घर र व्यवसाय खरानी, सपना अझै जीवित

4.14k
Shares

काठमाडौं

बेथिति, अनियमितता, समान अवसर, स्वतन्त्र आवाज र सुन्दर भविष्यको सपना बोकेर सुरु भएको जेन–जी आन्दोलनले हिंसात्मक रूप लिँदा नेपालको अर्थतन्त्रमा अकल्पनीय क्षतिमा पुगेको छ । शान्तिपूर्ण मागको आडमा हिंसा भड्काउँदा उद्योग, व्यवसाय, पसल, घर र होटलहरू ध्वस्त हुँदा निजी क्षेत्रले दशकौँको मेहनतमा खडा गरेको व्यवसाय क्षणभरमै खरानीमा परिणत हुँदा उद्योगी–व्यवसायीहरूलाई आर्थिक मात्र होइन, भावनात्मक रूपमा समेत चोट पुगेको छ ।

उक्त घटनाले दिएको घाउ केवल व्यक्तिगत पीडा होइन, राष्ट्रकै साझा क्षति हो । तर, उद्योगी व्यवसायीले हिम्मत हारेका छैनन् । उनीहरु भन्छन्–‘हामी घाइते छौँ, तर भाँचिएका छैनौं ।’ कतिपयले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै कतिपय सामाजिक सञ्जालमा भावना पोख्दै आफ्नो पीडालाई कम गर्ने प्रयत्न गरेका छन्
आगजनी र लुटपाटले केवल भौतिक संरचना मात्र नष्ट भएन, पुस्तौँदेखि जोगाएका सम्झनाहरू समेत खरानी बनायो । घर जलेको र असुरक्षा बढेका कारण आमाको श्राद्ध गर्नसमेत गाह्रो भएको पीडा साझा गर्दै नर्भिक अस्पतालका सञ्चालकसमेत रहनुभएका उद्योगी बसन्त चौधरी भन्नुहुन्छ–‘ठमेलस्थित पाँच दशक पुरानो घर जलेर ध्वस्त हुँदा आमाबुबाको सम्झना र जीवनका अनगिन्ती पल गुमाएको छु आगोले ढोका–पर्खाल खायो, तर हाम्रो परिवारको मायालु स्मृतिलाई नष्ट गर्न सकेन ।’

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले आक्रमणबाट आफ्नो घर, सवारी साधान ध्वस्त भएको भन्दै आफू र आफ्नो परिवार निरास वा विचलित नभएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ–‘सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् । अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्नेछु । अन्धकारपछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् ।’

पछिल्ला दिनमा हरेका आन्दोलनमा आक्रमणको निशानामा पर्दै आएको देशकै ठूलो सुपरमार्केट भाटभटेनी सुपरमार्केट करिब शून्यमा झरेको छ । १२ वटा शाखा पूर्ण रूपमा जलेर नष्ट भए भने नौवटा शाखामा तोडफोड र लुटपाट भई अर्बौ रुपियाँको क्षति हुँदा पनि त्यसका अध्यक्ष मिनबहादुर गुरुङले अझै हिम्मत हार्नुभएको छैन । पसल ध्वस्त भए पनि हाम्रो विश्वास भत्किएको छैन, भाटभटेनी फेरि उभिने र जनताको साथ पाउने उहाँको विश्वास छ । उहाँलाई सम्पत्ति ध्वस्त भएको पीडा त छँदैछ । आफूसँग आबद्ध हजारौं कर्मचारीलाई दशैंको मुखमा व्यवस्थापन गर्ने चिन्ता रहेको बताउनुहुन्छ ।

सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफूहरुको इतिहासकै सबैभन्दा पीडादायी क्षण भन्दै दशौँ वर्षको मेहनत, समर्पण र प्रतिबद्धतालाई केही घण्टामै खरानी बनाइएको बताउनुभएको छ । संकटका बीचमा काम छोडेर भाग्नुभन्दा सुरक्षाको जोखिम मोलेर सम्पत्ति जोगाउने, ग्राहकलाई निराश नबनाउने र समूहको जिम्मेवारी निभाउने कर्मचारी र नेतृत्वलाई उहाँले धन्यवाद व्यक्त गर्नुको छ । चौधरीले ‘दुश्मनहरूले भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन्। उनीहरूले शो–रूम लुट्न सक्छन् । तर, हाम्रो मूल्य लुट्न सक्दैनन् ।’

परिवर्तनको मागलाई असामाजिक तत्व र बाह्य शक्तिले अपहरण गरेर हिंसा, लूटपाट र विनाशमा परिणत गरेको उहाँले बताउनुभयो ।
घर तथा अफिस जलाइएका नाडा अटो व्यवसायी महासंघका व्यवसायी ध्रुव थापाको घरमा लागेको आगोले सम्पत्तिमात्र होइन, त्यहाँ काम गर्ने एक सहयोगीको ज्यानसमेत लिएको बताउनुहुन्छ । ‘सम्पत्ति गुमाउनु भन्दा ठूलो पीडा परिवारकै सदस्यलाई विभत्स ढंगले गुमाउनु ठूलो पीडा हो ।’ १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम सुरू गरी आरोह–अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको भन्दै थापा भन्नुहुन्छ ‘मलाई दाइसँग जोडेर घटनाको विश्लेषण गरिन्छ, दाइ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नु भयो हो । के राजनीति गर्नु नै अपराध हो ?’

वसन्त चौधरी
आमा–बुबाको सम्झनासँग गाँसिएको घर ध्वस्त हुँदा मन असह्य पीडाले भरिएकोे छ । आगोले बुबाको सपना र जीवनका सम्झनाहरू खरानी बनाएको छ । आमाको श्राद्धसमेत गर्न नसक्ने अवस्थामा पु¥यायो । जीवन सदैव संघर्षपूर्ण छ । यस घटनामा आफूले थप परीक्षामा पारेको भएँ । घरका पर्खाल खरानी हुन सक्छन्, तर परिवारका मूल्य र माया अमर रहनेछन् ।

शेखर गोल्छा
घर जले पनि म मेरो विचार विचलित भएको छैन । अझै सशक्त भएर रोजगारी सिर्जना गर्ने र लगानी बढाउने छु । नयाँ पुस्ताले देखाएको नयाँ नेपालको सपना पूरा होस् र लोकतन्त्र अझ मजबुत बनोस् भन्ने शुभकामना ।

निर्वाण चौधरी
घर, अफिस, होटल, कारखाना, शोरुम जलेको छ । यो इतिहासकै सबैभन्दा पीडादायी क्षण हो । हामी हल्लिएका छौं, तर भाँचिएका छैनौं, सम्पत्ति जले पनि सपना, मूल्य र उद्देश्य कहिल्यै नष्ट हुँदैनन् । पुनर्निर्माण, रोजगारी सिर्जना र राष्ट्र निर्माणमा योगदान निरन्तरता हुनेछ ।

मिनबहादुर गुरुङ
३२ वर्षदेखि रगत र पसिनाले खडा परेको संरचना एकै छिनमा खरानी भएको छ । मुटु छिया छिया भएको छ । तर, मलाई रुने छुट छैन । हजारौं सपना फेरि बिउँताउनु पर्नेछ । आज पसल ध्वस्त भए पनि आशा हराएको छैन, ग्राहक र शुभेच्छुकको साथले हामी अझै मजबुत बनेका छौंं, सेलरोटी बनाउने, पापड बनाउने, दूध घिउ उत्पादन गर्ने किसानका सपना भाटभटेनीसँग खरानी भएका छन् ।

ध्रुव थापा
३५ वर्षको मेहेनत खरानी भएको छ । सम्पत्ति गुमाउनुभन्दा पनि परिवारको सदस्यजस्तै रहेकी सहयोगी बहिनीको विभत्स हत्या भएको छ । उनलाई गुमाउनु बढी पीडादायी छ । जनताको सहानुभूति र समर्थनले आफूलाई अझ दृढ बनाएको छ । निरन्तर योगदान गरेको आफ्नो परिवारलाई बदनाम गर्ने षड्यन्त्र भयो ।