । सरकारले समेत नेपालका सय उत्कृष्ट गन्तव्यस्यमध्ये कालिन्चोक पनि एक भएको घोषणा गरिसकेको छ । यस स्थानबारे धेरैले चासो राख्ने गरेकाले पुस्तक लेख्न प्रेरणा जागेको लेखक रोहिणीप्रसाद घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्राचीन ग्रन्थ स्कन्द पुराणको हिमवत्खण्डका पानाहरु पल्टाएं। विभिन्न पुस्तक एवं पत्रपत्रिका पल्टाएँ। अग्रज व्यक्तित्वहरुसँग सोधखोज गरे। मेरो सानो मेहनत र कालिन्चोक कालिकाको कृपाले पुस्तक तयार भई अहिले पाठकहरूको हातमा आइपुगेको छ । ‘कालिन्चोकका सरोकारवाला निकायहरुले पुस्तक लेखन एवं प्रकाशनमा चासो नदिँदा भने दुःख लागेको उहाँको गुनासो थियो ।

लेखक घिमिरेका अनुसार कालिन्चोकको कुरी बजारलाई स्वीट्जरल्यान्डको कुनै रमणीय स्थानसँग तुलना गर्न सकिन्छ । पुस्तकमा कालिन्चोक पर्वत कसरी दुई फ्याक भयो र कसले पुल हाल्यो ? यहाँ प्राप्त तरबारबारे रहस्यात्मक भनाइ, हिउँमा अदभुत घटना यहां सिद्धि प्राप्त गर्ने खप्तड बाबासहित महान् योगीहरुका बारेमा समेत उल्लेख गरिएको लेखक घिमिरेको भनाइ छ ।