आगजनी र लुटपाट गर्नेविरुद्ध एनसेलले दियो उजुरी


काठमाडौं ।

लैनचौरस्थित एनसेलको मुख्यालय ‘एनसेल आइकन’मा भदौ २४ गते जेन–जी आन्दोलनका नाममा आपराधिक समूहले गरेको तोडफोड, आगजनी र डकैती घटनाबारे कम्पनीले औपचारिक उजुरी दर्ता गरेको छ । एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनअनुसार कडा सजाय दिलाउन माग गरेको छ ।

कम्पनीले उजुरीमा भवनभित्र प्रवेश गरी ग्राहक सेवा केन्द्र, रिसेप्सनलगायतका तल्लामा रहेका बहुमूल्य विद्युत उपकरण, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, कफी मेसिन, फिटनेस सामग्री, नगद र सेफमा रहेका कागजात तथा धातुजन्य सामानसम्म डकैती गरिएको उल्लेख गरेको छ । साथै, कार्यालय प्रयोजनका महत्त्वपूर्ण कागजात, प्रमाणपत्र, अनुमतिपत्र र जग्गाधनी प्रमाणपुर्जासमेत जलाइएको वा लुटिएको दाबी गरेको छ ।

एनसेलका अनुसार आन्दोलनकारीले समूह बनाएर सुरक्षाकर्मीलाई धम्क्याई कोठामा थुनेपछि भवनको प्रत्येक तलामा तोडफोड तथा आगजनी गरेका थिए। कर्मचारीका व्यक्तिगत लकरसमेत फोडी ल्यापटप र गहनादेखि निजी सामानसम्म डकैती गरिएको कम्पनीको भनाइ छ ।

त्यसैगरी, एनसेलको आफ्नै तथा भाडामा लिइएका महँगा मोटरगाडीहरू पनि नियन्त्रणमा लिएर भवनको आँगन र सडकमा ल्याई आगजनी गरिएको उजुरीमा जनाइएको छ। कर्मचारीका निजी सवारीसाधनसमेत तोडफोड र जलाइएका कारण ठूलो आर्थिक तथा भौतिक क्षति भएको कम्पनीको दाबी छ ।

एनसेलले घटनामा भएको क्षतिको प्रारम्भिक विवरण र लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराइसकेको छ। साथै, घटनाको सम्पूर्ण सिसिटिभी फुटेज पनि अनुसन्धानमा सहयोग पुगोस् भनेर प्रहरीलाई बुझाइएको जनाएको छ। कम्पनीले तोडफोड र डकैतीबाट भएको वास्तविक क्षति यकिन गर्न मूल्याङ्कनको काम भइरहेको र थप विवरण अनुसन्धान प्रक्रियामा उपलब्ध गराइने बताएको छ।