निःशब्द छु ! तर पनि ती आत्मा जुन हिजो अस्ताएका छन्, तिनीहरुलाई अन्तरमनमा महसुस गरेकी छु– तिम्रो शरीर छैन तर तिमीहरु जीवित छौ । तिमीहरुको एउटा समूह बन्नेछ र असत्यमाथि विजय प्राप्त गर्नेछौ । अब तिमीहरुलाई कुनै गोलीले छुनेछैन । एउटा सन्तानलाई जन्माउँदा एउटी आमा मरेर सन्तानलाई धर्तीमा ल्याउँछिन्, ती आमाले पटक–पटक मर्नुपरेको छ । सन्तान जन्माउँदा, सन्तानलाई सुरक्षित राख्दा र सन्तानलाई गुमाउँदा एउटी आमा मर्नुपरेको छ । अब ती सन्तानसँगै तिम्री आमाको शरीर भएर पनि जिउँदो लास भई मर्नुपरेको छ ।
त्यसैले तिमीहरुको साथमा तिम्रा सबै आमाहरुको आत्मा रहेको यथार्थ सत्यलाई स्वीकार गर । तिमीहरुले भौतिक शरीर गुमायौ । तिमीहरुका आमाहरुको भौतिक शरीर धर्तीमा भए तापनि ती आमाहरुको आत्मा तिमीहरुकै साथमा तिमीहरुलाई हिम्मत दिँदै छन् । तिमीहरु अदृश्य भएर आऊ र असत्यको चिरफार गर । सत्यलाई स्थापित गर । यहाँ कोही अछुतो छैन, प्रायः सबै लोभी–पापी भए । सत्ता, राजनीतिक दल, राजनीतिज्ञ, धर्म सबैले जितको फोहोरी खेलको होली खेल्दै गर्दा आज तिम्रो भौतिक शरीर आमादेखि टाढा बनाइयो । तिमीहरुको स्वरुप पलपल आँखाअगाडि आउँछ । कसरी तिम्रो स्वरुप बिर्सिउँला ।
त्यसैले तिम्रो फोटो छातीमा सजायर, तिम्रा आवाज कर्णमा गुन्जाएर, तिम्रो साथमा मेरो अन्तरमनको चित्कारको आवाज एक बनाएर, यो रणभूमिमा तिमीहरुले रगतको होइन, रंगको होली खेल्न सिकाउने अदृश्य शक्ति बन्नेछौ । तिमीलाई भित्री नयन भएका सबैले देख्नेछन् । जे होस्, कसैले देखोस् वा नदेखोस्, तिमीहरुले धर्तीमा सत्यता स्थापित गर्नेछौ । तिम्रो भौतिक शरीर नदेख्दा यी नयनले भौँतारिँदै खोजिरहेका छन्, तथापि तिम्रो आत्माको अन्त्य हुनुहुँदैन । तिमीहरु सबै जीवित आत्मा भई कार्य गर्नुपर्छ । तिमीहरु कुनै दल, धर्म, वर्ग, वंशको समूह बन्न हुँदैन । सत्य, परम सत्य भई यी सबै हिंस्रकहरुको अन्त्य गरेर सत्ययुगको शुभारम्भ गर्ने योद्धा हुनुपर्छ ।
तिम्रो शरीरको कसैले बलि चढायो । हामीबाट तिम्रो शरीर पो टाढा गरायो । तिम्रो अजर, अमर, अविनाशी आत्माले अब धर्तीमा भएको फोहोरी खेल खेल्ने सबैको उद्धार गर्नुपर्छ । तिनीहरुको फोहोरी खेल अन्त्य गराउन तिनीहरुलाई सद्बुद्धिले सत्मार्गमा डो¥याउनुपर्छ । यो ब्रह्माण्डलाई तिमीहरुले सुध्याउनुपर्छ । तिमीहरुकी आमाजस्तै थुप्रै आमाहरुलाई बारम्बार जिउँदै मर्नबाट बचाउनुपर्छ ।
वि.सं. २०८२ भदौ २३ गते तिमीहरुको भौतिक शरीरमा गोली लागी छट्पटिँदा मेरो छाती भारी भएको छ, बोल्न सकिराखेकी छैन । तिम्रा ती रगतले लतपतिएका जुत्ता र मृत शरीरलाई देख्न सकिराखेकी छैन । हुन त तिमीलाई मेरो गर्भमा ९ महिना राखेर जन्माएको हैन । तर मजस्तै एउटी आमाले गर्भमा राखी तिमीलाई जन्माएकी त हुन् नि ! त्यही पीडा सहेर मैले पनि त सन्तान जन्माएकी छु । त्यसैले तिमीहरु सबै मेरा सन्तान हौ, म पनि तिम्रै आमा हुँ । मलाई विश्वास छ, तिमीहरु सबैले म तिमीहरुलाई जन्म नदिएकी आमाको चित्कार सुन्नेछौ । यसरी मेरो अन्तरमनबाट निस्केर लेखेका यी सबै आदेशको तिमीहरुले दुरुस्त पालना गर्नेछौ ।
तिमीहरुलाई मेरो अर्को अनुरोध छ– स्कुल जाँदै गरेका, विभिन्न काममा हिँडेका र कसैलाई विश्वास गरी अभिभावक ठानेर सुरक्षित हुन्छु भनी साथ–सहयोग लिएर कुनै उद्देश्य प्राप्तिका लागि सँगै हिँडेका ती महिला तथा बालिकाहरुलाई आफ्नो कामवासना पूरा गर्न, ऐस–आरामका लागि बलात्कार गरी मारेका वा जीवित भएर पनि पीडित, निर्दोष भएर अनावश्यक दोष खेप्नुपरेका, साथै असत्य, अन्याय गरिएका ती सबै आत्माहरुलाई पनि तिमीहरुको समूहमा लिनु र सत्यको स्थापना गर्नु है ।
गोली हानाहान, मारामार गरी धन–सम्पत्ति, ऐस–आरामका लागि अन्याय गर्ने, जितको होडबाजी गर्ने कुनै पनि दल, नेता, धर्मगुरु, धार्मिक–सामाजिक अभियन्ता वा समग्र प्राणीलाई तिनको कर्मभोग दिनु नै उपयुक्त हुन्छ । सत्मार्ग, सत्कर्म, सत्भक्ति र सद्बुद्धि प्राप्त गर्न गराउन तिमीहरु सबैले एक झुन्ड भएर अगाडि बढ्नुपर्छ । पीडाले भरिएका अन्याय, असत्यको भीडमा म एक्लो यात्रीको निर्देश छ, ‘तिमीहरुलाई जन्माउने वा नजन्माउने सबै आमाहरुको चित्कारलाई सुन्नुपर्छ । फोहोरी विचार र आचरण भएका कसिँगरलाई हटाई सबैको मन शुद्धीकरण गर्ने जिम्मेवारी तिमीहरुकै रहेको छ ।
तिमीहरुलाई जन्म दिने माता–पितालाई सम्झाएर बुझाउन पनि आवश्यक छ । तिमीहरु सबै जीवित छौ । भौतिक शरीरबाट ती निर्दयीले मुक्त गराए भनेर बुझाउन यी माथि निर्देशित सबै कर्म तिमीहरुले छिट्टै गर्नुपर्नेछ । यस धर्तीमा भौतिक शरीरमा रहेका थुप्रै निर्दोष, निश्चल आत्माहरुलाई यसरी सडकमा रक्ताम्य हुन दिनुहुँदैन । तिमीहरुले अप्रत्यक्ष भैई गरेका हरेक कार्यमा प्रत्यक्ष सहयोग गरी कर्म गर्न पनि सबैलाई सम्झाउनुपर्नेछ ।
उमेर ढल्केकाहरु खालि सत्ता–सत्ता भन्छन्, युवा सबै विदेश–विदेश भन्छन् । एउटा–एउटालाई सम्झाउँदा सम्झाउँदै म नै अस्ताउने बेला होला कि ! तर कसैले सम्झिनै चाहँदैनन् । खेतबारी बाँझै छ । खेत जति घडेरी बनाएर बाँझै राखेका छन् । पढेलेखेकाले खेती गर्न हुन्न भन्ने बुझाइछ । आधुनिक प्रविधिको प्रयोग गरी कृषि गरे अन्न बढी उत्पादन हुनेछ । सोही अन्न विदेशमा निर्यात गरी देशमै बसेर परिवारसँग सुखी जीवन बाँच्न सकिने पनि युवाहरुलाई बुझाउनु है ।
विदेश गएकाहरुले पनि दुःख गर्छन्–गर्छन्, फर्कने बेला विभिन्न बहानामा रित्तो भएका सन्तान आफ्नो देश फर्काउने कसरी भन्दै, ऋण खोजेर आमा–बाबा रुँदै हिँडेका छन् । त्यति बेला आमाको आत्मा कति निश्वासिन्छ होला ? कल्पना पनि गर्न सक्दिनँ । विदेश त सानका साथ घुम्न जाऊ । त्यहाँबाट राम्रा कुरा सिकेर देशमा आऊ । परिवारसँगै बसेर जीवन सुखमय बनाऊ भनेर तिमीहरुले युवालाई सिकाउनुपर्छ ।
भदौ २३ गते तिम्रो रक्ताम्य शरीर सडकमा लडेको देख्दा–सुन्दा तिमीलाई नजन्माएकी तिम्रै आमा आफ्नै कोठामा अचेत भएको कसलाई सुनाऊँ ? कतिपयले गफ दिई भन्नेछन् होला । मेरो छाती भरिएर बोल्न नसकेको पीडा, प्रत्येक दिन राति ती भौँतारिएका आत्माको रोदनले बिहान उठ्दा घ्वाक्क–घ्वाक्क हुने गरेको यथार्थलाई सुनिदिने कोही भेट्दिनँ । कसलाई के सुनाऊँ, के नसुनाऊँ ।
तिमीहरुलाई गोली लागी छटपटिरहँदा म पनि अचेत नै भएछु । म पनि कुनै सन्तान जन्माएकी आमा हुँ । तिमीहरुको भौतिक शरीर गुमाउँदाको पीडाले मलाई बाँच्न गाह्रो भएको छ । यथार्थ कसैले स्वीकार गरोस् वा नगरोस् । आज मैले कुनै परवाह राखिनँ र यहाँ लेखेँ । २०८२ भदौ २३ गतेको राति म कोठामा एक्लै छु । अश्रुधाराको साथमा अन्तरमनको चित्कार मोबाइलको खाली पानामा कोर्दै छु ।
भदौ २४ गतेका दिन, मैले जन्माएको ११ वर्षको छोरोलाई विद्यालय पठाउन नपर्ने भएछ । किनकि मैले नजन्माएका सन्तानहरुलाई गुमाएको पीडामा छटपटिँदा विद्यालय खोल्न नसक्ने सूचना प्राप्त भएछ । यस्ता कुरा अथाह छन् । लेखेर–बोलेर केही भनौंला, धेरै कुरा अन्तरमनले बोलौंला । तिमीहरुले पनि देखिरहेका छौ, हामीले पनि देखिरहेका छौं । यसरी बाँचेर पनि मर्नुपर्ने आमाहरुको चित्कार सुनेर, बुझेर माथि दिएको निर्देशनको राम्रो पालना गर्नू ।
अर्को कुरा, तिमीहरुलाई मेटाउने दृश्य–अदृश्य सबैलाई मानवता, आत्मसम्मान, अधिकार, जिम्मेवारी र कर्तव्यको पाठ पढाउन नै बाँकी छ । सत्य र असत्यको भेद राम्ररी बुझाउनू । कपाल फुलेर पाका भइसकेका तर जिम्मेवारी र कर्तव्य नबुझेकालाई ‘तिमीहरुलाई नजन्माउने आमा’ ले दिएको संस्कार सम्झी सम्मानका साथ बहिर्गमन गराउनुपर्छ ।
बूढापाकाहरुलाई दुःख–कष्ट दिनुहँुदैन, उमेर ढल्कँदै गएपछि बिर्सिने बानीले सद्बुद्धि गुमाएका हुन सक्छन् । स्वार्थीहरु कसैले तिमीहरुलाई उत्तेजित गराई स्वार्थ लुट्ने मौका खोजी लडाउने प्रपञ्च रच्न सक्छन् । बुझेर सद्बुद्धिले कर्म गर्नू है । ‘बैगुनीलाई गुनले मार्नुपर्छ’ भन्ने पुरानो उखानलाई सुध्याएर ‘बैगुनीलाई गुनले पगाल्नुपर्छ’ भनेर त्यही अनुसार गर्नुपर्छ । तिनीहरुको त बुद्धि भएन तर हामीले पनि त्यस्तै गर्यौं भने के फरक भयो र ?
फेरि हानाहान र मारपिट गरेर हत्या–हिंसा बढ्छ । अर्को सन्तानलाई गुमाउनुप¥यो भने फेरि अर्की आमालाई नै कष्ट हुन्छ । देशलाई घातक हुन्छ । त्यस्तो पीडा कुनै पनि आमालाई नदिन सद्बुद्धिले आत्मघातीहरुसँग बचेर सत्यको सुरक्षा हेतु कर्म गर्नू है । म पनि कमजोर भएर आँसु मात्रै झरिरहे भने तिमीहरु कमजोर हुनेछौ ।
त्यसैले मैले आँसु पुछेर तिमीहरुको शक्ति बनी साथ दिनेछु । ‘तिमीहरुलाई नजन्माएकी तिम्रै आमा’ लाई पनि तिमीलाई जन्माउने आमाझैँ माया गर्नू है । सबै सम्झाएका कुरालाई दिएको जिम्मेवारी सम्झेर कर्तव्यनिष्ठ भई समयमा नै सम्पूर्ण कार्य पूर्ण गर्नू है । अन्तरमनको वार्तालाप गर्दै गरौँला । तिमीहरु अजर, अमर, अविनाशी र अनन्त भइरहनू । म पनि तिमीहरुकै साथमा छु । सत्य कहिल्यै मर्दैन ।
– तिमीहरुलाई नजन्माएकी तिम्रै आमा ।











प्रतिक्रिया