काठमाडौं ।
जेन–जी आन्दोलनपछिका हिंसात्मक गतिविधिले नेपालभरको होटल उद्योगमा अर्बौ रुपियाँको नोक्सानी पुर्याएको नेपाल होटल संघ (हान) ले जनाएको छ । रिसोर्ट, लज र रेस्टुरेन्टमा तोडफोड तथा आगजनी गर्दा करिब २५ अर्ब रुपियाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक तथ्यांक संघले सार्वजनिक गरेको हो ।
संघका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं र पोखराका होटल व्यवसायमा पुगेको छ । त्यस्तै भैरहवा, बुटवल, झापा, विराटनगर, दाङ, बर्दिबास, धनगढी र महोत्तरीलगायतका क्षेत्रमा समेत होटल प्रतिष्ठानहरू प्रत्यक्ष प्रभावित भएका छन् । संघका अनुसार काठमाडौंमा अवस्थित हिल्टन होटलमा मात्र ८ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ ।
हानले जारी गरेको विज्ञप्तिमा करिब दुई दर्जन होटल प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख छ । संकलित विवरणअनुसार करिब ६० प्रतिशत होटलहरूले बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना छ । तर, आगजनी र तोडफोडका कारण करिब २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएका र आगामी पर्यटन सिजनमा होटल सञ्चालनमा आउन नसक्ने अवस्था देखिएको संघले जनाएको छ ।
हानका अनुसार मर्मत–संभार र पुनर्निर्माण नगरी प्रभावित होटल सञ्चालनमा ल्याउन सकिँदैन । यसबाट कामदारको रोजगारीमा प्रत्यक्ष असर परेकाले चाडपर्वको समयमा उनीहरूको आय–आर्जन संकटमा परेको छ । साथै, बैंक तथा वित्तीय संस्थामा रहेका ऋण–दायित्व तिर्न पनि होटल व्यवसायी असमर्थ हुने अवस्था आएको संघले जनाएको छ ।
पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रको ठूलो लगानीमा भएको यो पीडादायी क्षतिको छानबिनका लागि हानले शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन गर्न माग गरेको छ । अपराधीलाई कारबाहीसहित उचित क्षतिपूर्ति दिलाउनुपर्ने र प्रभावित होटलहरूको मर्मत–संभार तथा पुनर्निर्माणका लागि राज्यले विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने संघको माग छ ।











प्रतिक्रिया