राष्ट्रिय एकता र संयमताको परीक्षा


जेनजी आन्दोलनका नाममा देशले भोगेको अराजक घटनाले मुलुकलाई गम्भीर संकटको मोडमा पु¥याएको छ । साइबर हमलादेखि सडक आन्दोलनसम्म फैलिएको अशान्तिले केवल सरकारको संरचना परिवर्तन मात्र गरेको छैन, आम नेपालीको मनमा गहिरो आघात पनि पु¥याएको छ । सरकार ढलेर अर्को बने पनि मूल प्रश्न भने उही छ । राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम छ कि छैन ? आजको अवस्थामा सबैभन्दा ठूलो चुनौती पनि यही हो ।

देशलाई अस्थिरताबाट स्थिरतामा डो¥याउने दायित्व मुख्यतः पुराना दलको काँधमा छ । जेनजी पुस्तालाई प्रयोग गरेर मुलुकमा मच्चाइएको वितण्डालाई इगो बनाउने, राजनीतिक अंकगणितमा मात्र प्रयोग गर्ने अवस्थाबाट मुक्त हुन जरुरी देखिन्छ । अन्यथा, अस्थिरतामा रमाउने शक्ति फेरि जात, धर्म वा पहिचानको नाममा राजनीति गराउने प्रयत्न गर्नेछन्, जसले मुलुकलाई प्रतिक्रान्तितर्फ धकेल्न सक्नेछ । यो बेला आवश्यक छ– संयमता, विवेक र दीर्घदृष्टिको । आक्रोशमा आएर प्रतिशोध खोज्ने हो भने मुलुक अझै गहिरो संकटमा फस्नेछ । केही तत्वहरुले भएको हिंसालाई उचित ठहर गर्ने र त्यसलाई ठीक हो भन्ने भाष्य निर्माण गर्ने प्रयास गरिरहेका छन्, तर त्यस्तो प्रवृत्ति क्षमायोग्य छैन । हिंसा जसरी भए पनि गलत हो र त्यसको समर्थन गर्नेलाई इतिहासले माफ गर्नेछैन ।

नेपाल आज एउटा संवेदनशील अवस्थामा उभिएको छ, जहाँ आन्तरिक राजनीति मात्र होइन, बाह्य शक्तिको हस्तक्षेप गर्ने सम्भावना पनि उत्तिकै उच्च छ । अस्थिरताको फाइदा उठाउने समूहले फेरि सक्रिय हुने संकेत देखाइरहेको छ । त्यसैले, भदौ २३ र २४ गतेका घटनाबाट प्रतिशोध होइन, विवेकपूर्ण पाठ सिक्ने समय आएको छ । विश्व इतिहासले हामीलाई चेतावनी दिएको छ । सन् १९९४ मा रुवाण्डामा जातीय विभाजनका कारण केही महिनामै १० लाख मानिसको ज्यान गयो । त्यो त्रासदी हाम्रो लागि ठुलो पाठ हो । घटनाबाट पीडा लिने तर प्रतिशोध होइन, मेलमिलाप र एकताको बाटो रोज्ने बेला आएको छ ।

नेपालले त्यो बाटो रोज्न सकेन भने परिणाम अझै भयावह हुन सक्छ । अर्कोतर्फ, आगामी ६ महिनापछि हुने भनिएको निर्वाचन मुलुकलाई नयाँ दिशातर्फ लैजाने अवसर पनि हो । पुराना दलहरुले अतीतका गल्तीलाई स्वीकार गर्दै युवापुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने साहस देखाउनुपर्नेछ । केवल पद र सत्ता कब्जा गर्ने सोचले होइन, लोकतन्त्रप्रतिको जिम्मेवारीबोधसहित जनताको सामु स्पष्ट अडान लिनुपर्ने समय यही हो । त्यसैले दलहरुले यो चुनौतीलाई अवसरका रुपमा लिनुपर्छ ।

आज मुलुक स्तब्ध छ, तर निराश हुनुपर्ने अवस्था छैन । राजनीतिक दलहरुले संयमता अपनाए, हिंसालाई ठाडै अस्वीकार गरे र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकता दिए भने मुलुकलाई अस्थिरताबाट निकालेर स्थिर भविष्यतर्फ अघि बढाउन सकिने हुन्छ । प्रश्न भने उस्तै छ, पुराना दलहरु साँच्चिकै लोकतान्त्रिक संस्कृति बोकेका छन् कि केवल सत्ताको लागि लालायित छन् ? यो अहं प्रश्नका रुपमा खडा भएको छ । नेपालका नागरिकले अब ‘कथित सुधारका बाचा’ होइन, ठोस कार्य देख्न चाहेका छन् । पुराना दलले आगामी चुनावलाई आफ्नो राजनीतिक अस्तित्वको मात्र प्रश्न होइन, मुलुकको भविष्य र राष्ट्रिय एकताको परीक्षाका रूपमा लिनुपर्छ । यही बेला विवेक, साहस र सहमति प्रदर्शन गर्न सके मात्र मुलुक स्थिर हुन सक्छ ।