राजीनामा माग्ने नेतालाई सीके राउतको जवाफ- पार्टी छोड्ने सही मौका यही हो, सदुपयोग गर्नुस्


काठमाडौँ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूलाई पार्टी नेतृत्व छाड्न दवाब दिने नेताहरुलाई पार्टी छोड्न सकिने भनेर जवाफ दिएका छन् ।

बुधबार सामाजिक सञ्जालमा उनले स्टाटस लेख्दै यो समय पार्टी छोड्ने राम्रो समय भएको भन्दै त्यसको सदुपयोग गर्न सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन । किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेन–जी आन्दोलन छ, युवाहरूको रापताप छ ।’

त्यस्तै, यही बेला पार्टी शुद्धीकरणको हो भन्दै त्यसका लागि मौकाको फायदा उठाएर जनमत पार्टीलाई स्वच्छ, वफादार, इमान्दार र क्रियाशील सदस्यहरूको पार्टी बनाई शुद्धीकरण अभियानमा सहयोग गरिदिन उनले आग्रह समेत गरेका छन् ।

‘हामी पनि आभारी रहनेछौं। तपाईंसँग हाम्रो केही गुनासो हुनेछैन, हामी उल्टा पार्टीमा यहाँको योगदानको लागि सँधैभरि कदर गरिरहनेछौं। राम्रो अवसर खोज्नु मानवीय स्वभाव हो, अन्यथा लिँदैनौं’, उनले लेखेका छन् ।

त्यस्तै, पार्टी छोड्न चाहनेले हस्ताक्षरसहितको पत्र पार्टीको ईमेलमा पठाउन समेत भनेका छन् ।

बुधबारै जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताहरूले सामूहिक पत्रमार्फत २४ घण्टाभित्र नेतृत्व छाड्न अध्यक्ष राउतलाई अल्टिमेटम दिएका थिए।