उद्योग व्यवसायीद्वारा आक्रमणको निन्दा


हेटौंडा ।

मकवानपुरका निजी क्षेत्रका संघसंस्थाहरूले आन्दोलनमा व्यावसायिक घरानामा भएको आक्रमण र आगजनी खेदजनक भएको बताएका छन्। उनीहरूले प्रदर्शनका क्रममा व्यक्तिको मौलिक अधिकार उलंघन भएको र सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन्।

संयुक्त विज्ञप्तिमा भनिएको छ कि उद्योग–व्यवसाय राष्ट्रनिर्माणका आधारस्तम्भ हुन् र देशको विकासमा ठूलो योगदान पु¥याउँदै आएका छन् । यसैले, निजी क्षेत्रप्रति राज्य र नागरिकको दृष्टिकोण सुधार गर्न आवश्यक रहेको उनीहरूले जोड दिएका छन् ।

विज्ञप्तिमा थप भनिएको छ कि आन्दोलनमा निर्माणाधीन संरचनामा क्षति पुगेका निर्माण व्यवसायीले सम्झौताअनुसार क्षतिपूर्ति पाउनुपर्ने र पुँजी पलायन रोक्न राज्यले सहुलियत दिनुपर्ने आवश्यकता छ । साथै, आगामी चाडपर्व र प्रदर्शनमा सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न राज्यलाई आग्रह गरिएको छ ।

यस विज्ञप्तिमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर र मकवानपुर होटल एसोसिएसनका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।