१ खर्ब जोगाउन अर्थमन्त्रीले खुद्रे आयोजना रोक्ने


काठमाडौं।

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा समावेश गरिएका खुद्रे आयोजना अघि नबढाइने घोषणा गर्नुभएको छ । उहाँले यस्ता आयोजना रोक्दा करिब १ खर्ब रुपियाँ बचत हुने र सो रकम आगामी निर्वाचनमा उपयोग गर्ने योजना रहेको बताउनुभएको छ ।

सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्रालयका अधिकारीहरूसँगको छलफलमा अर्थमन्त्री खनालले खुद्रे आयोजना हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले पूरक बजेट ल्याउने कुनै सोच नभएको भन्दै चालू आर्थिक वर्षकै बजेटभित्रै निर्वाचन खर्च व्यवस्थापन गर्ने योजनाबारे जानकारी दिनुभयो ।

खनालले तत्कालका लागि नयाँ सवारी साधन खरिद नगर्ने र उपलब्ध सवारी साधनमै काम चलाउने प्रतिबद्धता जनाउँदै सेवाग्राही तथा निजी क्षेत्रसँग कठोर नभई सहजीकरण गर्ने निर्देशन समेत मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले निजी काम वा छलफलका लागि घर वा होटलमा नआउन आग्रह गर्दै सबै काम अफिसमै गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

युवाहरूको बलिदानपछि ठूलो परिवर्तनको अवस्था आएको उल्लेख गर्दै खनालले ‘यो नासोलाई पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ’ बताउनुभयो ।
यसैबीच, नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले आन्दोलनका क्रममा ६८ वटा बैंक शाखा कार्यालयमा आक्रमण र ६९ वटा एटिएममा क्षति भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको जानकारी दिनुभाएको । सोमबार अर्थमन्त्री खनालको पदभार ग्रहण समारोहमा बोल्दै गभर्नर पौडेलले बैंकहरूलाई आन्दोलनकारीहरूले प्रत्यक्ष निशाना नबनाएको बताउनुभयो । ‘अहिलेको अवस्थामा सबैको मनोबल घटेको छ, त्यसलाई बढाउनुपर्ने आवश्यकता छ ।’ गभर्नर पौडेलको भनाइ छ ।