काठमाडौं।
जेनजी पुुस्ताको आन्दोलनका क्रममा काठमाडौं महानगर क्षेत्रमा खर्बभन्दा बढी क्षति भएको छ । महानगरका करिब एक दर्जन बढी इन्जिनियरले गरेको स्थलगत अनुगमनका क्रममा सो तथ्यांक सार्वजनिक भएको हो ।
आगलागी र तोडफोडबाट अर्बौं बढी क्षति, दर्जनांै नेता तथा व्यापारिक घरानियाँको निवासमा आगजनी, दर्जनौं सरकारी सम्पत्ति खरानी भएका छन् । मुलुकको राजधानी कामपामा रहेका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको डेडक्वार्टर ध्वस्त भएका छन् । आगलागी र तोडफोडपछि मेयर बालेन्द्र साहले क्षतिको विवरण संकलन गरी लगत तयार पार्न निर्देशन दिएपछि कामपाले स्थलगत अनुगमन गरी विवरण संकलन गरेको हो ।
स्थलगत अनुगमनका क्रममा महानगरका ३२ वटै वडाभरका निकायको विस्तृत विवरण आएको छ । विवरणअनुसार ३२ र १३ वडाका भवन क्षतिग्रस्त भएका छन् भने अन्य चारवटा वडाका भवनमा सामान्य क्षति पुगेको छ । महानगरपालिकाका इन्जिनियरहरूले यो विवरण संकलन गरेका हुन् । वडा र केन्द्रका इन्जिनियरको टोलीले अनुगमन गर्दा केही सरकारी र अधिकांश निजी सम्पत्तिमा क्षति पुगेको थियो । वडा नम्बर २, १०, १८, २१, २३ र २५ गरी ६ वटा वडामा कुनै पनि सार्वजनिक वा व्यक्तिगत सम्पत्तिको क्षति भएको छैन । प्रारम्भिक प्रतिवेदनमा वडा नम्बर १ मा हिल्टन होटल, दरबारमार्ग प्रहरी वृत्त र संसद् गगनकुमार थापाको सम्पर्क कार्यालयमा क्षति भएको छ ।
वडा नम्बर ३ मा राष्ट्रपति भवन शीतल निवास,महाराजगञ्जको भाटभटेनी सुपरमार्केट, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, युलेन्स स्कुल बाँसबारी, कांग्रेस नेता प्रकाशशरण महतको निवास, तिलिङ्गाटार प्रहरी बिट रहेका छन् । वडा नम्बर ४ प्रधानमन्त्री निवास बालुवाटार, वर्णवास म्युजियम होटल धुम्बाराही, कैलाश सिरोहिया, सिजी सोरुम, उपेन्द्र महतोको घर, सुकेधारा प्रहरी बिट र बालुवाटार प्रहरी बिट रहेका छन् ।
बिमा र अन्य प्रयोजनका लागि कामपाले तथ्यांक संकलन गरेको हो । ठूला निजी भवन, कार्यालय र व्यावसायिक घरानाले कामपामा कर बुझाउने गरेका छन् । सोही विषय विश्लेषण गर्न पनि क्षतिको विवरण संकलन गरेको हो ।
विवरणअनुसार वडा नम्बर ५ भाटभटेनी सुपरमार्केट, रेल विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जेभियर इन्टरनेसनल कलेज, गहनापोखरी प्रहरी बिटमा क्षति पुगेको छ । वडा नम्बर ६ मा वडा कार्यालयमा तोडफोड र डिजिटल बोर्डमा पूर्ण क्षति भएको छ । प्रहरी वृत्त बौद्ध, पर्यटक शौचालय र सडक किनाराका बिरुवामा क्षति पुगेको छ । ७ वडामा भने सामान्य क्षति भएको छ । विवरणअनुसार ८ नम्बर वडामा गौशाला प्रहरी वृत्तको ट्रसमा क्षति भएको छ । पशुपति क्षेत्र विकास कोषका ८ वटा संरचनमा क्षति भएको छ । गौशाला धर्मशालाका सटरहरूमा क्षति पुगेको छ । सडकमा भएका ट्राफिक संकेत बत्ती, सीसीटिभी क्यामरा र ३ वटा सोलार बत्तीका पोलमा क्षति भएको छ । पिंगलास्थानमा रहेको आन्तरिक राजस्व कार्यालय र पञ्चकन्या टोलमा रहेको यातायात व्यवस्था कार्यालयको निजी व्यावसायिक भवनमा आगजनी गरिएको छ ।
वडा नम्बर ९ मा मारवाडी परिषद् भवनमा क्षति भएको छ । एउटा ट्रकमा आगजनी भएको छ । विमानस्थल नजिकको रेलिङ र पर्खालमा क्षति भएको छ । वडा नम्बर ११ मा जिल्ला अदालत काठमाडौं, विशेष अदालत, वन तथा भू संरक्षण विभाग, सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, जिल्ला सरकारी वकिलको कार्यालय, सेन्ट्रल बिजनेस पार्क (कान्तिपुर पब्लिकेसन), सिजी सोरुम, हुन्डाइ सोरुम, टाटा सोरुम, उद्योग विभाग, साना तथा घरेलु उद्योग कार्यालयमा क्षति भएको छ । यस्तै, सडक र किनारामा राखिएका सवारी साधन, पैदल मार्ग र ट्राफिक आइल्यान्डमा क्षति भएको छ । सबैभन्दा बढी क्षति वडा नम्बर ११ मा भएको छ । सो वडामा धेरै सरकारी र केही व्यावसायिक क्षेत्रमा क्षति पुगेको छ ।
वडा नम्बर १२ मा नेपाल आयल निगम, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी बिटमा क्षति पुगेको छ । १३ मा वडा कार्यालय भवन, चागल प्रहरी बिट, बाफल प्रहरी बिट, कालीमाटी प्रहरी वृत्त र त्यहाँ रहेका २ वटा कार र ६ वटा मोटरसाइकलमा क्षति पुगेको छ ।
कामपाका प्रवक्ता नवीन मानन्धरले क्षतिको विवरण संकलन गरी विश्लेषण गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘महानगर क्षेत्रमा अपूरणीय क्षति भएको छ, त्यसको विस्तृत विवरण केही दिनपछि गर्नेछौं ।’ वडा नं १४ मा वडा कार्यालयमा आंशिक क्षति, मालपोत कार्यालय, कलंकी, प्रहरी प्रभाग कलंकी, र ट्राफिक प्रहरी प्रभाग कलंकी, एमाले नेता युवराज ज्ञवाली, महेश बर्तौलाको निवास र कृष्णगोपाल श्रेष्ठको निवासमा क्षति पुगेको छ ।
व्यावसायी विनोद चौधरीको निवास, पूर्वसचिव विश्वप्रकाश पण्डितको निवास, सहसचिव गणेश अर्यालको निवास, भाटभटेनी कलंकी, केएफसी कलंकी कलंकी चोक, कलंकी बल्खु चक्रपथ खण्ड, बल्खु चोक, कुलेश्वर पुल, कुलेश्वर गणेश मन्दिरमा क्षति पुगेको छ । सो वडाको अर्किड कोलोनीमा सरकारी २ वटा गाडी, कलंकीमा एउटा सरकारी गाडी र २ वटा मोटरसाइकलमा क्षति पुगेको कामपाले जनाएको छ ।
वडा नम्बर १५ को वडा कार्यालय भवनमा ढुङ्गाले हानेर झ्यालका सिसा फुटेका छन् । वडाभित्रका राष्ट्रिय परिचय पत्र कक्ष, बैंक काउन्टर तोडफोड भएको छ । प्रहरी वृत्त स्वयम्भु र प्रहरी वृत्तमा क्षति भएको छ । सो वडामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व शिक्षामन्त्री रघुजी पन्तको घरमा आगलागी, वागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेका घरमा तोडफोड, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घरमा आगलागी, पूर्वमन्त्री जीवनराम श्रेष्ठका २ वटा भवनमा तोडफोड भएको छ । सो वडा क्षेत्रबाट २५ वटा मोटरसाइकल चोरी भएका छन् भने ५३ वटा मोटरसाइकल र ७ वटा कारमा आगलागी भएको छ ।
वडा नं १६ मा केन्द्रीय मत्स्यपालन केन्द्र, प्रहरी वृत्त बालाजु, गुणस्तर तथा नापतौल विभाग, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, राष्ट्रपति निवास बोहोराटार, भाटभटेनी बालाजु, चमती प्रहरी बिट, बालाजु प्रहरी बिट, वनस्थली प्रहरी बिटमा क्षति पुगेको छ ।
वडा नम्बर १७ मा २ वटा प्रहरी बिटमा क्षति भएको छ । यस्तै, नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठका भाइको घरमा क्षति भएको छ । वडा नम्बर १९ मा कामपाका पूर्व उपप्रमुख स्व. नवीन्द्रराज जोशीको घरमा आंशिक क्षति भएको छ । यस्तै, प्याफलमा रहेको उहाँको शालिक पूर्णरूपमा क्षति भएको छ । वडा नम्बर २० मा परोपकार र रामघाट पार्कको कम्पाउन्डमा आंशिक क्षति भएको छ । प्रहरी बिटमा पूर्ण क्षति भएको छ ।
वडा नम्बर २२ मा नेपाल प्रहरीको प्रहरी बिटमा क्षति भएको छ । वडा नम्बर २४ मा जनसेवा प्रहरी वृत्त, विशालबजारका २ वटा भवन र ३ वटा सवारीसाधनमा आंशिक क्षति भएको छ । वडा नम्बर २६ मा ल्होत्से मल, एनसेल टावर, छाया सेन्टर, चौधरी निवास, वडा कार्यालयमा आंशिक क्षति, २७ मा नेपाल प्रहरीको साइबर ब्युरो र प्रहरी बिटमा क्षति भएको छ । वडा नम्बर २८ मा उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथ, उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा क्षति पुगेको छ ।
वडा नम्बर २९ मा सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, सिंहदरबार, महानगरीय प्रहरी वृत्त, सिंहदरबार, अख्तियार प्रमुख प्रेम राईको घरमा आगजनी र तोडफोड, ट्राफिक आइयान्ड, रुद्रमती मार्गमा रहेको प्रहरी बिटमा आगजनी भएको छ । वडा नम्बर ३० कालोपुलमा रहेको प्रहरी बिट, डिल्लीबजार कारागार, सांसद गगनकुमार थापाको निवास, नेपाली कांग्रेसको पार्टी कार्यालय, सुरेन्द्र भवनमा क्षति भएको छ । वडा नम्बर ३१ मा संघीय संसद् भवनमा आगो लगाएपछि पूर्ण क्षति भएको छ । राष्ट्रिय वाणिज्य बैंक यातायात व्यवस्था कार्यालयमा पूर्ण क्षति भएको छ । सो वडामा वडा कार्यालयमा ढुङ्गा हानेर सिसा तोडफोड भएको छ ।
महानगर प्रहरी बलको कार्यालय मीनभवनमा आगजनी र तोडफोड भएको छ । यसबाट नगर प्रहरीका पोसाक, ८ जना सुत्ने ओछ्यान र लत्ता कपडा, खाना पकाउने र खाने भाँडाकुँडा जलेर पूर्ण नष्ट भएका छन् । महानगर प्रहरी बलले प्रयोग गर्ने ३ वटा सवारीसाधनमा क्षति भएको छ । प्रहरी वृत्त बानेश्वरमा आगजनी भएको छ ।
वडा नम्बर ३२ को कार्यालय भवनमा १३ वटा झ्यालका सिसा फोडिएका छन् । ३ वटा ढोका, ६ वटा सीसीटिभी क्यामरा, ५ वटा टेबुल, १३ वटा कुर्सी, एउटा कियोक्स मेसिन, ४ वटा प्रिन्टर, ४ वटा मोनिटरमा क्षति भएको छ । प्रहरी वृत्त कोटेश्वर, प्रहरी प्रभाग खहरे चोक जलेर पूर्ण क्षति भएको छ । जडीबुटीमा एउटा सवारीसाधनमा आगजनी गरिएको छ ।











प्रतिक्रिया