शीर्ष नेतृत्वका कारण दलहरूको अस्तित्व संकटमा

नेतृत्वमा नयाँ पुस्ताको माग

5.08k
Shares

काठमाडौं।

पछिल्लो समय देशभर फैलिएको युवा पुस्ताको विद्रोहले नेपालका राजनीतिक दललाई गहिरो झट्का दिएको छ । मुलुकमा फैलिएको चरम भ्रष्टाचार, बेथिति र एउटै पुस्ताले करिब चार दशकसम्म एकलौटी शासन गरेको विरोधमा उत्रिएका युवाले सडक तताएपछि दलहरूमा पुस्ता हस्तान्तरणको बहस उच्चतम विन्दुमा पुगेको छ ।

यसै सन्दर्भमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलभित्र नेतृत्व पुस्ता परिवर्तन गर्नुपर्ने आवाज चर्किएको छ । दलका भित्री संरचनादेखि नेतृत्व चयन प्रक्रियासम्म युवा पुस्ताले दबाब सिर्जना गरेका छन् ।

नेकपा एमालेभित्रै कार्यकर्ताहरूले वडादेखि केन्द्रीय कमिटीसम्म पुनर्गठनको माग गरेका छन् । कार्यकर्ताले पार्टी नेतृत्वलाई ‘६०–४०’ को नयाँ मापदण्ड प्रस्ताव गरेका छन् । जसअनुसार केन्द्रीय पदाधिकारी ६० वर्षभन्दा कम उमेरको र अन्य संरचनाका पदाधिकारी ४० वर्षभन्दा कम उमेरका हुनुपर्ने माग अघि सारिएको छ ।
एमालेका युवा नेता दीपेन्द्र सिंखडाले दलभित्र पुस्ता हस्तान्तरण अब अपरिहार्य भएको स्पष्ट पार्दै भन्नुभयो– ‘अब पार्टी पुनर्गठन गर्नुको विकल्प छैन । एउटै पुस्ताले लगातार चार दशक देश चलाउने अभ्यास समाप्त हुनैपर्छ । युवाले देखाएको बाटो अवरोध होइन, नयाँ युगको सुरुवात हो ।’

नेपाली कांग्रेसका नेता गगन थापाले पनि दलभित्र पुस्ता हस्तान्तरण अपरिहार्य भएको चेतावनी दिनुभएको छ । उहाँले कांग्रेसमा तत्कालै नेतृत्वमा बसिरहेका नेताहरूले बाटो खुलाइदिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो– ‘अब पार्टीलाई लयमा लैजानु छ भने पुराना नेता अनिवार्य अवकासमा जानुपर्दछ । युवालाई जिम्मेवारी दिनु नै पार्टीको नयाँ सुरुवात हुनेछ । अन्यथा, कांग्रेसले पनि आगामी दिनमा जनताको भरोसा गुमाउने खतरा छ ।’

नेकपा माओवादी केन्द्रका नेता जर्नादन शर्माले भन्नुभयो– ‘हामीले विगतमा कैयौं गल्ती गरेका छौं । हिजो सशस्त्र युद्ध, आज शान्तिप्रक्रियामा आएपछि मुलुकमा रूपान्तरण ल्याउन नसकेको परिणाम हो यो अब पार्टीलाई कसरी बनाउनुपर्छ भन्ने सवालमा सबैलाई समेटेर गम्भीर छलफल गर्नैपर्छ ।’ उहाँको भनाइले माओवादीमा पनि आत्मआलोचनाको स्वर मुखरित हुन थालेको स्पष्ट देखिन्छ ।

राजनीतिक शास्त्री चन्द्रकान्त अधिकारीका अनुसार यो आन्दोलन केवल नेतृत्व परिवर्तनको मागमात्र होइन, समग्र दल प्रणालीलाई सुधार्नुपर्ने ऐतिहासिक अवसर हो । उहाँले भन्नुभयो– ‘अब दलहरूले तीनवटा कुरा प्राथमिकतामा राख्नुपर्छ । पहिलो, पुस्ता हस्तान्तरण; दोस्रो, आन्तरिक लोकतन्त्रको संस्थागत अभ्यास र तेस्रो, पारदर्शिता तथा जवाफदेहिताको प्रणाली यी तीन आधारमा मात्र दलले जनताको भरोसा पुनः प्राप्त गर्न सक्छन् ।’ उहाँले थप्नुभयो– ‘यदि, दलहरूले अझै पुरानै ढर्रा कायम राखे भने नेपालको राजनीतिक संकट अझै गहिरिनेछ । यो आन्दोलनले दललाई मात्र होइन, विश्व राजनीतिलाई पनि सन्देश दिएको छ । बूढा पुस्ताले समयमा नै नयाँ पुस्तालाई अवसर नदिँदा विद्रोह भएको हो ।’

बुद्धिजीवी पद्मप्रसाद भट्टराईका अनुसार राजनीतिक दल अब सत्ताको खेल होइन, सेवाको संस्था बन्न जरुरी छ । उहाँले भन्नुभयो– ‘दलहरू आजसम्म सत्तामा पुग्ने सिँढी बने । तर, अब दललाई आम नागरिकले आफ्नो आवाज राख्ने संस्थाको रूपमा अनुभूति गर्नुपर्ने समय आएको छ । युवाको विद्रोहले दल अब जनता र देशका लागि होइन भने, त्यस्ता दलको अस्तित्वै संकटमा पर्ने सन्देश दिएको छ ।’
त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लक्ष्मी अधिकारी भन्नुहुन्छ– ‘हामीले नेताहरूलाई पर्याप्त अवसर दिइसक्यौं । तर, उनीहरूले हरेक पटक निराश पारे । अब हाम्रो पुस्ताले नेतृत्व लिनैपर्छ । दलभित्र पढाइ, योग्यता र नयाँ सोच भएका युवालाई प्राथमिकता दिनुपर्छ । इन्जिनियरिङ संकायका विद्यार्थी प्रशान्त श्रेष्ठ भन्नुहुन्छ– ‘राजनीति अब पैसा कमाउने धन्दा होइन, राष्ट्र बनाउने माध्यम हुनुपर्छ । हाम्रो पुस्ताले अवसर पाए भने पारदर्शिता, प्राविधिक दक्षता र सिर्जनशीलता प्रयोग गरेर देश बदल्न सक्छ ।’

काठमाडौंकै अर्का विद्यार्थी मञ्जु काफ्लेले थप्नुभयो– ‘हामीलाई नेताको आयुभन्दा पनि सोच चाहिएको हो । जसले प्रस्ट दृष्टिकोण दिन सक्छ, नीतिमा स्पष्टता ल्याउन सक्छ, उसलाई नेतृत्व दिनुपर्छ ।’ विश्लेषकहरूले राजनीतिक दललाई पाँचवटा आधारभूत सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने सुझाव दिएका छन् ।
नेतृत्वमा उमेर र अनुभवको सन्तुलन कायम गर्ने, पार्टीभित्र निर्णय प्रक्रिया पारदर्शी र सहभागीमूलक बनाउने, प्रत्येक निर्णय र खर्च सार्वजनिक गर्ने, महिला, दलित, आदिवासी जनजाति, मधेसी र पछाडि परेका वर्गलाई नेतृत्वमा ल्याउने, नयाँ सोच र प्रविधि ः २१औं शताब्दीको प्रविधि र सिर्जनशीलता राजनीतिभित्रै प्रयोग गर्ने गरी दल अघि बढ्न पनि विश्लेषकहरूले सुझाव दिएका छन् ।

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक भएको यो किसिमको आन्दोलनले दलका नेतालाई मात्र होइन, विश्व राजनीतिलाई समेत पाठ सिकाएको छ । राजनीतिक विश्लेषक अधिकारीका अनुसार, नेतृत्व पुस्ता परिवर्तन अब नेपालमात्र होइन, विश्वकै चुनौती हो । फ्रान्सदेखि अफ्रिकासम्म युवा विद्रोह उठेको छ । नेपालले दिएको सन्देश स्पष्ट छ । यदि, पुराना नेताले बाटो छाडेनन् भने, नयाँ पुस्ताले आफैं बाटो बनाउँछ ।

नेपालको सडकमा उम्किएको यो युवा आन्दोलन केवल तत्कालीन सरकार वा दलविरुद्धको असन्तोषमात्र होइन, समग्र राजनीतिक संस्कृतिविरुद्धको चुनौती हो । भ्रष्टाचार, असमानता र पुराना पुस्ताको वर्चस्वविरुद्धको यो विद्रोहले दलहरूलाई पुस्ता हस्तान्तरणको अपरिहार्यता सम्झाइदिएको छ । दल अब सुधार गर्छन् वा पुरानै ढर्रामा अडिन्छन्, त्यो उनीहरूको निर्णय हो । तर, सडकले दिएको सन्देश प्रस्ट छ । नेतृत्वमा नयाँ पुस्ता आउनैपर्छ, नत्र दलको अस्तित्व संकटमा पर्छ ।