भ्रष्टाचारविरुद्धको महाअभियान

752
Shares

हाम्रो देशका राजनीतिक दलहरू धेरै गन्हाइसकेका थिए । त्यसको खास कारण थियो– भ्रष्टाचारको दलदलमा फस्नु र अहंकारको मादले मात्तिनु । शासन सत्ता हातमा लिएका हरेक राजनीतिक दलका शीर्ष नेताले गरेको महान् पुरुषार्थ भनेको कुन क्षेत्रमा च्यानल मिलाएर हुन्छ, त्यसै क्षेत्रमा भ्रष्टाचार गरी अर्काको भन्दा बढी धन थुपार्नु थियो । उनीहरुले यसैलाई सर्वोपरि ठानेका थिए ।

यो कुरा जेन्जी समूहले छेडेको महाअभियान र केही भ्रष्ट नेतामाथि गरेको भौतिक कार्यवाहीपछिका दिनमा उनीहरूका महलमा आगजनी गरेपछिका अवस्थाले देखाएको छ । शीर्ष नेताले खर्ब रुपियाँको तकियामाथि सुतेका वा सुत्दारहेछन् भन्ने कुरा थाहा भएको छ । देशको विकासको लागि भनेर छुट्याएको रकममध्ये माथिदेखि चुहिँदै गएर खास कामको क्षेत्रमा २० प्रतिशतको हाराहारीमा मात्रै पुग्थ्यो । यो कुरा सरकारले छुट्याएको बजेटको क्षेत्रमा काम गर्ने गरेका हरेक भुक्तभोगीलाई पनि थाहा भएकै थियो ।

थाहा भएर पनि त्यस्ता नकारात्मक कर्मका बारेमा उठाएको वा उठेको एक्लो आवाज कता बिलाएर जाने मात्र होइन कि ताल परेको खण्डमा कार्यवाहीको समेत भागी बन्नुपर्ने बाध्यता थियो । अझ भन्ने हो भने, मन नमानेर पनि विवशताका साथ सहेर बस्नुपर्ने अवस्था थियो । एक शीर्ष नेताले खर्ब रुपियाँ, सोही अनुसारको सुन–चाँदी लुकाउन थालेपछि देश क्रमशः खोक्रो हुँदै जान थाल्यो । युवाले पाउनुपर्ने रोजगारीको उचित अवसरबाट वञ्चित हुँदै जान थालेपछिका दिनमा सोही अप्ठ्यारोको विकल्पको रुपमा वैदेशिक रोजगारीमा जान थालेपछि केही राहत महसुस गर्न थालिएको हो ।

ती शीर्ष दलका शीर्ष नेताले सकेसम्म र पाएसम्म आफ्ना तिखा दाह्रा र नड्ग्रा धस्न र कब्जा जमाउन छाडेनन् । आफ्नो राजनीतिक दलमा आबद्ध भएका कुनै पनि सदस्यलाई देशको भलाइका लागि, आम नेपाली जनताको भलाइका लागि कर्मक्षेत्रमा जुट्नुपर्ने सल्लाह कहिल्यै दिएनन् । केवल आफ्नो राजनीतिक दल र त्यसभित्रको शीर्ष नेतृत्वलाई कसरी धेरै धनी बनाउने ? भन्ने तर्कना र सोचाइले मात्र उनीहरूको दिमाग भरिएर रह्यो ।

कसैले आफ्नो राजनीतिक दललाई सर्वहारा वर्गको नेतृत्व गर्ने राजनीतिक दलको रूपमा चिनाए भने कसैले समाजवादी राजनीतिको खास्टो ओढेर जनता र देश लुट्ने काममा लागि नै रहे । हरेक सरकारी कार्यालयमा गएका सेवाग्राहीले केही न केही मात्रमा घुस खुवाएर मात्र आफ्नो काम फत्ते गर्न सक्ने भए, नत्र घुस खुवाउन नसक्ने वा नमान्ने सेवाग्राहीको पाँच मिनेटमा सम्पन्न हुने कामका लागि पाँच महिना धाउनुपर्ने अवस्था सिर्जना गरेर देश र जनता लुट्नमा नै व्यस्त रहे ।

जनता लुट्ने यस्ता अपराधले भरिएका कर्ममा उनीहरुले अरुलाई पनि प्रभावित बनाएर सोही काम गर्न बाध्य बनाए ।
देशको धन शीर्ष नेताले लुटेर आर्थिकरुपमा देश खोक्रो पार्दै लगे । त्यसपछि विदेशीसँग ऋण काढेर कर्मचारीको तलब खुवाउनेजस्ता नाटक मञ्चन गरी आम नेपाली जनताले थेग्नै नसक्ने गरेर वैदेशिक ऋणको भार हामी नेपाली जनताको टाउकोमा थोपरे । आफूहरूले त्यस धनको पनि अधिक हिस्सा आफ्नो व्यक्तिगत धनसारमा थुपारेर रजाइँ गर्न थाले । नामले लोकतान्त्रिक वा गणतान्त्रिक शासन व्यवस्था भनिए पनि वि.सं. २०६२÷०६३ देखि हालसम्मको नेपालको शासन व्यवस्थालाई लुटतन्त्रको शासन व्यवस्था भन्दा फरक पर्नेछैन । उनीहरूको भ्रष्टाचारको बाटोमा कसैले अवरोध पु¥याएको खण्डमा त्यस्तालाई सकेसम्म गोप्य तरिकाले, कुनै प्रमाण नभेटिने तबरले मार्न लगाउने, यदि मार्न अनुकूल नभएको खण्डमा हरेक थरीका मुद्दा लगाएर उसलाई थला पार्ने प्रयत्नमा लागिरहे ।

पुराना शासकबाट सञ्चान भएको शासन व्यवस्था कहिल्यै पनि आम जनताले बुझ्ने गरी पारदर्शी बन्न सकेन । शासन आम जनताका माझ पारदर्शी बन्न सकेन र गोप्यरुपमा चल्न थालेको खण्डमा तिनै आम जनताको भलाइका लागि सञ्चालन भएको नभई, देशको भलाइको लागि नभई, केवल नेतृत्व गर्ने व्यक्तिको व्यक्तिगत भलाइका लागि मात्र हुन पुग्छ भन्ने कुरा आम जनताले बुझेका हुन्छन् । नेपालको २०६२÷०६३ को परिवर्तनपश्चात्का कोही पनि शासकले जनताका पक्षमा शासन नचलाएका मात्र होइनन् कि अनैतिक कर्मका धेरै थरीका अफवाहका कारकसमेत बन्न पुगेका छन् । यी सम्पूर्ण कारणले गर्दा आम नेपाली जनताले यिनका लुटपाटका घिनलाग्दा क्रियाकलापलाई देखेर, सुनेर, बुझेर पनि नसुनेको जस्तो, नदेखेको जस्तो गरेर लाचार बन्नुपरिरहेको छ ।

तर बलजफत सहेर बसे पनि भित्रको मानसिक आत्मा भने हर्दम पीडाले छटपटाइरहेको अवस्थाबाट गुज्रिरहेको छ । आज आएर जेन्जी समूहका युवाहरूले उक्त मानसिक दिग्दारीबाट गिजोलिएको दिमागलाई थोरै भए पनि सफा बनाउने प्रयास गर्न सकेका छन् । यस कामलाई खुशीसाथ सलाम गर्नुपरेको छ । जसको इशारा बुझिसकिएको छ कि ती पुराना राजनीतिक दलका भ्रष्ट नेताहरुलाई भौतिक कार्यवाहीको घेरामा ल्याएर कार्यवाही अगाडि बढाइरहँदा होस् कि तिनका बासस्थानमा आगजनी गरेर विनाश लीला मच्चाउँदै गर्दाको अवस्थामा होस्, सबैजसो नेपाली जनताका अनुहारमा केही न केही मात्रामा भए पनि खुशीका लहर दौडिरहेको कुरा प्रस्टै आँकलन गर्न सकिन्छ ।

विगतमा आम जनताले माया गरेर खुवाएका, प्रहरीको आक्रमणबाट जोगाउनको लागि आफू ढाल बनेर जोगाएका नेताले आज यति धेरै मात्रामा जनतालाई गरिबीको आगोमा पिल्स्याएर लुटेको धनले आफू र आफ्ना भरौटे, झोले कार्यकर्ताको भरणपोषण गरी ऐयासीपूर्ण जीवन बिताउँदै गरेको देख्दा कुन जनताको मन नरोला ? ती नालायक नेतालाई कसले धिक्कार नदेला ? दर्जनभन्दा अधिक निर्दोष नागरिक मारेर हत्यारा प्रमाणित भई जेलजीवन बिताउँदै गरेको अपराधीलाई आफ्नो स्वार्थ पूर्तिको नाममा जेलमुक्त गराउने हर्दम प्रयासमा लाग्ने नेताभन्दा ठूलो अपराधी मान्छे को होला र ? त्यस्ता अपराधीलाई छोटो समयमा नै कार्यवाही गरेर शासन व्यवस्थालाई पल्टा खुवाउने सामथ्र्य बोकेका जेन्जी समूह आम नेपाली जनताका मुक्तिदाताका रुपमा युग–युगसम्म परिचित भइरहने छन् ।

जेन्जी समूहका जुझारु भाइबाहिनीले गरेको यो कर्मको बीउ उन्नत र गौरवले भरिएको भए पनि ती पुराना र भ्रष्ट राजनीतिक दलहरू अबका दिनमा दबिएर वा चुप लागेर बस्नेवाला छैनन् । सधैँभरि सत्ताको कुर्सीमा टाँसिइरहनुपर्ने मानसिकता बोकेका उनीहरू पुनः सक्रिय भएर अन्तरिम सरकारका सुचारु क्रियाकलापमा अवरोध हाली सफल हुन नदिने प्रयत्न गर्न सक्छन् । अत्यन्तै सजग हुनुपर्ने देखिन्छ । केवल वर्तमानको छोटो अवधिको सानो आकारको सरकारले आइलागेका सबै चुनौतीको सामना गरेर अगाडि बढ्न सक्नुपर्छ । नकारात्मक विषयलाई भरसक दिमागबाट हटाएर आम नेपाली नागरिकका तर्फबाट पनि सरकारलाई सकेसम्म सल्लाह, सुझाव दिँदै र आवश्यक परेको समय र स्थानमा सहयोग गरेर सुचारुरुपमा अगाडि वा सही बाटोतिर उन्मुख गराउनु हामी आम नेपाली सबैको दयित्व हो । अवरोध गर्न खोज्नेलाई निरुत्साहित बनाउने काम पनि हाम्रै जिम्मेवारीको काम हो । आम नेपाली देशभक्त नागरिकको कर्तव्य हो यो ।

हालको अन्तरिम सरकारको दायित्व धेरै महत्वपूर्ण र संवेदनशील रहेको छ । हालको अन्तरिम सरकारको प्रमुख व्यक्तित्व भनेको सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की रहनुभएको छ । उहाँ उमेरले झन्डै सात दशक वर्ष पूरा गरेकी एक निडर, स्पष्ट वक्ता, संघर्षशील महिला हुनुहुन्छ । अहिलेको यो संवेदनशील परिस्थितिको सामना गरेर देशलाई एउटा निकासको मार्गमा लैजान उहाँ अवश्य सफल हुनुहुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

उहाँ कानुनमा समेत विज्ञ व्यक्तित्व भएका कारण धेरै सुझबुझका साथ अगाडि बढ्नुहुनेछ र अन्तरिम शासन सञ्चालनको यात्राकी सफल यात्री बन्नुहुनेछ । उहाँ एक महिला प्रधानमन्त्री मात्र नभएर एक सन्तानकी एक ममतामयी आमा, एक धर्मपत्नी, एक बुहारी, एक सासू, एक सामाजिक विसंगति हटाउका अभियन्तासमेत भएकीले यो देशलाई अथाह मायाका साथ आफ्नो कर्तव्यपथमा लाग्नुहुनेछ ।

उहाँ देश र नाति पुस्ताका जेन्जी समूहका जुझारु भाइबहिनीलगायत आम जनताको भ्रष्टाचाररहित शासन व्यवस्थाको सपनालाई साकाररुपमा व्यवस्थित गर्न हर्दम प्रयासका साथ सफल हुनुहुनेछ । २००७ सालदेखि र त्यसअगाडिदेखि नै पनि नेपाली पुरुषहरूले चलाउँदै आएको असफल र भ्रष्ट शासनका तुलनामा सदाचारी र सफल शासन व्यवस्था कायम गर्न सक्नुहुनेछ ।

उहाँको छोटो र अन्तरिम शासनकालमा विदेशी र त्यसमा पनि छिमेकी देशसँगको कूटनीतिक सम्बन्ध सुमधुर र मैत्रीपूर्ण बनेर जानेछ । २०६२ देखि मात्र होइन कि त्यसअगाडिका भ्रष्ट शासक, कर्मचारी सबैलाई कार्यवाहीको दायरामा ल्याउन सकेका खण्डमा आउँदा पुस्ताका शासक र कर्मचारी त्यस्ता अनैतिक काम गर्न उत्साहित बन्ने छैनन् । हाम्रो देशको समग्र विकासको बाधक नै शासक र कर्मचारीको भ्रष्ट मानसिकता हो ।

हदैसम्मको कार्यवाही हुने कानुन बनाएर साँचोरुपमा कार्यवाहीसमेत हुने हो भने आउँदा पुस्तामा त्यस्ता नकारात्मक काम कदापि हुनेछैनन् । भ्रष्टाचार नभएको खण्डमा आउँदो एक दशकभन्दा पनि अगाडि नै देश विकासमा कायापलट हुनेछ । हामीकहाँ साधन र स्रोतको अक्षय भण्डार भएर पनि शासकका कुशासनले गर्दा तिनको उचित सदुपयोग हुन नसकेका कारण हामी सधैँ गरिब बन्न विवश भएका छौँ ।

जेन्जी भाइबहिनीको यो प्रहारले आम भ्रष्ट शासकको पनि अवश्य चेत खुलेको हुनुपर्छ । तिनका सन्तान (जसले अभिभावकले अनैतिकरुपमा कमाएको धनमा विलासी जीवन बिताउँदै छन्) लाई पनि उनीहरुका अभिभावकमाथि गरिएको कार्यवाहीले पक्कै प्रभाव पारेको हुनुपर्ने हो । यदि अबका दिनमा पनि उनीहरूले त्यस्तै ऐयासी जीवन बिताएका हुन्छन् भने कार्यवाहीको असर परेन भनेर जानिएला ।

होइन भने असर परेको बुझिएला । जे होस्, १३ वर्षदेखि २८ वर्ष उमेर समूहका जेन्जी भाइबहिनीको यो अभियानलाई पुनः अभिवादनका साथ उनीहरूले सोचेअनुसारको सदाचारी शासन व्यवस्था मात्र होइन कि हाम्रो हरेक समाज पनि कर्तव्यनिष्ठ र सदाचारी बनोस् र सधैँको गरिब देशको नाममा दर्ज हुने गरेको नेपाल केही वर्षमै संसारको विकसित राष्ट्रको रुपमा विश्वसामु परिचित होस् ।