काठमाडौं।
अन्तरिम प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सार्न र उहाँको पक्षमा निर्णय भइसकेपछि पनि अड्चन सिर्जना भएपछि राष्ट्रपतिमाथि दबाब सिर्जना गरेर शुक्रबार राति प्रधानमन्त्रीलाई शपथग्रहण गराउने वातावरण बनाएका युवा अर्थात जेन–जी आन्दोलनका अगुवामध्येका एक सुदन गुरुङको नाम मन्त्रीको रूपमा चर्चामा आए पनि स्वयं सुदनले उक्त कुराको खण्डन गर्नुभएको छ ।
सुदनको संस्था हामी नेपालले पनि प्रेस वक्तव्य जारी गरेर हामी नेपालका कुनै पनि प्रतिनिधि वा व्यक्तित्व अन्तरिम सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ।
यसै सिलसिलामा नेपाल समाचारपत्रसँग कुरा गर्दै सुदनले भन्नुभयो– ‘हामी जेन–जीले क्रान्ति ग¥यौं । देशमा राजनीतिक परिवर्तन ल्यायौं । तर, हामीले देश चलाउन सक्दैनौं । योग्य, इमान्दार र विज्ञ जसले देशलाई अगाडि बढाउन सक्छ, उनीहरूले नै हो देश चलाउने । हामीले त सहयोग गर्नेमात्रै हो ।’ उहाँले यस विषयमा जेन–जीसँग लगातार छलफल भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘हामी जेन–जी यसका लागि लगातार छलफलमा छौं । अबका दिनमा कसरी अघि बढ्ने, सरकारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा हामीले छलफल चलाइरहेका छौं ।’
उहाँले यसबीचमा आफूविरुद्ध धेरै भ्रमहरू फैलाइएको जिकिर गर्दै भन्नुभयो– ‘यदि अरू कुनै युवा तयार छ भने म जिम्मेवारी त्याग्न तयार छु । मलाई नेता बन्नु छैन । कृपया मलाई नेता नबनाउनुस् । कुनै दिन म नेता बने भने पनि मलाई सिंहदरबारअगाडि जलाउनुस् ।’
शुक्रवार प्रधानमन्त्री सुशीलाको शपथग्रहण तय नभएसम्म बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रपति शीतल भवनमा अनसन बसेका सुदनले भन्नुभयो– ‘हो, संसद् भंग गर्ने विषयमा कुरा नमिल्दा शपथग्रहण अड्किएपछि मैले राष्ट्रपतिलाई चेतावनी पनि दिएको हुँ । बिहान ९ बजेदेखि राष्ट्रपति भवनमा कुरा चल्दा पनि कुरा नमिलेपछि २ बजेतिर मैले राष्ट्रपतिलाई सीधै ‘तपाईंलाई घिसार्नु परे म घिसार्छु’ पनि भनेको हुँ । तर, त्यसको अर्थ म मन्त्री बन्छु भनेको होइन ।’
‘पहिला पीडितको माग सम्बोधन, अनिमात्र सरकार विस्तार’
जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरूको परिवारले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सरकार विस्तार गर्नुभन्दा पहिला आन्दोलनका पीडितहरूको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय आन्दोलनका क्रममा जलेर खरानी भएपछि गृह मन्त्रालयको नयाँ भवनमा सारिएको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीलालाई भेट्दै मृतक युवाका परिवारले सरकार विस्तार गर्नुअघि जेका लागि युवाहरूले बलिदान दिएका छन्, पहिला त्यो माग पूरा गर्न अनुरोध गरेका हुन् । परिवारजनलाई प्रधानमन्त्री कार्कीसँग भेटाउन समन्वय गरेका जेन–जी आन्दोलनका अगुवामध्येका एक सुदन गुरुङले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केही सहिद परिवार छुटेका छन् तर हामीले ३७ सहिद परिवारसहित प्रधानमन्त्री सुशीला आमालाई भेटेर भनेका छौं, –सरकार विस्तार गर्नुभन्दा पहिला सहिदहरूको माग पूरा गर्नुपर्छ । हामीले तपाईंलाई आमा नै मानेर ल्याएका हौं । तपाईं हाम्रो आमा नै हो, तपार्इंले हाम्रो कुरा सुन्नैपर्छ ।’
उहाँले आफूहरूले सबैभन्दा पहिला त आन्दोलनमा मारिएका सुरक्षाकर्मीलाई मात्र राज्यले किन सम्मान दिने, त्यो सम्मान आन्दोलनमा मारिएका युवाले पनि पाउनुपर्छ भनेर प्रधानमन्त्रीसमक्ष कुरा राखेको जानकारी दिनुभयो । साथै उहाँले सरकार विस्तारभन्दा पहिले युवाहरूको माग सम्बोधन हुनुपर्नेमा आफूहरूले जोड दिएको बताउनुभयो ।











प्रतिक्रिया