ब्याजदर निरन्तर ओरालो


काठमाडौं ।

वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटाइएको सूचना प्रकाशित गरेका छन् । भदौ महिनाको ५.५७७ प्रतिशतबिन्दुबाट असोजमा यो घटेर ५.४६३५ प्रतिशत बिन्दु पुगेको छ ।
२० वाणिज्य बैंकमध्ये ९ बैंकले ब्याजदर घटाएका छन् ।

प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ०.५ प्रतिशतबिन्दु, सिटिजन्स बैंक र एनआईसी एसियाले ०.२५ प्रतिशतबिन्दु, तथा कुमारी बैंकले ०.२ प्रतिशतबिन्दु घटाएको छ ।

त्यसैगरी, दुई बैंकले ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतबिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतबिन्दु बढाएका छन्। बाँकी ९ बैंकले भदौ महिनाकै दर कायम राखेका छन्। असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत, न्यूनतम ५.०१ प्रतिशत रहेको छ। एनआईसी एसिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले अधिकतम दरमा ब्याज दिनेछन् ।

साथै, संस्थापक मुद्दति निक्षेपको औषत ब्याजदर ०.०८८५ प्रतिशतबिन्दुले घटेको र ७ बैंकले ब्याजदर घटाए भने १३ बैंकले पूर्वै दर कायम राखेका छन् ।